कक्षा १–३ मा अध्यापन गराउने शिक्षकलाई एकिकृत पाठ्यक्रम तालिम संचालन गरिएको छ । रुम टुरिडको प्राविधिक सहयोगमा स्याङ्जाको वालिङ नगरपालिकाले एकिकृत पाठ्यक्रम सम्बन्धी दश दिने कष्टमाइज्ड तालिम संचालन गरेको हो ।
शिक्षामा गुणात्मक सुधार ल्याउने उद्धेश्यले संचालन गरिएको तालिममा नगरभित्र रहेका ६१ वटा सामुदायिक विद्यालयका कक्षा १–३ मा अध्यापन गराउने शिक्षकको सहभागीता रहेको थियो । असार ५ देखि दुई चरणमा तालिम आयोजना गरिएको हो ।
नगर उपप्रमुख कविता तिवारी गैह्रेले नगरपालिकाले शैक्षिक सुधारको लागि नयाँ कार्यक्रम थप गर्ने योजना अघि सारेको बताइन् । पोसाकमा एकरुपता ल्याउन सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गर्ने, प्रत्येक विद्यालयमा योग अभ्यास संचालन गर्ने र सामुदायिक विद्यालयमा संस्थागत जस्तै शैक्षिक गतिविधी संचालन गर्ने तिवारीले सुनाइन् ।
रुम टुरिड कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै उपप्रमुख तिवारीले आगामी दिनमा कक्षा १–३ का विद्यार्थीले नेपाली मात्र नभई अंग्रेजी विषय पनि स्पष्ट र शुद्ध पढ्ने बानीको विकास गराउने योजना सुनाइन् ।
रुम टुरिडले गतवर्ष वालिङ नगरभित्रको २० सामुदायिक विद्यालयमा कार्यक्रम संचालन गरेको थियो । विद्यार्थीमा पढ्ने बानीको विकास र नेपाली उच्चारण शुद्ध भएको कारण यसवर्ष पनि थप २० विद्यालयमा रुम टुरिडको कार्यक्रम संचालन भएको हो ।
एकिकृत पाठ्यक्रम सम्बन्धी तालिममा रुम टुरिडको प्रविधिक सहयोगले शिक्षकलाई नयाँ शिक्षण विधि, विद्यार्थीको सक्रिय सहभागिता र पाठ्यक्रमको उद्धेश्य अनुसारको सिकाई रणनीति विकासमा सहयोग पुर्याउने शिक्षा अधिकृत दुर्गा न्यौपानेले बताइन् ।
