गण्डकी प्रदेशमा करियर बुथको स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय र इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (आइल्याव) नेपाल कार्यक्रम अन्तर्गत गण्डकी टिममार्फत १० स्थानमा करियर बुथ स्थापना भएको हो ।
करियर बुथ स्थापना गर्नका लागि प्रदेशका शैक्षिक र व्यवसायिक संस्थासँग पोखरामा आयोजित एक कार्यक्रमवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी भई हस्ताक्षर भएका संस्थामा रोजगार सूचना केन्द्र (सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय) पोखरा, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेश, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान, व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिका, वालिङ नगरपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा प्राविधिक शिक्षालय, किसान प्राविधिक शिक्षालय, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट रहेका छन् ।
नेपालमा बेरोजगारी र दक्ष जनशक्ति दुबै समस्या छन् । एउटा पक्षमा रोजगारीको अवसर खोज्दै युवा वैदेशिक रोजगारीतर्फ धाइरहेका छन् भने अर्काेतर्फ यहाँका उद्योग–व्यवसायीले आवश्यक सीपयुक्त जनशक्ति नपाएर कार्यक्षेत्रमा कठिनाइ भोगिरहेका छन् ।
गण्डकी प्रदेशमा स्थापना भएको करियर बुथको पहललाई भविष्यमा रोजगारी, सीप र युवाको भविष्यसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण कदमका रूपमा हेरिएको आइल्याव गण्डकीका संयोजक तथा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी (गैरे)ले बताइन् । ‘यसको लक्ष्य भनेको बेरोजगार युवालाई रोजगारीका अवसरसँग जोड्नु, विभिन्न संस्थालाई दक्ष जनशक्ति उपलब्ध गराउनु र कामदारलाई उनीहरूको सीप र रूचिअनुसार मार्गदर्शन गर्नु हो ।’
विशेषगरी पाँच प्रकारका व्यक्तिलाई सेवा दिने गरी करियर बुथ डिजाइन गरिएको आइल्याव गण्डकीका सदस्य शरद कोइरालाले बताए । रुचि र क्षमताबारे स्पष्टता नभएका, काममा संलग्न तर अपूरा दक्षतावाला, अनौपचारिक रूपमा दक्षता हाँसिल गरेका व्यक्ति, अनुभवी व्यक्ति र पेशागत रूपमा स्थापित व्यक्ति यो कार्यक्रमबाट प्रत्यक्ष फाईदा लिन सक्ने कोइरालाको भनाई छ ।
शिक्षा प्रणाली कार्यशाला कार्यक्रम नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम प्रणालीलाई सुदृढ बनाउन लक्षित छ । यसै काठमाडौँ विश्वविद्यालयले देशभरबाट करियर बुथ स्थापनाका लागि प्रस्ताव आह्वान गरेको थियो । सो आह्वानमा गण्डकी प्रदेशको टिमले प्रस्तुत गरेको अवधारणा छनोट भई कार्यान्वयन र परीक्षणका लागि स्वीकृत भई १० वटा संस्था छनौट भएको आइल्याव गण्डकीका सदस्य नवराज अधिकारीले बताए ।
करियर बुथले सेवाग्राहीलाई पेशागत विकासका लागि आवश्यक पहिचान, तालिम, सीप परीक्षण, रोजगार अवसर र उद्यमशीलता परामर्श उपलब्ध गराई प्रदेशभित्रै दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउनेछ । यसले बाहिर रोजगारी खोज्नुपर्ने बाध्यता कम गर्न सक्छ । यससँगै प्रदेशको आर्थिक चक्रभित्रै युवाको श्रम–शक्ति परिचालन हुने र उद्यमशीलता बढ्ने अपेक्षा गरिएको छ ।
यसरी छनोट भएपछि गण्डकी प्रदेशको टोलीले करियर बुथको मोडालिटी, सञ्चालन प्रणाली र परामर्श सेवाबारे अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम समेत सम्पन्न गरिएको छ । यसरी करियर बुथले केवल बेरोजगारलाई मात्र होइन, रोजगारीमा लागि सकेकालाई पनि थप सशक्त बनाउन भूमिका खेल्नेछ ।
