सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ । कालिका गणका गणपति अरुण पौडेलका अनुसार ६६ जना सशस्त्र प्रहरीले रगत दिएका थिए । कालिका गणको १९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
संकलित रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्धारा संचालित प्रादेशिक रक्तसंचार सेवा, पोखरालाई हस्तान्तरण गरिएको एसपी पौडेलले बताए । २०६१ चैत्र २१ मा मालेपाटनस्थित स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थासंग जोडिएर खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षारोपण र रक्तदान जस्ता जनमुखी तथा पर्यावरणीय सुरक्षा सम्बन्धि कार्यक्रम गरेको छ । कालिका गणलाई गण्डकी प्रदेशमा विपद् उद्दारकहरुको युनिटका रुपमासमेत चिनिन्छ ।