गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको गण्डकी प्रदेशसभाको वैठकमा अर्थमन्त्री टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।
बजेटमा पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ अथवा ५९ दशमलव ७ प्रतिशत छुट्याइएको छ भने, चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९ दशमलव ५ प्रतिशत हो । त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ० दशमलव ८ प्रतिशत हो ।
अर्थमन्त्री गुरुङले बजेटमा विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको बताए । बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उनको भनाई छ ।
७ अर्ब ७३ करोड रुपैया वित्तीय समानीकरणबाट प्राप्त हुँदा ९ अर्ब २९ करोड राजश्व बाँडफाटबाट प्राप्त हुने सरकारको अनुमान छ । आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड हुने र १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्रीले बताए । नपुग सवा २ अर्व रुपैयाँ चालु आवको बजेटबाट खर्च नभई सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए ।