गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयको भौतिक प्रगति ७९ प्रतिशत भएको छ । विहीवार पोखरामा आयोजना गरिएको वार्षिक समिक्षा कार्यक्रममा ७९.५ प्रतिशत प्रगति भएको बताइएको थियो ।
यो चार वर्ष यताकै उच्च प्रगति हो । आर्थिक वर्ष २०८१-८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिएको थियो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत रहेको छ ।
कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असारे विकास नभई भुक्तानीमात्र हुने गरेको बताए । ‘हामी आफैं क्लिियर हुन जरुरी छ, समग्र वर्ष दिनको कामको भुक्तानी हुने हुँदा असारमा बजेट गएकोलाई असारे विकास भन्नु भएन’ उनले भने । मुख्यमन्त्री पाण्डेले असार १५ देखि २० गतेभित्र कामको अन्तिम भुक्तानी दिने वातावारण बनाउने गरी काम गर्न निर्देशन दिए । यसपालि बहुवर्षीय योजनामा ७० प्रतिशत पुग्ने गरी रकम छुट्याइएको उल्लेख्य प्रगति हाँसिल हुने उनको भनाइ छ ।
आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले आन्तरिक आम्दानी बढाउन राइड सेयारिङ सहयोगी हुने अपेक्षा गरे ।
भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष लक्ष्य नजिक पुगेको जनाउँदै आगामी वर्ष मन्त्रालयको प्रगति अझ बढ्ने उल्लेख गरे । यसपालिको प्रगति सन्तोषजनक रहेको बताउदै उनले थोरै खर्च हुने प्रवृत्तिलाई निरुत्साहित गर्न चालु आवबाटै स्पष्ट कार्ययोजना बनाउने बताए ।
गण्डकी प्रदेश सरकारको करिब आधा बजेट भौतिक पूर्वाधार मन्त्रालयमा छ । पहिलो चौमासिकमै २० लाखभन्दा माथिका योजनालाई ठेक्का प्रक्रियामा लैजान मन्त्रालयले लिखित निर्देशन दिएको थियो । कार्यालयमा प्राविधिक कर्मचारीको अभाव रहेकोमा यो वर्ष करारमा भर्ना गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
यातायात व्यवस्था कार्यालय कास्की सवारी चालक अनुमतिपत्रमा मन्त्रालयबाट ७ कर्मचारी काजमा खटाइएको र २२ जनाको अस्थायी दरबन्दी स्वीकृतिका लागि निर्णय भइसकेको उनको भनाइ छ । यही वर्ष सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को समस्या समधान हुने मन्त्री केसीले विश्वास दिलाए ।
‘सवारी चालक अनुमतिपत्र छपाई गर्न बजेट विनियोजन भई प्रक्रिया सुरु भइसकेकाले लाईसन्स छपाइको समस्यासमेत चाँडै समाधान हुने देखिन्छ’ उनले भने । राइड सेयरिङसम्बन्धी नियमावली २०८२ तयार भई सकेको जनाउँदे उनले चाँडै त्यो कार्यान्वयनमा जाने प्रष्ट पारे ।
‘यसमा यातायात व्यवसायीका केही असहमति छन्, त्यसलाई समाधान गर्न हामी निरन्तर वार्तामा छौं’ उनले भने, ‘नियमावली सौहार्दपूर्ण एवं सहज वातावरणमा अविलम्व कार्यान्वयन हुने कुरामा म विश्वस्त छु ।’ भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारीले यो वर्ष यातायात र पूर्वाधार कार्यालय नवलपुरमा निर्माण गरिने बताए ।