लाउलाउ र खाउँखाउँ भन्ने उमेरमा वेपत्ता परेका भाईको खोजीमा बरालिदा बरालिदै कयौ वर्ष विते । तर, अहिलेसम्म भाईको अत्तोपत्तो छैन् । हराएको भाई खोज्दा खोज्दै मेरै उमेर जान लागिसक्यो । कहाँ जाऔ खोज्न ? कसलाई भनौ ? सरकार अव त लास दे कि सास । आँखाबाट आँसु बगाउँदै ५४ वर्षिय मिठु पुन भन्छन, ‘जिउँदो छ कि छैन थाहा छैन् । लाश मात्रै पाउन पाए पनि भाई संसारमै छैन् भनेर मन त बुझ्थ्यो । पखाईमा बाटो हेर्दै बसेका यी आँखालाई आश हराउथ्यो की ।’
टाउकोमा क्याप टोली । हरियो गाढा रङको ट्रयाक लगाएका उनी मजदुरी काम गर्छन् । म्याग्दीको खानीगाउँ घर भएका पुनको परिवार सानो उमेरमा नै बसाईसराई गरेर पोखरा आएको थियो । २०६० चैत १२ गते दाजुभाई मजदुरी गर्न गएका थिए । दिउँसो घर फर्किने क्रममा २० वर्षिय भाई ओमप्रकाशलाई नेपाली सेनाले पक्राउ गर्यो र लग्यो । ‘त्यो बेला दंग आर्मी हुन्थे’ उनले स्मरण गर्दै भने, ‘कहाँ लैजाने ? किन लैजाने ? केही भनेनन् । सिधै समातेर लिएर गएका हुन् । त्यसपछि भाईको अत्तोपत्तो छैन् ।’ पुनले वेपत्ताको नाममा विभिन्न संघसंस्थाले कार्यक्रममा आउनुस भनेर बोलाउने र पठाउने काम बाहेक हराएको भाईको खोजी भने नगरिदिने गरेको दुखेसो पोखे ।
गोरखाकी राधीका सिम्खडाको श्रीमान फणिन्द्र वेपत्ता भएको ३५ वर्ष पुग्यो । उमेरले ६० वर्ष पुगेकी राधीकाले आफू ३५ वर्षको उमेर हुँदा नेपाली सेनाले श्रीमानलाई लगेको सम्झिन्छिन् । उनको पनि अहिलेसम्म अत्तोपत्तो छैन् । उनका ३० वर्षिय छोरा पनि शहिद भएका थिए । वेपत्ता श्रीमान र शहिद छोराको नाममा एनजिओले वर्षमा एक पटक कार्यक्रम राखेर बोलाउने बताउदै उनी भन्छिन, ‘मेटिसकेको घाउ पनि कोट्याउने काम हुन्छ । यस्ता संस्थाले न केही गर्छन् न त राहात नै दिन्छन् ।’ प्रदेश सरकारले वेपत्ता पीडितका लागि कस्ता योजना ल्याएको छ भन्दै प्रश्न गरिन् । वेपत्ता परिवारका सदस्यले सरकारले लाश की सास दुईमा एक दिनुपर्ने माग राखेका छन् । अहिले सरकारको नेतृत्व र जनयुद्धको नेतृत्व एउटै व्यक्तिले गरेको हुँदा वेपत्ता व्यक्ति खोज्न पनि सहज हुने उनीहरुको भनाई छ । ‘अहिलेको सरकारसंग अपेक्षा पनि बढी छ’ उनीहरु भन्छन् । अधिकाशं पीडितले लाश भए पनि हराएको व्यक्तिको टुंगो लगाउनुपर्ने माग राखेका छन् ।
२०५८ सालमा छोरा वेपत्ता भएको भन्दै शिव पराजुलीले पीडितमाथि राजनीतिक हस्तक्षेप हुने गरेको गुनासो गरे । उनले पनि वेपत्ताका परिवारलाई मेटिएको घाउमा नुन र चुक छर्किने भन्दै आगामी वर्षदेखी औपचारिक कार्यक्रम नगर्न अनुरोध गरे । कास्कीको माछापुच्छ्रे–२ का केदार आचार्यका भाई आनन्द आचार्यलाई २०५८ मंसीर २ गते वेपत्ता पारिएको थियो । २३ वर्षिय आनन्दलाई सुरक्षाकर्मीले लगेका थिए । ‘२०५८ को पुस १३ गतेसम्म भाईलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो’ विगततर्फ फर्किदै उनले भने, ‘जिप्रकामा १४ गते जादा अन्त्यै सर्यो भनियो । फुलबारी आर्मीको व्यारेग लगिएको रहेछ । त्यहाँ आर्मीले छैन् भन्यो । त्यहाँबाट विजयपुर आर्मी व्यारेग लगिएको रहेछ । चैत २ गतेसम्म फुलबारी व्यारेग राखिएको थियो । त्यसपछि भाईको केही खबर छैन् । हामीले पटकपटक खोजी गर्यौ तर, कहि केही खबर पाएनौ ।’ उनले सरकारबाट केही क्षतिपूर्ति नचाहिने भन्दै भाईको सास र लाशमा एउटा पाउनुपर्ने माग राखे । ‘यस्ता कार्यक्रम राख्ने संस्थाले बढाईचढाई गरेर क्षतिपूर्ति मागेको प्रचार गर्छन्’ आक्रोशित हुदै आचार्यले भने, ‘हामीलाई क्षतिपूर्ति चाहिएको छैन् । हाम्रा मान्छे कहाँ छन् ? जिउँदो छन् या छैनन् । खबर चाहिएको छ ।’ उनका अनुसार सुरक्षाकर्मीले एकैपटक आनन्दसहित चार युवालाई लगेको थियो । कार्यक्रममा सहभागी अधिकाशं पीडितले वेपत्ता आयोग उदासिन रहेको आरोप लगाएका छन् । आयोग नाम मात्रको भन्दै उनीहरु आयोगप्रति अव कुनै अपेक्षा नरहेको भन्दै आक्रोशित भएका थिए । पीडितले एकै स्वरमा भने, ‘यो सरकारसंग आश भने मरेको छैन् ।’ विगतकाे सरकार वेपत्ताकाे क्षेत्रमा संवेदनशील नभएकाे आराेि उनीहरूकाे छ । गठन गरिएकाे वेपत्ता आयाेगकाे पनि भूमिका राम्राे नभएकाे र गठन गठनकै लागि सिमित रहेकाे पीडितकाे भनाई छ ।