पोखरा चिनाउने खाद्यान्न हो, ‘जेठोबुढो’ । पोखराको जेठोबुढो धान भनेपछि अन्य धानसंग तुलनै हुन्थेन् । अहिले जेठोबुढोको बीउसमेत भेटाउन मुस्किल छ । यताकता भएको जेठोबुढोको पनि न स्वाद छ न बास्ना नै । खेतका फाँटमा धानको बाला लाग्न थालेपछि मगमग आउने बास्ना अहिले छैन् ।
‘घरमा भात पकाउँदासमेत गाउँभरी फैलिने बास्ना अहिले खाने बेलामा पनि आउदैन’ पोखरा–२३ घाँटीछिनाकी ५८ वर्षिया बसन्ती गुरुङले विगत सम्झिदै भनिछन्, ‘त्यो बेला घरमा हामीले लगाएको जुुठोबुढो र अहिले हामलै लगाउने जेठोबुढो आकाश जमिनको फरक छ ।’ उनले वास्तासंगै भातमा स्वाद पनि हराउँदै गएको बताइन् । खेतीपातीमा विकासे मलको प्रयोग गर्न थालेपछि उत्पादनमा गुणस्तर घटेको अनुभव उनीसंग छ ।
‘पहिले गाईभैंसीको मलले खेती लगाउन पुग्थ्यो’ उनले भनिन, ‘अहिले बाहिरबाट ल्याएको रासायनिक मल प्रयोग गरिन्छ । घरको मलले पुग्दैन । कमिला र किरा मार्ने भनेर विषादी प्रयोग गरिन्छ । विषादी प्रयोगले उर्वर माटोलाई मारिसक्यो ।’ उनले आफैले लगाएको खेती पनि गाउँको लोकल भनेर खाने अवस्था नरहेको सुनाइन् । ‘घरमै उव्जिएको भनेर भएर सवै रासायनिकयुक्त छ’ उनले थपिन् । आफ्नो जग्गा आसपासमा रासायनिक मल प्रयोग गरेपछि आफूले नगरेको भए पनि त्यसको प्रत्यक्ष असर पर्ने उनको अनुभव छ ।
सोही ठाउँका कृषि संजालका संयोजक ५३ वर्षिय लोकबहादुर गुरुङले जेठोबुढोको बास्ना हराउनुमा वातावरण प्रतिकूलको असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) धानको बीउ नै प्रमुख कारण रहेको बताए । किसानलाई रैथाने स्वाद र वास्नाभन्दा धेरै फल्ने धानको बीउ अनुदान दिन थालेपछि पुख्यौली धान विस्तापीत हुँदै गएको उनको भनाई छ । किसानलाई खेती लगाउन रासायनिक मल प्रयोग गर्न प्रेरित गर्ने र किसान पनि बढ्दो उत्पादनमा रमाउने हुँदा जेठोबुढो मासिँदै गएको उनी बताउँछन् । विषादीको प्रयोगले धान मात्र नभई स्थानीय तरकारी, फलफूलमा पनि असर गरेको उनको भनाई छ । विषादी प्रयोग गरिएका खानेकुराले मानव जिवनमा पनि असर पुगेको उनी बताउँछन् ।
उनले कृषि कार्यालयबाट किसानलाई विकासे बीउ भन्दा लोकल विउलाई प्राथमिकता दिनुपर्नेमा त्यसो नभएको गुनासो गरे । कार्यालयबाट उत्पादन बढाउन उन्नत जातको धान प्रयोग गर्न लगाउँदा अनेक विषादीको प्रयोग गर्न सिकाउँदा रैथानी बाली लोप हुँदै गएको उनले बताए । जेठोबुढोसंगै ठिमाहा लगायतका अन्य लोकल धान पनि हराउँदै गएको उनले बताए । पोखरा महानगर, जैविक विविधिता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल जस्ता संस्थाले रैथाने बाली प्रर्वद्धनमा पहल गरेको उनले बताए छन् ।
पोखरा–३१ का विष्णुप्रसाद बास्तोलाले जेठोबुढो धान संरक्षण नभएकोप्रति गुनासो गरे । व्यावसायिक कृषककोरुपमा आफ्नो पहिचान बनाउदै गर्दा रैथाने बाली संरक्षणमा स्वंम ध्यान नपुगेको उनी सुनाउँछन् । ‘पहिलेको अर्गानिक धान र अहिलेको धानमा न बास्ना छ न स्वाद’ उनले थपे, ‘पहिला दुध र भात खादा कति स्वाद आउथ्यो अहिले रसै भेटिदैन् । आफैले उत्पादन गरेको धान भए पनि दुधसंग मात्र खान सक्ने अवस्था छैन् ।’ उनले पनि रासायकिन मलको प्रयोग बढ्दै जाँदा स्वादिलो खाद्यान्न पनि हराउँदै गएको स्वीकारे ।
स्याङ्जाको गल्याङ् नगरपालिकाका बासुदेव ज्ञवालीले पनि पुख्यौली धान हराउँदै गएकोप्रति चिन्ता पोख्छन् । मुलको चिसो पानीले छटछट हानेर उत्पादन गरिए जस्तो धान अहिलेको नहुने भन्दै उनी सुनाउँछन् । ‘पहिला मुलको पानी प्रयोग हुन्थ्यो । घरमै पालेका गाईवस्तुको मल प्रयोग गथ्र्यौ । अहिले वातावरण फेरियो । धानका बीउ पनि हाइव्रिड आउन थालेपछि पुख्यौली धान हराउन थालेका हुन् ।’ पोखराबाटै ल्याएर जेठोबुढो धान खेती गरेको अनुभव उनीसंग छ उनले जेठोबुढो धान भनेपछि कुनै समय अन्य जातको धान नलगाउने गरेको बताउदै भने, ‘पोखराको बजारमा किनेको चामल भन्दा अलिअलि वास्ना मेरो घरको चामलमा आउँछ । पोखरामा झन् भेटिएन् ।’
गण्डकी प्रदेश सरकारले जग्गा वर्गीकरण, माटो परीक्षण, चक्लावन्दी लगायतका काम गदै आएको छ । रैथाने बाली संरक्षणको लागि कृषि जैविक विविधता तथा प्राङगारिक कृषि प्रर्वद्धन रणनीतिक कार्ययोजना, २०८० तयार पारेको छ । उक्त कार्ययोजना अन्तर्गत रैथाने बाली संरक्षण प्रवद्र्धन कार्यक्रम संचालन गरिएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र पोखराका निमित्त प्रमुख अर्जुनदेव ज्ञवालीले बताए । मौलिक बास्ना कायम गर्न खाँचो रहेको बताउदै उनले जेठोबुढोको जातिय गुण सुधारतर्फ थप अनुसन्धान हुनुपर्ने बताए ।
पोखराको क्षेत्रमा प्रचलित जेठोबुढो सर्वत्र रुचाइएको भए पनि अहिले बास्ना हराएको गुनासो सर्वत्र आएको उनले बताए । ‘एक त विको धानको प्रभाव पनि परेको छ’ उनले थपे, ‘अर्कोतर्फ बजारमा विक्री गर्दा जेठोबुढोका नाममा मिसावट हुने समस्या पनि छ ।’ उनले वातावरणीय प्रभाव, न्युटेसन र पोलिलेशनका कारण पनि वास्ना नभेटिने गरेको बताए । कृषि मन्त्रालयले जेठोबुढो पोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशकै पहिचान रहेको बताउँछ ।
लिबर्ड नाम गरेको एक संस्थाले जेठोबुढो प्रवद्र्धनका लागि सुधारिएको जेठोबुढो बीउ उत्पादन र बिक्री वितरण गरेको छ । लिवर्डका अनुसार पोखरा आसपासका विभिन्न फाँटमा किसानले लगाएको जेठोबुढो धानमा एकरुपता थिएन । के कारणले विविधता आयो भन्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद् र लिबर्डले तत्कालीन जिल्ला कृषि विकास कार्यालयसंग मिलेर विभिन्न सातवटा फाँटबाट तीन सय ३८ वटा किसानबाट जेठोबुढो धानको नमूना संकलन गरेर परीक्षण गरेको थियो । परीक्षणपछि सन् २००६ मा सुधारिएको पोखरेली जेठोबुढो नामाकरण गरियो । ज्ञवालीले राष्ट्रिय स्तरबाट सूचीकृत नभए बिक्रीवितरण गर्न नपाइने भएकाले सूचीकृतपछि यसको प्रवद्र्धनमा चासो दिइएको बताए ।
पोखरा महानगरपालिका कृषि महाशाखाले जेठोबुढाको माग अहिले पनि रहेको बताए । महानगरले जेठोबुढो प्रवद्र्धन गर्नको लागि कार्यक्रम नै संचालन गरेको छ । जेठोबुढो धानको अनुसन्धान गरेर अझै विस्तार गर्न सकिने कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । २०६३ मा नेपाल सरकारले जेठोबुढोलाई पुरानो रैथाने जातको धानको भनेर सूचिकृत गरेको थियो । सुरुवातीमा जेठोबुढो मात्र भनिए पनि अहिले पोखरेली जेठोबुुढो भनेर चिनिन्छ । लामो सीता भएको, मगमग बास्ना आउँने, खाँदा नरकम हुने जेठोबुढोको उत्पादन पनि कमी छ ।
कडरियाका अनुसार जेठोबुढोमा एकरुपता नहुँदा तीन सबभन्दा बढी जातबाट छनौट गरी ६ वटा जातलाई सम्मिश्रण गरेर एउटा जात बनाइएको थियो । यसभित्र बास्ना आउने, कम बास्ना आउने, उत्पादन बढी हुने र घटी हुने, कोही अग्लो, कोही होचो, कोही रोग पनि सहन सक्ने सबै पर्दछन् । महानगरपालिकाले जेठोबुढोलाई गतवर्ष ‘ब्रान्डिङ’ गरेको छ । यसको न्यूनतम मूल्य (एक क्विन्टल जेठोबुढो धानको मूल्य नौ हजार पाँच सय र एक किलोलाई ९५ रुपैयाँ) तोकिएको छ । कडरियाले चिसो पानीमा कहीँकतै अझै पनि बास्नादार जेठोबुढो फल्ने गरेको बताए । ६ सयदेखि नौ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान प्रतिरोपनी तीन मुरीसम्म फल्ने गर्दछ । पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ ।