के लगाउँ ? के खाउँ ? भनेर साथीभाई, घरपरिवारसँग खुशी साट्दै घुमफिर गर्ने उमेर भए पनि ३१ वर्षिया पुजा विकको दैनिकी सोचे भन्दा फरक छ । घुमफिर गर्न त कहाँ हो कहाँ उनी एकैछिन पनि घर छाडेर बाहिर निस्किन पाउँदिनन् । अपाङ्ग दुई छोराछोरीको एकल साहारा बनेकी (आमा) पुजा उनीहरुकै स्यारसुसारमै व्यस्त हुन्छिन् । उनीहरुको स्यारमै उनको दैनिकी वितेको छ ।
पुजाका १२ वर्षिया छोरी ७ र ६ वर्षिय दुई छोरा छन् । छोरी र ठूलो छोरा शारीरिकरुपमा अशक्त छन् । ‘कान्छो छोरा शारीरिकरुपमा ठिक छ’ उनी भन्छिन, ‘ठूलो छोरा र छोरी शारीरिकरुपमा अशक्त छन् । हिडडुल गर्न सक्दैनन् ।’ ७ वर्षिय छोरा अञ्जान भने कान सुन्छन् । प्रष्ट बोल्न सक्छन् । तर, छोरी कृशला भने सुन्न र बोल्नसमेत सक्दिनन् । अञ्जान ह्वीलचियरमार्फत हिडडुल गर्छन् । कृशला खुट्टा घिसार्दै लठ्ठी या आमाको साहाराले घरभित्र बाहिर गर्छिन् । ‘मलाई यी दुई छोराछोरीको धेरै चिन्छा छ’ पुजा भन्छिन, ‘लेख्ने पढ्ने बेलाको उमेर छ तर, अहिलेसम्म पढाउन सकेकी छैन् । अपांगलाई कहाँ पढाउँछन् भन्ने नै थाहा छैन् । पढ्न कहाँ लैजाउ ? लैजाउ पनि कसरी ?’ उनले दुवै जनालाई साथमा लिएर हिड्डुल गर्न नसकिने बताइन् ।
उनको घर कास्कीको रुपा गाउँपालिका–६ भीरचोक हो । २०६४ सालमा आगलागी हुदाँ उनको घर, गोठ जलेर नष्ट भएको थियो । त्यसपछि उनको परिवार पोखरा झरेको हो । अहिले उनी पोखरा महानगरपालिका–६ जरेवर बस्छिन् । ३ वर्षअघि ब्रेन ट्युमरका कारण श्रीमान ईश्वरको मृत्यु भएपछि तीन छोराछोरीको लालनपालन उनी एक्लै गर्दै आएकी छन् । ‘कान्छो छोरालाई इन्द्रेणी नामको संस्थाले लगेको छ’ उनले भनिन, ‘उत्तै बस्छ । उत्तै पढ्छ । उसको त चिन्ता छैन मलाई ।’ जन्मजात नै अपांग भएका छोराछोरीलाई पढाउन र लालनपालनको लागि अहिले उनी सहयोगीको खोजीमा छिन् । ‘यिनीहरुको जिम्मा कसैले लिएर लालनपालन गर्दिए म त मजुदरी गरेर पनि खाने थिए’ पुजा सुनाउँछिन् । टायर पञ्चेट भएको पुरानो साइकलको माध्यमबाट हिडेका अञ्जान भन्छन, ‘ह्वीलचियर पनि पुरानो छ, हिड्दा पनि लडिन्छ । गुडाउनै मिल्दैन ममीले पछाडीवाट धकेल्दिनुहुन्छ ।’ पुजाका अनुसार अञ्जान र कृशला जन्मजात नै अपांग हुन् ।
उनीहरुको परिवारलाई अहिले आर्थिक सहयोगको खाचो छ । कोही कसैले सहयोग गरेको र सरकारवाट पाउने अपांग भत्ता (प्रतिव्यक्ति मासिक चार हजार)ले गुजारा चलाएका छन् । व्लक र टीनले छाएको एउटा कोठा, मासिक ३५ सय रुपैयाँ बुझाएर पुजाको परिवार जरेवरस्थित भाडामा बसेको हो । पुजा अहिले अन्जानको लागि ह्वीलचियरको खोजीमा छन् । ‘यिनीहरुलाई पढाउन मन छ’ पुजाले भनिन, ‘पाएका तीन सन्तान दुईटा यस्ता छन् । कसरी पाल्ने ? अहिले त म छु । मलाई केही भईहाल्यो भने यिनको साहारा कोही छैन । दिदीभाईको हालत के होला भन्ने चिन्ता मात्रै छ मलाई । यिनीहरुको जिम्मा कुनै संस्थामा लगाईदिन पाए म मरे पनि बा“चे पनि दुःख पाउदैन्थे ।’