कास्कीको घान्दु्रकमा जीप दुर्घटना हुदाँ ८ जनाको घटनास्थलमै मृत्यु भयो । दशैको विदामा काठमाण्डौबाट पोखरा घुम्न आएका युवायुवती घान्द्रुक जाने क्रममा जीप दुर्घटना भएको हो । जीपमा सवार एक युवती जीपको पछिल्लो भागबाट हाम फाली बाँच्न सफल भइन् । पुराना र अनुभवी मानिएका जीप चालकको पनि घटनास्थलमा नै मृत्यु भएको थियो । यो घटना असोज २५ को हो ।
पोखराको नयाँपुलबाट घान्द्रुक जादै गरेको ग १ ज ६९०० नम्बरको जीपमा घुम्न आएका उनीहरुको पारिवारिक टिम थियो । मृत्यु हुनेमा एउटै परिवारका दुईजना समेत रहेका छन् । कच्ची सडक । जीपमा भरिभराउ सामान राखिएको थियो । उकालोमा जीपले नतान्दा ‘व्याक’ भएर डेढसय मिटर तल खसेको प्रहरीको निष्कर्ष छ । यस्तै, असोज २४ मा स्याङ्जाको वालिङ नगरपालिका–१० मोदीखोलास्थित जीप दुर्घटना हुदाँ ४ बर्षिया बालिकासहित तीन जनाले ज्यान गुमाए । दुईजनाले घटनास्थलमा नै ज्यान गएको थियो ।
बालिकालाई उपचारको क्रममा भोलीपल्ट मणिपाल अस्पताल पोखरामा मृत्त घोषण गरियो । ब्रेक नलाग्दा ग १ ज ४९१८ नम्बरको जीप सडक देखी ५० मिटर तल खसेको थियो । जीपमा १९ जना सवार थिए । नजिकिदै गरेको दशै । किनमेलको लागि वालिङ बजार आएका उनीहरु घर फर्किने क्रममा साँझ जीप दुर्घटना भएको थियो । चालक भने सकुशल छन् । चार्डपर्वको बेला सवारी साधनमा यात्रुको चाप बढेको छ । यही समयमा दुर्घटनको जोखिम पनि बढ्ने गर्छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा दशैको बेला अर्थात असोजमा मात्रै २० जनाले ज्यान गुमाए । जसमा एक÷एकजना बालबालिका, ११ जना पुरुष र ७ जना महिला रहेका छन् । ३७ जना गम्भिर घाइते भए भने २४ जना सामान्य घाइते भएका थिए । प्रहरीको तथ्यांक अनुसार असोजमा मात्र ३२ वटा दुर्घटना भए ।
यस्तै, ट्राफिक प्रहरीका अनुसार आव २०७५÷७६ मा सवारी दुर्घटनामा परि २ सय ५८ जनाले ज्यान गुमाए । त्यसबर्ष ४ सय ६० वटा दुर्घटना भएका थिए । यसैगरी आव २०७६÷७७ मा २ सय २३ र आव २०७७÷७८ मा २ सय २२ जनाको मृत्यु भएको छ । दुर्घटनाका विभिन्न करण भएपनि चाडपर्वको बेलामा चालकको लापरबाहीले नै बढी दुर्घटना हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । जीर्ण सडकमा पुराना साधन, क्षमताभन्दा बढी यात्रु राख्ने, ओभरलोड सामान, सडकमा ट्राफिक चिन्ह नहुनु, सवारीलाई समयमै सर्भिसिङ नगरिनु, मौसमको अवस्था र यात्रु स्वंमका कारण पनि दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका डीएसपी ठगबहादुर केसीले बताए । ‘सडकको अवस्था जोखिम छ’ उनले भने, ‘जीपभरी सामान हुन्छ । मान्छे बस्ने ठाउँ छैन् । जोखिम छ भन्ने जान्दाजान्दै पनि झुण्डिएर यात्रा गर्न यात्रु स्वंम बाध्य छन् । जसका कारण ज्यान गुमाउनुपर्छ ।’ उनका अनुसार यात्रुले झर्दा र चढ्दा, बाटो काट्दा ध्यान नदिने, छतमा बस्ने जस्ता समस्या पनि दुर्घटनाका कारण हुन् । राजमार्गमा मात्रै होइन, ग्रामीण सडकमा पनि दुर्घटनाको जोखिम उच्च रहेको उनले बताए ।
दशैं मनाउन घरपरिवार तथा आफन्तकोमा जाने र विदा मनाउन पर्यटकीय गन्तव्यमा पुग्न हतारिएका यात्रु दुर्घटनाको शिकार बन्ने गरेका छन् । सडक दुर्घटना रोक्न सरकारले कुनै कार्ययोजना बनाएर काम नगर्दा पनि बढ्दै गएको स्थानीयको भनाई छ । प्रहरीका अनुसार चाडपर्वको बेला यातायात व्यवसायीले बढी आम्दानी गर्ने सिजनको रुपमा लिन्छन् । चालकलाई बढी ट्रिप हाल्नुपर्ने हुदाँ छिटो पुग्नुपर्ने हतारो हुन्छ । गुन्द्रकजस्तै यात्रु खाज्ने, झुण्डाएर र छतमा यात्रु राख्ने, गन्तव्यमा छिटो पुग्ने हेतुले गाडीको स्पिड बढाउदा दुर्घटना बढी हुने प्रहरीले जनाएको छ । पुराना सवारी वाटोमा लोड तान्न नसक्दा र भनेको ठाउँमा ब्रेक नलाग्दा पनि अन्जानमै यात्रुले ज्यान गुमाएको प्रहरीको भनाई छ । एउटै चालकले लामोसमय सवारी चलाउनु पनि दुर्घटनको अर्को कारण हो । राती र दिउँसो एउटै चालकले लगातार सवारी चलाउदा निन्द्रा नपुगेर पनि दुर्घटना हुने गरेको डीएसपी केसीले बताए । ‘हामीले सवारी चेकजाँच गर्ने, कारबाही गर्ने गरिरहेका छौ’ उनले भने, ‘सडक मर्मत हुदैन । सडकभरी निर्माणधीन सामाग्री हुन्छन् । साँघुरा सडक घुम्ती बढी छन् । जसले दुर्घटना निम्त्याउछ ।’ उनले सडकमा ट्राफिक चिन्ह राख्ने दायीत्व सडक विभागको भएपनि त्यसो हुन नसकेको बताए ।
सडकको जीर्ण अवस्था, ट्रयाक खोलेपछि मर्मत नगर्ने, बारम्बार पहिरो खस्ने, मादक पदार्थ सेवा गरेर सवारी चलाउने जस्ता समस्या त नियमित कारण रहेको पोखराका सामाजिक अभियान्ता रामबहादुर पौडेलले बताए । यातायात कार्यालयबाट रुट प्रमिटको इजाजत दिदा पुरै सडकको अवस्था हेरेर मात्र दिनुपर्ने उनको तर्क छ । चाडपर्वको समयमा सरकारले चालक र सहचालकलाई परिचयपत्रको व्यवस्था गर्न, लामो दुरीमा चालकले आलोपालो गर्नुपर्ने, यात्रु स्वंमको सामानबाहेक अन्य सामान नराख्न निर्देशन दिएको छ । तर, निर्देशनको पालना भए नभएको अनुगमन भएको पाइदैन् । राजमार्ग विभागले नै हेरेपनि भित्रि सडकको अनुगमन जिल्ला प्रशासन कार्यालय गर्न पाउछ । तर, जिल्ला प्रशासन कार्यालय पनि यसतर्फ खासै चासो देखाउदैन् । प्रशासन कार्यालयबाट ग्रामीण सडकको अनुमति दिदा प्रमुख जिल्ला अधिकारीले सडकको अवस्था र सवारीको अवस्था हेर्दिएमा मात्रै पनि दुर्घटना कम हुन्छ । यसतर्फ प्रशासन कार्यालयको कुनै ठोस कार्ययोजना छैन् । वर्षायाममा बिग्रिएर जोखिमयुक्त बनेका सडकको अध्ययन नै नगरी बस चल्न अनुमति दिँदा दुर्घटना बढ्ने गरेको पौडेलले बताए ।
जोखिम मोलेरै गन्तव्य पुग्नुपर्ने यात्रुको बाध्यता, बढी आम्दानी गर्नुपर्ने व्यवसायीको मनसाय जसका कारण ग्रामीण भेगमा जोखिम मोल्दै चलाएका सवारीमा प्रहरी र ट्राफिक प्रहरीले पनि आँखा चिम्लिने चालक स्वंम बताउँछन् । उनीहरुको लागि छतमा सामान, यात्रु, ढोका या छतमा झुडिएका यात्रु यो दृश्य प्रहरीका लागि सामान्य हो । आफूहरुले कडाई गर्दा यात्रु बीचबाटोमै अलपत्र पर्ने प्रहरी स्वंम बताउछन् । यसो त, ग्रामीण भेगमा ट्राफिक प्रहरीको पहुँच नै पुग्दैन् । जसले गर्दा ग्रामीण सडकमा चालकले नभई सहचालकले गाडी हाँकिरहने स्याङ्जाको विरुवा गाउँपालिका–२ का डिलबहादुर मगरले बताए ।
