३ हजार घर अझै बिजुलीविहीन

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकार स्थापना भएको पहिलो दिन २०७४ फागुन ४ मा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र गण्डकी प्रदेशका सबै घरमा विद्युत्ीकरण गरी उज्यालो प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । सरकारको उक्त योजना ५ वर्ष वितिसक्दा पनि पूरा हुन सकेको छैन् ।
प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार गण्डकीका २ हजार ८ सय ८४ घरमा अझै बिजुली पुगेको छैन । यो गत असोज मसान्तसम्मको तथ्यांक हो । अपर्याप्त बजेट र कोरोना कहरका कारण अहिलेसम्म उज्यालो प्रदेश घोषणा गर्न नसकिएको मन्त्रालयका सूचना अधिकारी जिवन अधिकारीले बताए । प्रदेशका ११ जिल्लामा ५ लाख ७७ हजार ६ सय ८२ घरधुरी छन् ।
प्रदेशमा राष्ट्रिय प्रसारण लाइनमार्फत ९३ प्रतिशत र नवीकरणीय ऊर्जामार्फत ६.५ प्रतिशत गरी ९९.५ प्रतिशत घरमा बिजुली पुर्‍याइएको छ । गण्डकीलाई उज्यालो प्रदेश बनाउन प्रदेश सरकारले विद्युत् प्राधिकरणसँग ७५ करोड रुपैयाँ बराबरको सम्झौता गरेको थियो । यही आर्थिक वर्षमा मात्र विद्युत् विस्तारका लागि प्रदेश सरकारले ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालयसँग सहकार्य गरी विद्युत् विस्तारको सम्झौता गरे पनि लक्ष्य भेटाउन नसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा ३ सय ४७ किलोमिटर हाइटेन्सन लाइन, ४ सय २९ किलोमिटर लो टेन्सेन लाइन र १ सय ७ वटा ट्रान्सफर्मर जडान गर्ने योजना रहेको थियो । तर यो ५ वर्षमा २ सय ५२ किलोमिटर हाइटेन्सन लाइन, ३ सय ५३ किलोमिटर लो टेन्सन लाइन विस्तार गरिएको छ भने ८० वटा मात्र ट्रान्सफर्मर जडान गरिएको छ । प्रदेशका पूर्वी नवलपरासी, तनहुँ र बागलुङका २ हजार ८ सय बढी घरमा भने अझै बिजुली पुग्न नसकेको हो । पूर्वी नवलपरासीमा मात्रै १ हजार ६ सय घर बिजुलीविहीन छन् । तनहुँको देवघाट–२ नरमटोलका ४८, बागलुङको ढोरपाटन–६ छेन्तुङको २ सय ३५ घरधुरी र बागलुङकै निसिखोला–५ मा पनि जनता अँध्यारोमै बस्न बाध्य छन् । नरमटोल र छेन्तुङमा सरकारले सौर्य बिजुली जडान गर्ने योजना अनुसार अहिले १ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । त्यहाँ राष्ट्रिय प्रसारण लाइन लैजान समय लाग्ने भएपछि सौर्य बिजुली जडान गर्न लागिएको इन्जिनियर श्रेष्ठले जनाए ।
‘देवघाटमा तनहुँ हाइड्रोले बिजुली लैजाँदा छुट्ने देखिन्छ, त्यहाँको अवस्थाबारे बुझ्न तनहुँ हाइड्रोलाई पत्राचार गरेका छौं,’ श्रेष्ठ भन्छन्, ‘छेन्तुङमा राष्ट्रिय प्रसारण पुर्‍याउन बुर्तिबाङबाट तान्नुपर्ने भएकाले समय लाग्ने देखिन्छ ।’ यसअघि पनि राष्ट्रिय प्रसारण लाइन तत्काल जोडिने सम्भावना नभएका ७ स्थानीय तहमा प्रदेश सरकारले सौर्य ऊर्जा प्रविधि जडान गरिसकेको छ । मुस्ताङ, म्याग्दी, गोरखाका १२ सय ५ घरमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा सोलार बत्ती बालिएको छ । ऊर्जा मन्त्रालयको संस्थागत सोलार जडान कार्यक्रमअन्तर्गत प्रदेश सरकारका कार्यालय र विभिन्न जिल्लामा १ सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान भइसकेको छ ।
उज्यालो प्रदेश घोषणा गर्न प्रदेश सरकारले लघु जलविद्युत आयोजनालाई पनि मर्मत गरी सञ्चालन गरेको छ । हालसम्म ९० लघु जलविद्युत आयोजनामार्फत १५ हजार ४ सय ४० घरमा बिजुली पुर्‍याएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारकाले आगामी आवभित्र सक्ने गरी मनाङको नासों गाउँपालिकामा ३० किलोवाट क्षमताको भिमताङ लघु जलविद्युत् आयोजना निर्माण थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *