शुक्रबार हुदै गरेको स्थानीय तहको निर्वाचनको लागि पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा एकसय ९९ वटा मतदान स्थल कायम गरिएको छ । जसमा ३ सय १८ वटा मतदान केन्द्र रहेका छन् । तीमध्ये ५३ वटा मतदान स्थल अति संवेदनशिल रहेको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । उनका अनुसार ७३ वटा स्थल संवेदनशिल र ७१ वटा स्थल सामान्य रहेका छन् ।
अति संवेदनशिल मतदान स्थलमा सोही अनुसार सुरक्षाकर्मीको परिचालन गरिएको प्रजिअ पौडेलले बताए । निर्वाचन स्थल पहिलेकै यर्थावत राखिएको हो । २०७० को निर्वाचनमा कायम रहेका मतदान केन्द्र २०७४ मा थप गरिएको थियो । निर्वाचन मापदण्ड अनुसार राज्य पुर्नसंरचनामा स्थानीय तह रुपान्तरण हुदा“ गाविसबाट गापा गएका वा गाविसबाट नपा गई वाड बनेका र गापा र नपाबाट छुटिएका त्यस्ता वडालाई मध्येनजर गर्दै बेग्लै मतदान स्थल कायम गरिएको थियो । हाललाई सोही स्थल नै कायम गरिएको कार्यालयले जनायो ।
२०७४ मा मतदान केन्द्र २ सय ९५ रहेका थिए । मतदातको संख्या थपिएसंगै केन्द्रको संख्या पनि थपिएको निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर खुमबहादुर भुजेलले जानकारी दिए । कुनै पनि केन्द्रमा मतदान गर्न मतदाता ५ किलोमिटर भन्दा बढी हिड्नु नपर्ने कार्यालयले अनुमान गरेको छ । यस पटकको निर्वाचनमा स्याङ्जामा २ लाख ४० हजार ५ सय ३५ जना मतदाता मतदानको लागि सहभागी हुदैछन् । यस अघिको निर्वाचनमा २ लाख १० हजार ३८ जना सहभागी भएका थिए । त्यस्तै, स्याङ्जामा १९ वटा राजनीति दल रहेका छन् । निर्वाचन कार्यालयका अनुसार १२ वटा दलबाट मात्र उम्मेदवारी परेको छ । यसैगरी एउटा स्वतन्त्र उम्मेदवारी परेको छ । निर्वाचनको लागि सवै मतदान स्थलमा मंगलबार निर्वाचन अधिकृत खटिइसकेका छन् । निर्वाचन सामाग्री लिएर सम्बन्धित मतदान स्थल पुगिसकेको प्रजिअ पौडेलले बताए ।
