कोरोनाले नछोएकी गोमा

Share this post :

Facebook
Twitter
WhatsApp

एउटा चिच्चाइरहेको आवाज आइरहेको थियो । आवाजमा सुनिन्थ्यो, मकै, मकै, हरिया पोलेको मकै । पोखरा महानगरपालिका–८ सिमलचौरको चौतारास्थित चिच्चाइरहेकी ती महिलाको आवाजले नतानिने कोही थिएनन् । एउटा घोगाको ४० रुपैयाँ । ओहोरदोहोर पैदल हिडिरहने मात्र होइन, मोटरसाइकल, कार, ट्याक्सी रोकेर पनि पोलेको हरिया मकै नखाने कोही हुदैनन् ।
हातमा कपडाका बाग्ला पञ्जा । ढाकाको कुर्ता सुरुवाल लगाएकी । पुरै अनुहार सलले छोपेकी । साथमा गाढा, हरिया र पोलिएका मकै । दुई साइडतर्फ हरिया मकैको र मकैका भुत्ला फाल्ने छुट्टाछुट्टै बोरा राखिएको थियो । उनी दिनहुँ त्यही ठाउँमा बसेकी हुन्छिन् । सलले अनुहार छोपिएको भए पनि मुसुक्क हाँस्दै मकै खानुहुन्छ ? जोकोहीलाई सोधी हाल्थिन् । गोमा सापकोटाको घर रौतहट हो । उनी विगत ८ वर्षदेखी पोखरा बस्दै आएकी छन् । ८ वर्षदेखी नै मकै पोल्ने उनको पेशा बनेको छ ।
कोरोनाको महामारीमा पनि उनले पेशालाई निरन्तरता दिएको बताउँछिन् । ‘कोरोना संक्रमण डर कसलाई हुदैन र ?’ उनी भन्छिन, ‘डर भए पनि गुजारा चलाउनु पर्छ । काम नगरे खानु छैन् । कोरोना भए पनि दिनदिनै मकै ल्याउने र पोलेर बेच्ने गरेकी छु ।’ उनले पृथ्वीचोकस्थित मण्डिबाट मकै ल्याउने गरेको बताइन् । ‘एक बोरा मकै खरिद गर्छु, दिनभरी सवै मकै बेचेर सकिन्छ’ उनले थपिन, ‘कहिलेकाँही त बाँकी रहन्छ ।’ दिनको दुई हजार लगानी गरे १२ सय रुपैयाँ आम्दानी हुने उनी बताउँछिन् । मौसमी भन्दा वेमौसमी मकैको बढी व्यापार हुने उनको अनुभव छ । अहिले मकैको असिजन हो । बेमौसमी मकै चितवनबाट आइपुग्छन् । घोगाको संख्या गनेर खरिद गरिने उनी बताउछिन् ।
उमेरले उनी ३८ पुगिन् । ६ जनाको उनको परिवार दुई छोरी, एक छोरा र श्रीमान सहित पोखरा बस्दै आएका छन् भने, गोमाकी सासुआमा रौतहट नै बस्छिन् । गोमाले घरको सवै खर्च आफैले पु¥याउने गरेको बताइन् । उनका श्रीमान् होमप्रसाद सापकोटा मार्वलको ठेक्कापट्टा गर्छन् । छोराछोरीको पठनपाठन श्रीमान र घर खर्च श्रीमतीले धान्दै आएको होमप्रसाद बताउछन् । ‘समस्याले जस्तो काम गर्न पनि मजवुद बनाउछ’ होमप्रसाद भन्छन, ‘मेरो पनि खासै राम्रो कमाई छैन् । श्रीमतिको कमाईले पनि धेरै सहयोग पुग्छ ।’ गोमा मकै बेचेर नै आत्मसन्तुष्टि रहेको बताएकी छन् । विहानदेखी दिउँसो ४ बजेसम्म सिमलचौरस्थित चौतारामा नै बसेर मकै बेच्ने बताउने उनी भन्छिन, ‘त्यसपछि साझमा पृथ्वीचोक घुम्छु । फेवासिटी हुदै पुनः सिमलचौर नै आउँछु ।’ उनको बसाइँ पनि सिमलचौर नै हो ।
बेमौसमी मकै मौसमी भन्दा केही महङगो पर्ने उनले बताइन् । उनका अनुसार मकै गुलिया र स्वादिष्ट छन् । ‘सिजनको बेलामा मकै विक्दैनन’ उनले थपिन, ‘पेशा नै यही भएपछि आत्तिने कुरा पनि भएन् । यसलाई नै निरन्तरता दिएकी छु । व्यापार होस या नहोस ।’ उनले नियमित एउटै कामलाई ध्यान दिने हो भने थोरैधेरै आम्दानी गर्न सकिने बताउछिन् । लकडाउनको बेलामा पनि उनी मकै लिएर सडकमै बसेकी थिइन् । जोखिम मोलेरै भए पनि आफै दुख गरेपछि लकडाउन जस्ता अप्ठ्यारामा पनि कसैको आश गर्नुनपर्ने उनको भनाई छ । ‘दुख पर्यो भनेर मागेर पनि कसले के दिन्छ र ?’ उनी भन्छिन, ‘लाज मानेर काज हुदैन । दुख गर्नुपर्छ खानले मरिदैन् ।’ दिनको हजार, १२ सय आम्दानीले पनि परिवार पालनपोषणमा ठूलो राहत पुगेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *