आगामी तीन हप्ताभित्र भारतबाट ३ हजार टन युरिया नेपाल आउँने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले पहिलो खेपका लागि ३० हजार टन युरिया मल खरिद प्रक्रिया पूरा गरेको जनाएको छ । जीटूजी सम्झौता अन्तर्गत पहिलो पटक मल किन्न लागिएको कम्पनीले जनायो ।
भारतीय कम्पनी आरसीएफले विराटनगर, वीरगन्ज र भैरहवाको नेपाली सीमा क्षेत्रमा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म मलको ढुवानी गर्नेछ । सरकारी तहमा भएको सम्झौता अनुसार ५ वर्षका लागि भारत आफूले तेस्रो मुलुकबाट किनेकै मूल्यमा नेपाललाई तोकिएको अनुपातमा मल दिनेछ ।
पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार र चौथो अनि पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग किन्न पाउनेछ । त्यसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी हुनेछ । कृषि मन्त्रालयले वार्षिक रूपमा ५ लाख २० हजार रासायनिक मल किन्ने लक्ष्य राखेको छ ।
भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) ले पठाएको दर रेट स्वीकृत गरेर कम्पनीले ३० हजार टन युरिया मलको भुक्तानीसमेत पठाएको छ । गत फेब्रुअरीमा भारतसँग सरकारीस्तरमा मल खरिदको सम्झौता भएको थियो ।
