सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ । स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरु प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि संयुक्त उम्मेदवार उठाएर चुनाव लड्दैछन् ।
तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन बनाएर चुनाव लडिरहेकोबारे खास चर्चा हुने गरेको छैन । सत्तारूढ दलले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाँदा एमालेले पनि आफूसँग मुद्दा र व्यवहार मिल्ने पार्टीसँग सहकार्य र गठबन्धनको प्रयत्न गरिरहेको छ । कतिपय साना दलहरू एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने तयारी गरिरहेका छन् ।
सत्तारूढ गठबन्धनमा पनि तत्कालको मुद्दा एउटै भएकाले कार्यनीतिक सहकार्यमा छन्। विगतमा अलग अलग धारमा रहेर राजनीति गरेका शक्तिहरू २०७७ पुस ५ मा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संयुक्त रूपमा सडकमा निस्किए । संविधानको रक्षा, गणतन्त्रको रक्षा र लोकतान्त्रिक प्रणालीको मुद्दामा एक ठाउँमा उभिएका ती दलहरूको कार्यनीति मोर्चा बन्यो, जुन मोर्चा स्थानीय निर्वाचनदेखि अहिलेसम्म सहकार्यमा छन् ।
यता एमालेले पनि मुद्दा मिल्ने शक्तिहरूसँग सहकार्यको कोसिस गरिरहेको छ । गणतन्त्रप्रति खास अनुराग नराख्ने एमाले अध्यक्ष ओलीले राजावादी शक्तिदेखि मधेशलाई अलग राज्य बनाउनुपर्ने माग राख्ने र संघीयताको खारेजी हुनुपर्ने मान्यता राख्ने शक्तिसँग समेत सहकार्य गरिरहेको छ ।
२०६२÷६३ सालमा जुन शक्तिले पार्टीभित्र गणतन्त्रको वकालत गथ्र्यो, त्यो शक्ति अहिले एमालेसँग छैन । पार्टीका तात्कालीन नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल अहिले कांग्रेस–माओवादीको मोर्चामा छन् । जो २०६२÷६३ को आन्दोलनमा सहभागी भएनन्, गणतन्त्रप्रति अनुराग राखेनन्, ती नेताहरू अहिले एमालेको शीर्षस्थानमा छन् । संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसमेत सशस्त्र संघर्षको रापतापले बाध्यतावश बोक्नुपरेको बताउने ती नेताहरू अहिले आफ्नो विचार र मुद्दा अनुकूलका शक्तिहरू खोजेर सहकार्यको हात बढाइरहेका छन् ।
एमालेले राप्रपाका नेता राजेन्द्र लिङ्देलसँग चुनावी मोर्चामा सहकार्य गर्दैछ । लिङ्देल र उनको पार्टी यस्तो शक्ति हो, जसले अहिले पनि संवैधानिक राजतन्त्र, हिन्दू राज्य र एकात्मक राजनीतिक प्रणाली चाहन्छ । राजनीतिक रूपमा कमजोर अवस्थामा रहेको यो शक्ति अनुकूल परिस्थिति निर्माण गरी शक्ति सञ्चय गर्ने गौंडो कुरेर बसेको छ । नेपालमा गणतान्त्रिक व्यवस्था लामोसमय नटिक्ने सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएको यो शक्तिसँग सहकार्य गर्न एमालेमा किञ्चित अप्ठ्यारो अनुभूति देखिँदैन् ।
महाधिवेशनमा पराजित भएपछि राप्रपा छोडेर राप्रपा नेपाल गठन गरेका कमल थापा पनि एमाले नेतृत्वको गठबन्धनको छातामुनि छन्। महाधिवेशन अघिसम्म गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको चर्को विरोध गर्दै आएका थापा पार्टीबाट अलग भएपछि राजसंस्थाप्रति आफ्नो अनुराग सकिएको बताउन थालेका छन् । तर, उनको दृष्टिकोणमा कुनै बदलाव आएको भने देखिँदैन । सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न पछि नगर्ने नेताको अभियोग खेपिरहेका थापा पनि मुद्दा मिलेकै कारण एमाले छातामुनि छन् ।
मधेशलाई नेपालबाट अलग गर्ने घोषणासहित मधेशमा हिंसात्मक संघर्ष गरी शान्ति प्रक्रियामा आएको सिके राउत समूह पनि एमाले गठबन्धनमा सामेल छ । नेपाल जनमत पार्टीका नाममा स्थानीय चुनावमा भाग लिएको यो शक्ति पश्चिमा शक्ति केन्द्रद्वारा परिचालित भएको अभियोग लाग्ने गरेको छ । हिंसात्मक संघर्ष त्यागे पनि पृथकतावादी नीति नत्यागेको यो शक्तिसँग एमालेको गठबन्धन प्राकृतिक देखिँदैन, किनकि एमाले र अध्यक्ष ओली पहाडिया खस राष्ट्रवादको पक्षमा छन्, जुन कुरा राउतको पार्टीसँग मेल खाँदैन ।
एमालेसँग गठबन्धन गर्ने शक्तिमा हृदयेश त्रिपाठी नेतृत्वको समूह पनि पर्दछ । ओली सरकारमा मन्त्रीको जिम्मेवार पाएका त्रिपाठी २०७४ को निर्वाचनमा समेत सूर्य चिन्हबाट प्रतिस्पर्धा गरेका थिए । तुलनात्मक रूपमा अरूभन्दा कम आलोचित त्रिपाठी समूहको मुद्दा भने एमालेसँग मिल्दैन । त्रिपाठी समूह पहिचान र सामाजिक न्यायको मुद्दाको पक्षमा छ, जुन मुद्दा एमाले र अध्यक्ष ओली सुन्न चाहँदैनन् । तर, यति धेरै अन्तरविरोधका बाबजूद पनि २ दलको सहकार्य निरन्तर छ ।
पूर्वमन्त्री एकनाथ ढकालको परिवार दल गत स्थानीय निर्वाचनमा घोषित रूपमै सूर्य चिन्हबाट चुनाव लडेको थियो । होलिवाइन प्रकरणले विवादमा आएका ढकाल पश्चिमा शक्तिहरूबाट परिचालित भएको आरोप लाग्ने गरेको छ । तर, एमाले त्यो दललाई आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने गरी सहकार्यमा राखिरहेको छ ।
यी शक्तिका साथै एमालेले सिपी मैनाली नेतृत्वको नेकपा मालेदेखि विप्लव नेतृत्वको नेकपा र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग समेत अघोषित सहकार्य गरिरहेको छ ।
एमालेले निर्वाचनमा जति शक्तिसँग सहकार्य गरिरहेको छ, ती कुनै पनि शक्ति अन्तरमनले वर्तमान संविधान मान्न तयार देखिँदैनन् । कमल थापा र राजेन्द्र लिङ्देल संविधानका अधिकांश प्रावधान र यसको मूल चरित्रसँगै असहमत छन् । राउत, त्रिपाठी र ठाकुर आत्मनिर्णयको अधिकार खोजिरहेका छन् । राउतको समूह त अलग राष्ट्रको नारामै कायम रहेको देखिन्छ । मैनाली नेतृत्वको मालेसमेत पछिल्लोसमय दरबारमुखी भएको अभियोग लाग्ने गरेको छ ।
वर्तमान राजनीतिक प्रणालीप्रति नै असहमत रहेको विप्लव नेकपासँग पनि ओलीको सामिप्यता घटेको छैन । यसरी अतिउत्तर र अतिदक्षिण ध्रुवका शक्तिहरू अति घनिष्ठताका साथ सहकार्य गर्दासमेत उनीहरूको वैचारिक दृष्टिकोण र मुद्दाबारे हामीकहाँ खास बहस र विमर्श भएको देखिँदैन ।
भोटका लागि जुनसुकै शक्तिसँग सहकार्य र गठबन्धन गर्नसक्ने एमाले स्वतन्त्र जनप्रतिनिधिसँग भने अनुदार देखिएको छ । धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन साहलाई लक्षित गरिएको एमाले नेताहरूले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने एमाले उनीहरू त्रसित भएको छनक मिल्छ । स्वतन्त्र उम्मेदवारलाई माओवादी अध्यक्ष प्रचण्डले ‘गणतन्त्रको फूलबारीमा फुलेका फूलहरू’ भनिरहँदा एमाले अध्यक्ष ओली, नेता महेश बस्नेत लगायतले स्वतन्त्र जनप्रतिनिधि र उम्मेदवारमाथि आफ्ना तिखा अभिव्यक्तिबाट आक्रमण गरिरहेका छन् ।
