‘बा’ को दुःख

Share this post :

Facebook
Twitter
WhatsApp

बा, तिमीले नदेखेका
बा कस्ता थिए होलान् ?
मैले भन्न नपाएको हजुरबा
खै कस्ता थिए –तिमीलाई के थाह ?
मैले कसैलाई हजुरबा भन्न पाइन
न पढें कतै !

पहिलादेखि मैले धेरै पढेको छु
आमाका दुःखका कथा
तर कवितामा बालाई कसैले लेखेन
किन कहिल्यै पढिन बाको गाथा ?
कसैले लेखेन तिम्रो काव्य ?
काव्यमा टुहुरा तिमी
तिम्रा मनमा लत्रन्न सुतेका
दुःखका बक्र रेखाहरु
अनुहारमा पीडाले चित्रिएको तिम्रो रूप
धेरै पटक हेरेको छु मैले
कविहरुले नदेखेको र नपढेको तिम्रो मन
कालीगंगाको पानी भन्दा निश्चल
सोच्थ्यौ निरन्तर बगिरहनु
टाढा देखिने गाजाको धुरी भन्दा
परको दृश्य हेर्नु भन्थ्यौ
झिसमिसेमा टलक्क टल्केको धौलागिरी जस्तै
चमक्क चम्कनु
गोधुलीमा धौलागिरीले पारेको छायाँ जस्तै
शितल छहारी छर्नु गाऊँमा ।

कविहरूले आमाकै तारिफमा कविता कोरे
आमाको दुःखको गीतमा संगीत भरे
बजारमा बिक्री गरे
आमालाई माटो र मायाको खानी भनेर
बालाई कहिल्यै आकाश मानेनन् ।

म बाको दुःखको कुरा गरेको छु
शितल छर्नु भनेका बा किन ओझेल परे ?
बारीको डिलमा ठिङ्ग चुपचाप उभिएका बा
किन कहिल्यै उभिएनन् तिम्रा मनमा
देउरालीको चौतारी झैं
किन उभिएनन् तिम्रा शब्दमा ?

समयको अँधेरो मेटाउन
मैन झैं जलेर
खुसीहरू रोप्न
मोनोरेल झैं खुंखानी र निसी सम्म पुगे
तिम्रा पदचापहरू
चलिरहे समय भरी
कुदिरहे खुइय गरे पनि थकाई नमारेर
एक्लै ठिंङग उभिएको हिमाल देखेर
बाको मनभित्र
थिचिएर त्रासले घ्वारघ्वार घुरेको
सिसिपसको जिन्दगी जस्तै
बाको आँसु टिलपिलाएका आँखामा
गहिरो निद्रा हराएको छ
अनुहारमा खुसीको चमक खेलाएर
बोल्दा बोल्दै दुःख भाग्थ्यो तिम्रो स्वरमा
बोली बन्द गरेर एकाएक
दबाएर सबै पीडा
म चिन्छु त्यो पीरको मुस्कान
सक्कली थियो
बगैंचामा फुलेको रातो गुलाफ जस्तो
बाका मुहार भरि फुलेका फुल देखेर
चित्रकारले रङ भरेन चित्रमा
कविले शब्द पोखेन कवितामा
चाउरिएर तिम्रा सपनाहरू
शुरुदेखि अन्त हुँदा सम्म ।

तर, खुशीको पहाडमा उभिएका बाहरू
अलेक्जेण्डरले जस्तो संसार जितेको नाटक गर्छन्
बाँड्छन् पैंचो मागेका उधारा खुसीहरु
छोराहरू हारिरहन्छन्
छोरीहरू यात्रामा जान्छन्
विदेशी माटामा
तिनैका सपनाहरू सँधै जलिरहन्छन्
जितिरहने बाहरूका अभिनयमा
किन हारिरहन्छन् समाजमा संघर्षशील बाले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *