वालिङ नगरपालिकाले स्थानीयस्तरमा तरकारी उत्पादन बढाउन र किसानलाई उत्साहित बनाउन तरकारी खेती गर्ने किसानलाई केजीको आधारमा नगद प्रोत्साहन अनुदान प्रदान गरेको छ ।
नगरपालिकाको ‘उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम’ अन्तर्गत तरकारी उत्पादन गर्ने किसानलाई प्रतिकिलो ५ रुपैयाँका दरले अनुदान वितरण गरिएको नगरउपप्रमुख कविता तिवारी गैरेले बताइन् ।
कृषि क्षेत्रमा वालिङलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउँदै तिवारी भन्छिन, ‘किसानलाई प्रोत्साहन गर्न विना ब्याज बीउ पूँजी लगानी, प्रोत्साहन अनुदान लगायतका कार्यक्रम संचालन गरेका छौँ । किसानले ढुक्कसँग उत्पादन गर्नुहोस् बजारको ग्यारेण्टी स्थानीय सरकारले गर्छ ।’
गत आवमा स्थानीय किसानले उत्पादन गरेको तरकारीको बिक्री तथ्यांकको आधारमा प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो । अनुदानले उत्पादनमा हौसला मिल्नुका साथै बजारको सुनिश्चिततामा पनि सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।
जिल्लाको अग्रणी तरकारी संकलन तथा बजारीकरण गर्दै आएको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामार्फत १२७ जना किसानलाई ५ रुपैयाँका दरले ६ लाख ६८ हजार रुपैयाँ अनुदान वितरण गरिएको सुवेदीले जानकारी दिए ।
यस्तै न्युनतम २ रोपनी क्षेत्रफलमा एकै प्रकारको तरकारी लगाएका किसानलाई प्रतिरोपनी कुल उत्पादन लागतको २० प्रतिशतसम्म प्रोत्साहन अनुदान प्रदान गरिएको छ ।
वालिङ नगरपालिकामा यो कार्यक्रम लागू भएसँगै वालिङ नगरभित्र व्यवसायीक तरकारी तथा फलफूल खेती गर्ने उद्यमीहरुको संख्या पनि बढेको छ । ६ महिनामा मात्र १ लाख ३३ हजार ७ सय ७७ केजी तरकारी त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामा संकलन भएको छ ।
४० वर्ष यता कै ठूलो परिमाणमा तरकारी आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए । वालिङ नगरपालिकाको प्रोत्साहन अनुदान कार्यक्रमबापत सहकारीले ६ लाख ६८ हजार ८ सय ८५ रुपैयाँ प्राप्त गरेको अर्यालको भनाई छ । यस कार्यक्रमबाट वालिङ क्षेत्रका दर्जनौं तरकारी किसान लाभान्वित भएका छन् ।
