निजामती सेवा दिवस २०८२ को अवसरमा आयोजित तेस्रो निजामती फुटसल टुर्नामेन्ट २०८२ शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ ।
प्रतियोगिताको पुरुषतर्फको उपाधि उच्च अदालत पोखराले हात पारेको छ भने महिलातर्फ आयोजक च्याम्पियन बनेको छ ।
भाद्र २० गते पोखराको मुस्ताङ चोक फुटसलमा सम्पन्न भएको फाइनल खेलमा पुरुषतर्फको उपाधिका लागि भएको रोमाञ्चक भिडन्तमा उच्च अदालत पोखराले मादी गाउँपालिका कास्कीलाई पराजित गरी विजय हासिल गरेको हो । यसैगरी, महिलातर्फको फाइनल खेलमा आयोजक महिला टिमले जिल्ला अदालत कास्कीलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
प्रतियोगितामा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेशको टिम (Team Tourism) भने तेस्रो स्थान हासिल गर्न सफल भयो ।
प्रतियोगितामा कुल २३ टिमले दर्ताका लागि निवेदन दिए पनि अन्तिम समयमा एक टिमले फिर्ता लिएकाले १८ पुरुष टिम र ४ महिला टिम गरी कुल २२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको पहिलो चरणमा पुरुष टिमलाई गोला प्रथाद्धारा विभिन्न चार समूहमा विभाजन गरी लिग चरणका खेल खेलाइएको थियो भने महिलातर्फ चारवटा मात्र टिम भएकाले सिधै नकआउटमा प्रवेश गराइएको थियो । भाद्र १५ देखि २० गतेसम्म मुस्ताङ चोक फुटसलमा सञ्चालन भएको यस प्रतियोगितामा कुल ४४ वटा खेल खेलाइएका थिए ।
यो प्रतियोगिता निजामती सेवा दिवस २०८२ मूल समारोह समिति, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अतिरिक्त क्रियाकलाप सञ्चालन उपसमितिको कार्यक्रमअनुसार नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, जिल्ला समिति कास्कीले आयोजना गरेको हो । निजामती कर्मचारीको सृजनशिलता र उनिहरूकाबीच खेलकुदको माध्यमबाट आपसी भाइचारा र समन्वय अभिवृद्धि गर्ने उद्देश्यका साथ विगत यस्तै कैयन कार्यक्रमहरू आयोजना गर्दै आएको छ । संगठनको कास्की जिल्ला समितिले विविध सृजनात्मक र रचनात्मक क्रियाकलाप गर्दै आएकोमा फुटसल टुर्नामेन्टले कर्मचारीमा भिन्न खालको रौनक थपेको छ ।
पहिलो वर्ष जम्मा ७ टिम मात्र सहभागी रहेकोमा दोस्रो वर्ष २०८१ मा पुरुषतर्फ १६ टिमले सहभागिता जनाएका थिए । यस वर्षको सफलताले प्रतियोगिताको निरन्तरता र लोकप्रियतालाई पुष्टि गरेको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन भाद्र १५ गते कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी थिईन् । उद्घाटन सत्रको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष गोविन्द प्रसाद रिजालले गरे ।
प्रतियोगिताको फाईनल खेलको उद्घाटन समारोह भाद्र २० गते सम्पन्न भएको थियो । उक्त समारोहको अध्यक्षता पनि संगठनका अध्यक्ष गोविन्दप्रसाद रिजालले नै गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट रहेका थिए । समारोहमा न्यायाधीश, प्रदेश सचिव, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, ट्रेड युनियनका पदाधिकारी, खेलाडी तथा सञ्चारकर्मी गरी करिब ३ सय जनाको उपस्थिति थियो । कार्यक्रममा राष्ट्रभक्तिपूर्ण गितहरुमा नृत्यसमेत प्रदर्शन गरी दर्शकलाई स्वागत गरिएको थियो भने सचिव अविनाश भट्टराईले स्वागत मन्तव्य राखे । कार्यक्रममा संविधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण)ले कर्मचारीले खेलकुदको क्षेत्रमा देखाएको यो स्तरको सकृयतामा आफु खुसी भएको र टुर्नामेन्टको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका निवर्तमान प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले खेलकुदको महत्व दर्शाउँदै टुर्नामेन्टको सफलताको शुभकामना आफ्नो मन्तव्य मार्फत व्यक्त गरे । त्यसैगरी प्रमुख अतिथि अम्बादत्त भट्टले प्रतियोगिताले कर्मचारीबीचको सम्बन्धलाई थप सुदृढ बनाएकोमा जोड दिँदै आफ्नो मन्तव्य राखे । संघीय निजामती सेवा गठन तथा संचालन सम्बन्धी संसदमा विचाराधिन विधेयकमा आफ्नो संगठनले कर्मचारी तथा प्रभावकारी सेवा प्रवाहको पक्षमा महत्वपूर्ण सुझावहरु दिँदै आएको बताए । अन्तमा, कार्यक्रमका सभाध्यक्ष गोविन्दप्रसाद रिजालले सम्पूर्ण सहभागी, अतिथि तथा आयोजकलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएका थिए ।
