पोखराको सभागृहमा माटो जोगाऔँ अभियान सुरु गरिएको छ । मरुभूमिकरण र माटोलाई पुनस्र्थापनाका लागि नीति आवश्यक पर्ने जनचेतना जगाउन सद्गुरुद्धारा शुरु गरिएको विश्वव्यापी सेव सोइल अभियानलाइ निरन्तरता दिएको हो । सातै प्रदेशमा दैनिक औसत ५० किलोमिटर दौडने अभियानकर्ता नवीन पुन मगरलाई कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यले स्वागत गरे ।
कार्यक्रममा मेयर आचार्यले नवीन पुन मगरलाई निस्वार्थ काम गरेको भन्दै स्वागत तथा प्रशंसा गरेका थिए । मेयरले माटो जोगाउन एकजुट हुने प्रतिवद्धता व्यक्त गर्दै पोखरामा माटो बचाउन र कृषि क्षेत्रलाई सहयोग गर्ने नीति बनाउने प्रतिबद्धता जनाए । उनले माटो बचाउ कार्यक्रमका लागि महानगरपालिकाले पोखरा सभागृह अनुदान दिएको र अभियानकर्ता नवीन पुन मगर तथा उनको स्वयंसेवी टोलीलाई यस अभियानका लागि सहयोग स्वरुप ५० हजार र पोखरामा हुँदा सहयोग खर्च व्यहोर्न तथा यस कार्यमा सहयोग गर्न प्रतिबद्दता व्यक्त गरे ।
कार्यक्रममा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासुदेव रेग्मी, कृषि विकास केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारी, महानगरका कृषि विभाग प्रमुख मनोहर कडरिया, माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख तथा वरिष्ठ माटो विज्ञ सुनिल पाण्डेले माटोको स्वास्थ्य र कृषिबीचको सम्बन्धबारे जानकारी दिएका थिए । माटो बचाउन नीतिहरू आवश्यक छन् र स्वस्थ माटोले मात्र दिगो रुपमा स्वस्थ खाना उत्पादन गर्न सकिने उनीहरुले जोड दिएका थिए ।
सोही कार्यक्रममा प्राध्यापक विनोदप्रसाद हेज्युले वातावरणीय स्वास्थ्यका लागि चासोको आवश्यकता रहेको बताए । त्यस्तै गण्डकी मेडिकल कलेजका प्रधानाध्यापक डाक्टर रवीन्द्र प्रसाद श्रेष्ठले खेतीपातीमा मलको प्रयोग र यसले मानिसको स्वास्थ्यमा पार्ने असरका बारेमा बताए । सबै वक्ताहरु पछि अभियानकर्ता नवीन पुन मगरले आफ्नो ज्यान जोखिममा राखी यो अभियान ७० दिनमा सातै प्रदेशमा ३५ सय किलोमिटर दौडिनको कारण बताए ।
तथ्यमा आधारित रहेको यो कार्यक्रममा ज्ञानु आचार्य र कुश्मा आचार्यका कविता, बीटूडी डान्स स्टुडियोको नृत्य प्रस्तुति र त्रिभुवन विश्वविद्यालय पोखरा क्याम्पसको वनविज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुको फ्ल्यास मोब डान्स समेत प्रस्तुत गरि मनोरंजन गराएका थिए । अभियानकर्ता नवीन पुन मगर अब स्याङ्जाको पुतली बजारतर्फ दौडनेछन् ।
त्यसपछि उनी माटो जोगाऔं अभियानलाई नेपालको पश्चिमी भागमा लैजाने अभियानलाई निरन्तरता दिनेछन् । उनले ३५ सय किलोमिटरको लक्ष्यमध्ये १७ सय ४५ किलोमिटर पूरा गरिसकेका छन् ।
