आँधीखाेला गाउँपालिका-५ का हरिप्रसाद ढकाल भन्दै थिए सिरूवारी आएकाे १५ पटक भयाे । ‘पहिला आउँदा बाटाे गतिलाे थिएन’ उनी भन्दै थिए, ‘भाइबहिनीकाे ग्रुप लिएर आएकाे थिए । त्यसपछि साथीभाईसँग आइयाे । कहिले नेतासँग । १४ पटक आइपुग्दा धेरै फेरिएकाेछ गाउँ । अहिले त यातायातकाे सुविधा पनि छ ।’
होमस्टे भन्नेवित्तिकै पहिलो रोजाईमा पर्ने गाउँ हो, स्याङ्जाको सिरुवारी । चिटिक्क सजाइएको गुरुङ बस्ती । जहाँ ढुँगै ढुँगाले बनेका झुपुक्क घर देख्न पाइन्छ । गाउँभरी नै ढुंगा विछ्याएर बनाइएको सफा र फराकिला बाटाघाटा । अतिथिलाई फुलमाला र पञ्चे बाजाले गरिने स्वागत र विदाई यहाँका विशेषता हुन् । संस्कृति, भेषभुषा र मनोरञ्जनले झन् यहाँको आकर्षणलाई बढाउने गरेको छ ।
स्याङ्जाको नागडाँडा वा हेलु बजारबाट उत्तरतर्फ करीब ३ घण्टाको ग्रामीण सडकखण्डमा रहेको यो गाउँ बाटोको पैदलमार्गदेखी घरका छानासम्म ढुङ्गाले निर्मांण गरिएको छ । आँधीखोला गाउँपालिका–१ मा रहेको यो होमस्टे समुन्द्री सतहको १७ सय मिटर उचाईमा पर्छ । २०५४ सालमा स्थापित सिरुवारी होमस्टे नमुना होमस्टेको रुपमा लिइने शैलेन्द्र घिमिरे बताउँछन् । होमस्टे स्थापना भएदेखी अहिलेसम्म करिव १४ हजार पर्यटक आएको सिरुवारी सामुदायीक होमस्टेका अध्यक्ष जीतेन्द्र गुरुङले बताए ।
‘हाम्रो होमस्टेमा प्याकेजमा हुन्छ’ उनले भने, ‘प्रतिव्यक्ति १४ सय रुपैयाँ लिन्छौ । १ हजार होमस्टे संचालकले लिनेछ भने ४ सय रुपैयाँ संस्थामा जम्मा गछौ ।’ यहाँ पुग्ने पाहुनालाई फुलमाला र पञ्चेबाजाले स्वागत गरिन्छ । बुद्धको मूर्ति पुजा गर्न लगाएपछि मात्र पाहुनाको लागि खाजा खुवाइनेछ । ‘हामीले सिरुवारी र यहाँका संस्थापकको बारेमा पाहुनालाई जानकारी दिन्छौ’ उनले भने, ‘त्यसपछि घरमा बाडँफाँट गर्छौ । पुनः साँझ ८ बजे सांस्कृति कार्यक्रमको लागि बोलाउछौ र दुई घण्टा नाँचगान गर्छौ । विहान ११ बजे खाना खुवाएर पाहुनालाई फुलमाला र पञ्चेबाजाले नै विदाई गर्छौ ।’ उनले होमस्टेको व्याख्या गर्दै पाहुनालाई स्थानीयस्तरमै उत्पादित खाद्यान्न खुवाइने बताए ।
२५ वर्षअघि व्यक्तिगत सोखका कारण स्थापित यो होमस्टे गाउँ सिरुवारी अनपेक्षित रुपमा विकास र विस्तार हुदै जाँदा स्वदेश र विदेशमा प्रख्यात छ । सिरुवारी सामुदायीक होमस्टे नेपालको मात्र नभई एशियाकै पहिलो ग्रामीण होमस्टे हो । स्थानीय स्व. रुद्रमान गुरुङको पहलमा २०५४ फागुनमा सुरु गरिएको यो होमस्टे मलेसियाको क्वालाम्पुरमा ‘नेपालकै नमुना गाउँ भनि घोषणा भएदेखी यहाँ विदेशी पर्यटकको ओइरो लाग्न थालेको स्थानीयबासी बताउँछन् । आन्तरिक पर्यटकको रोजाईमा उत्कृष्ट रहेको यो गाउँले विदेशीलाईसमेत मोहित बनाउन सफल भएको छ । होमस्टेको प्रशिक्षण र अवलोकन गर्न आउने पनि हप्ता दिनसम्म यो यहाँको रमणीयतामा झुम्ने गरेका छन् । सिरुवारी नाममै प्रख्यात रहेकाले आन्तरीक तथा बाह्य पर्यटकको पहिलो रोजाईमा पर्ने घिमिरेले बताए । ‘जतिपटक आए पनि आइरहन मन लाग्ने ठाउँ हो’ उनले भने, ‘धितै नमर्ने ।’ सिरुवारी पछिल्लोसमय अनुसन्धान र होमस्टेको प्रशिक्षण केन्द्रको रुपमा परिचित छ ।
होमस्टे संचालक उर्मिला गुरुङका अनुसार यहाँका घर, बाटोघाटो, भवन, लगायतका विभिन्न आकार ढुङगाले नै निर्माण वा सजावट गरिएको छ । ‘ढुङ्गा बाहेक अन्य बस्तु प्रयोग गरिदैन’ गुरुङ भन्छिन, ‘यो सिरुवारीको अर्को महत्व नै ढुँगा हो ।’ उनले स्थानीय स्तरबाट खनेर ल्याइने ढुँङगा नै प्रयोग गरिने बताइन । उनका अनुसार बाहिरबाट इट्टा, बल्क जस्ता निर्माणधिन सामान भने ल्याइदैन । यो होमस्टेमा बस्नको लागि चकटी पनि कुदेको ढुङगा नै प्रयोग गरिन्छ ।
गुरुङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा गुरुङ संस्कृति झल्किने खानपानदेखी कला संस्कृतिलाई देश बिदेशका पर्यटकले पैसाले साट्ने गरेका छन् । होमस्टे रहेका यहाँका घरमा परिवारसरह बस्दै नजिकबाट नियाल्ने अबसर पाउने भएकाले यो होमस्टे उत्कृष्ठ बनेको हरि ढकाल बताउँछन् । यहाँ ४४ घरधुरी भए पनि होमस्टे भने १९ घरमा संचालन हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार एक दिनमा एक सय १३ जना पाहुना अटाउँछन् ।
‘विदेशीने र बसाँईसराँइले होमस्टे घटेका छन्’ उनले भने, ‘अव गाउँ फर्क अभियान चलाएका छौ । होमस्टेको संख्या बढाउने, स्थानीय उत्पादनलाई जोड दिने हाम्रो लक्ष्य छ ।’ उनले सिरुवारीको ब्राण्डलाई कायम राख्न पनि चुनौति रहेको बताए ।
गुरुङ बस्ती रहेको सिरुबारीमा धेरै ब्रिटीस लाहुरे भएकाले ब्रिटीस सरकारले भुपु लाहुरे र परीवारलाई दिइएको सिटीजन शीपका कारण यहाँका अधिकांश घरमा ताला लागेको उर्मिला बताउँछिन् । संख्यामा पर्यटक घटेपनी क्षमता अनुसार पर्यटकको संख्या नघटेको सिरुबारी पर्यटन ब्यवसायी विकास गुरुङले बताए । यहाँको भ्यु टावरबाट देखिने मनमोहक दृश्य, गुरुङ भेषभुषा, कला संस्कृति, देश बिदेशका पर्यटकलाई प्रदर्शन गर्दै आर्थिकस्थिति मजबुत पारेर बसेका छन् । सिरुवारी पुग्न कहि पिच त कहिँ धुल्याम्मे सडक छ । सडकको स्तरोन्नती गर्न सके अझ यहाँको पर्यटनमा बिकास पुग्ने स्थानीयको भनाई छ ।
‘सिरुवारी पुग्न पहिलेजस्तो समस्या छैन’ विकास भन्छन, ‘होमस्टेको गेटमै गाडी पुग्छ । तर, बीचबाटो पीच नहुदाँ धुलो र हिलोको समस्या भने छ ।’ अध्यक्ष गुरुङले यहाँ पाठ सिकेर अन्यत्र संचालन गरिने होमस्टेको संख्या बढ्दै गएको बताए । ‘अन्यत्र सञ्चालन भएको होमस्टेको श्रेय हामीलाई नै आउँछ’ उनले थपे । यस गाउँमा आउने पर्यटकमध्ये कतिपय आन्तरिक पर्यटक होमस्टे संचालनको प्रकृया र तरिकाबारे सिक्न आउने उनले बताए । यसरी सिक्न आउनेमा विभिन्न ठाँउका आमा समुह, होमस्टे समुह तथा ग्रामिण पर्यटन समिती रहने गरेका छन् । सिकाईलाई मध्यनजर राख्दै समितिले सिरुवारीलाई होमस्टे तालिम केन्द्रको रुपमा विकास गर्दै आएको उनले बताए ।