एकनाले भरुवा बन्दुकसहित स्याङ्जाका ६९ वर्षिय हुमबहादुर शाही पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका–७ ठुलाडिही शाहीलाई विहीवार राती पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।
प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोषाकमा खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई शुक्रबार जिल्ला अदालत स्याङ्जामा ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।
पुतलीबजार नगरपालिका–७ ठुलाडिही घर भई हाल पोखरा महानगरपालिका–२६ बस्दै आएका ४४४ वर्षिय सुरेन्द्र रेग्मी साउन ६ गते घर नजिकै रहेको बारीमा सुन्तलाको विरुवा रोप्नको लागि खाल्टो खन्दै थिए । त्यही बेला बन्दुकको ठूलो आवाज आयो । उनीलाई बन्दुकको छर्राले लाग्यो ।
बन्दुकको आवाज निस्किने र रेग्मी घाइते भएपछि प्रहरीलाई सूचना गरियो । प्रहरीले रेग्मीमाथि सोधपुछ गर्दा सोही ठाउँका ठकुरी भेना भन्ने ६९ वर्षिय हुमबहादुर शाहीको संलग्नता रहेको खुलाए । प्रहीले शाहीलाई पक्राउ गर्यो । तनहुँमा लुकेर रहेका शाहीलाई पक्राउ गरेपछि शाहीले आफूले लुकाएर राखेको एकनाले बन्दुक (हतियार)बारे जानकारी दिए । प्रहरीले सोही राती बन्दुकसमेत बरामद गरेको जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार घाइते रेग्मी अहिले पाटन अस्पताल ललितपुरमा उपचाररत छन् ।