बढी बील असुल्न खोज्दा होटल सञ्चालकविरुद्ध अपहरणको मुद्दा, १२ वर्षपछि पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा–९ पृथ्वीचोकस्थित सन्तोष होटलका सञ्चालक ठाकुर विकविरुद्ध अपहरण तथा शरीर बन्धनको मुद्दामा २ वर्ष ८ महिना कैद सजाय तोकिएपछि फरार रहेका उनी १२ वर्षपछि प्रहरीको नियन्त्रणमा आएका छन्। आमाको क्रिया सकाएर कतार फर्किने क्रममा सादा पोशाकमा खटिएको प्रहरीले उनलाई पोखरा–१७ छोरेपाटनबाट नियन्त्रणमा लिएको हो ।

विवादको सुरुवात

२०६९ जेठ १८ गते रामबाबु प्रसाद कलवार नामक ग्राहक होटलमा बास बसेर खाना–खाजा खाएका थिए। उनले होटलमै कार्यरत १६ वर्षीया सुनिता विकसँग रात बिताएका थिए। भोलिपल्ट खर्च तिर्ने क्रममा ठाकुर विक र रामबाबुबीच विवाद भयो। ठाकुरले बढी बील तिर्न दबाब दिएपछि रामबाबुले १५ सय नगद, मोबाइल र मोटरसाइकल होटलमै छाडेर पछि आउने सर्तमा निस्किए।

तर, रामबाबु प्रहरी लिएर पुनः होटलमा फर्किए। उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदै आफू र सुनितालाई अपहरण तथा शरीर बन्धनमा राखिएको आरोप लगाए। सुनिता त्यसपछि फरार रहिन्।

अदालती प्रक्रिया र सजाय

१२ असारमा प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो। अदालतले ठाकुरलाई पूर्पक्षका लागि कारागार पठायो। आठ महिनापछि उनी धरौटीमा छुटे। जिल्ला अदालतको फैसलाविरुद्ध रामबाबुले पुनरावेदन अदालतमा पुनरावलोकन गरे। उच्च अदालत पोखराले २०७० चैत १८ गते ठाकुरलाई दोषी ठहर गर्दै २ वर्ष ९ महिना ५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। त्यसपछि ठाकुर फरार भए।

१२ वर्षपछि पक्राउ

कतारमा वैदेशिक रोजगारमा रहेका ठाकुर आमाको स्वास्थ्य गम्भीर भएपछि नेपाल आएका थिए। आमाको निधनपछि क्रियामा बसेका ठाकुर भदौ १० गते कतार फर्किन लाग्दा स्याङ्जा प्रहरीले उनलाई छोरेपाटनस्थित घरबाटै नियन्त्रणमा लियो।

जिल्ला प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेका अनुसार, “हामीले लामो समयदेखि खोजी गरिरहेका थियौं। झोला कसेर हिँड्ने बेलामा घरबाटै पक्राउ गर्‍यौं।”

प्रहरीको विशेष अभियान

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान सञ्चालन गरिरहेको छ। प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार, “अदालती फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताका लागि अभियान चलाएका हौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *