नेपाल प्रहरीले लागूऔषधसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो २ बजेको समयमा पोखरा महानगरपालिका–८ इन्द्रपुरीमार्गमा लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
सूचना पाएलगत्तै लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले स्थानीय ४६ वर्षिय रमेश थापाको घर घानतलासी गरेको थियो । सोही क्रममा प्रहरीले लागूऔषध ब्रुुफिनुर्फिन १६१ एम्पुल, डाईजापाम १३५ एम्पुल, फेनेरागन १६४ एम्पुल गरी ४६० एम्पुल र ४ केजी एकसय ग्राम गाँजा, एउटा डिजिटल तराजु साथै एउटा मोवाइल फोन बरामद गरेको थियो ।
पक्राउ परेका थापालाई जिल्ला अदालत कास्कीमा आज लागूऔषध सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
