गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्यांक हेर्दा आत्महत्याको दर डर लाग्दो छ । प्रहरीका अनुसार आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । गण्डकी प्रदेशमा हुने मृत्युदरको कारण खोज्ने हो भने, अधिकांश आत्महत्या नै बनेको हो ।
आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशमा ७ सय ३० जनाले आत्महत्या गरे । जसमा महिला २ सय ५६ जना रहेका छन् भने पुरुष ४ सय ७४ । प्रहरीको तथ्यांकले झुण्डिएर ८८.६३ प्रतिशत अर्थात् ६४७ जना, विष खाएर ५.७५ अर्थात् ४२ जना, हाम फालेर ३.५ प्रतिशत अर्थात् २६ जना र आगो लगाएर १ जना ०.१३ प्रतिशतले आत्महत्या गरेको जनाएको छ ।
आत्महत्या दुरुत्साहनमा १४ वटा मुद्दा दर्ता भएको गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए । डीआईजी गुरुङका अनुसार गण्डकीमा प्रतिदिन दुई जनाको आत्महत्याका कारण मृत्यु हुन्छ । गत आर्थिक वर्ष सवैभन्दा बढी कास्कीमा १ सय ७० जना र मनाङमा सवैभन्दा कम एक जनाले आत्महत्या गरे । महिला र पुरुष गरी मुस्ताङमा दुई जनाले आत्महत्या गरे । प्रहरीको तथ्यांक अनुसार तनहुँमा एक सय ६, स्याङ्जामा ८७, लमजुङमा ३९, गोरखा ८१, बाग्लुङ ५४, पर्वत ४७, म्याग्दी ३४ र पूर्वी नवलपरासीमा एक सय ९ जनाले आत्महत्या गरे । आर्थिक वर्ष २०७८/७९ मा ७ सय १९ र २०७७/७८ मा ६ सय ६० जनाले आत्महत्या गरेका छन् ।
प्रहरीको अनुसन्धानले सात वटै वारमा आत्महत्या हुने गरेको खुलाएको छ । बारको आधारमा सवैभन्दा बढी विहीवार एक सय १३, शुक्रबार एक सय १०, आइतबार एक सय ८, सोमबार १ सय ७, शनिवार एक सय ३, मंगलबार ९५ र बुधबार ९३ जनाले आत्महत्या गरे । समयको आधारमा सवैभन्दा बढी विहान ६ देखी १२ बजेसम्म २ सय ७५ अर्थात् ३७.६ प्रतिशत र कम राती १२ देखि विहानको ६ बजेटसम्म ७३ जना अर्थात् १० जनाले आफ्नै हत्या गरे । प्रहरीले शैक्ष्कि योग्यताको आधारमा पनि आत्महत्याको विश्लेषण गरेका छ । तथ्यांकमा उल्लेख गरिए अनुसार सामान्य लेखपढ गरेका सवैभन्दा बढी ५९ प्रतिशत रहेका छन् । एसएलसी पास र सो सहर २२ प्रतिशत रहेका छन् भने, एमए वा सो सरहका पनि रहेका छन् । जातीयताको आधारमा आत्महत्याको दर हेर्दा सवै जातमा बराबरी देखिन्छ ।
‘आत्महत्या गर्नुको मुख्य कारण गरिबी र वेरोजगारी हो’ डीआईजी गुरुङ भन्छन्, ‘अशिक्षा, घरेलु हिंसा, मानसिक असन्तुलन, प्रेममा असफल र दीर्घ रोगी साथै उच्च आकांक्षा हो । यी लगायत पनि विविध कारण नभएका भने होइनन् ।’ उनले आत्महत्याको कारण भने एउटै हुन नसक्ने बताएका छन् । गुरुङले पछिल्लोसमय आत्महत्या देखासिको पनि गर्ने गरेको पाइएको बताए । ‘एक ठाउँमा आत्महत्या गरे अन्यत्र पनि असर पर्छ’ उनले भने, ‘आत्महत्या शून्यमा झार्न त नसकिएला तर, न्यूनीकरण गर्न सकिन्छ । यसका लागि गाउँ/गाउँ, टोल/टोल र घर/घरमा सचेतनाका कार्यक्रम पुयाउनुपर्छ ।’ गण्डकी सरकारको समन्वयमा प्रहरीले टोलटोलमा सचेतना अभियान शुरु गरेको छ ।
यस्तै, अविवाहित भन्दा आत्महत्या गर्नेमा विवाहित ६१.५ प्रतिशत छन् । प्रहरीको तथ्यांकले आत्महत्या गर्नेमा १८ वर्ष नपुगेका बालबालिका पनि रहेको देखाएको छ । तथ्यांक अनुसार सवैभन्दा कम उमेरको पुरुष ९० वर्षमा दीर्घ रोगीले आत्महत्या गरे भने, सवैभन्दा बढी उमेरको महिला ८५ वर्षकी । उनले कमजोर मानसिकताका कारण आत्महत्या गरेको खुलेको छ । बहिनीको कपाल पहिले कोरिदिएको निहुँमा १० वर्षिय वालकले आत्महत्या गरेको उदाहरण गण्डकीमा छन् । प्रहरीले आत्महत्या प्रयास गरेका व्यक्तिलाई परामर्श दिएर उद्दार गरेको छ ।
मानसिक विरामी भएर चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गरेका एक सय ७ जनाले आत्महत्या गरे । सरकारी अस्पतालमा मानसिक विरामीको औषधी सामान्य हुँदा समस्या नहुने तर, नीजि अस्पताल तथा मेडिकलमा दिइने औषधी विपरीत तथा बढी डोजको हुने चिकित्सकले बताएका छन् ।
‘आशा जोगाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ मानसिक अवस्थाका कारण आत्महत्या गर्ने अवस्थामा पुगेका कतिपयलाई कोशिश नामको संस्थाले थाहा पाएसम्म मनोपरामर्शमार्फत् सामान्य जीवनमा फर्काएको छ । कोशिश परियोजनाका गण्डकी प्रमुख सुदीप घिमिरेले आत्महत्याको दर निकै घटाउन सकिने बताए । कोशिशले १ सय ९० जनालाई मनोविमर्शको सेवा दिएको छ । मानसिक विरामीलाई समाजले मजाक बनाउने हुँदा खुल्न चाहादैनन् । जसले आत्महत्याको रुप लिन्छ । खुल्न चाहाने थोरै व्यक्ति हुने र त्यस्ता व्यक्तिले पुर्नजिवन पाउन सक्छन् ।
औपचारिक सेवा केन्द्र (इन्सेक)का गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले यस प्रदेशमा मानसिक रोगीको उपचारका लागि अस्पताल निर्माणमा सरकारको ध्यान नपुगेको बताए । सरकारको अधिकाशं बजेट गुम्बा–मन्दिर, सामूदायिक भवनमा खर्च भएको बताउदै उनले अस्पताल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । ४६ वर्षदेखि माथिको उमेर समूहले बढी आत्महत्या (३५ प्रतिशत) गरेका छन् ।
प्रहरीको अनुसन्धान अनुसार मानसिक रोगीलाई घृणा गर्ने, गरिवी र वेरोजगारी, मानसिक स्वास्थ्य सेवा सहज नहुनु, मनोसामाजिक परामर्शकर्ताको कमी, समयमा स्वास्थ्य उपचार नगर्ने, मादक पदार्थ र लागु औषधको दुव्र्यशन, सामाजिक हिंसा र विभेदपुर्ण व्यवहार, आर्थिक कारोवार र व्यवसायको सुरक्षा नहुनु, लैङगिक हिंसा पीडितको उचित सम्बोधन नहुनु, विपद पीडितको पुनस्थापना नहुनु, सामाजिक सञ्जालको दुरुपयोग नै आत्महत्याका चुनौति हुन् ।
यस्तै, आत्महत्या रोकथामका लागि आत्महत्याको जोखिम भएका व्यक्तिसंग आत्मिय व्यवहार गर्ने, विरामीको मनको कुरा ध्यान दिएर सुनिदिने, विरामीलाई अप्ठ्यारो अवस्थाबाट सुरक्षित अवस्थामा पु¥याउन सहयोग गर्ने, सामाजिक मनोविमर्शकर्ता वा मनोचिकित्सकसंग परामर्समा लैजाने, विषादी, डोरी, घातक हतियार मानसिक समस्या भएकाको पहुँचबाट टाढा राख्ने, मिडियाले आत्महत्या घटनाको समाचार प्रचारप्रसार नगर्ने, विरामी विरुद्ध हिंसा, विभेद रोक्ने र संकटबाट उद्धार गर्ने, र विरामीमा समुन्नत जीवनको आशा जगाउने कार्य गर्नुपर्छ ।
गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले सरकारले सामाजिक विरामीको क्षेत्रमा बजेट विनियोजन गरेको बताइन् । उनले मन्त्रालयको क्षेत्राधिकार धेरै भए पनि यसतर्फ सरकारको ध्यानाकर्षण भएको बताइन् । ‘स्रोत साधन कम हुँदा सरकारले काम गरेन भन्ने छ’ उनले भनिन, ‘आत्महत्या रोकथामका लागि पनि जोड दिएका छौ ।’ सरकारले मानसिक विरामीको क्षेत्रमा सम्बोधन नगरेको भन्ने प्रश्नमा उनले प्रदेश सरकारले सुशासनलाई प्राथमिकता दिएको बताउदै मानसिक विरामीको क्षेत्रमा विनियोजन गरिएको बजेट सोही शिर्षकमै कार्यान्वयन गर्ने बताएकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा मानसिक विरामीको लागि एउटा छुट्टै अस्पताल आवश्यक रहे पनि प्रदेश सरकारले बनाउन नसक्ने बताए । उनले युनिट बनाएर यस क्षेत्रलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।