सकियो फेवातालमा पोल गाड्ने काम

Share this post :

Facebook
Twitter
WhatsApp

पर्यटकी राजधानी पोखरामा रहेको मुख्य गन्तव्यस्थल हो फेवाताल । फेवातालको सीमांकनपछि सुरु भएको पोल गाड्ने काम सम्पन्न भएको छ ।
सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमास्तम्भ गाड्न सुरु गरिएको थियो ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले फेवाको तालघरमा एक हजार ५५ वटा पिल्लर गाडिएको बताए । यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप-समितिले फेवाताल किनारमा एक हजार ५५ वटा पोल गाड्न सीमांकन गरेको थियो ।
प्रमुख आचार्यले प्राविधिकले सीमांकन गरेको स्थानमा पोल गाड्ने काम सकिएसँगै अब दोस्रो चरणमा तालघर क्षेत्रमा परेका तथा तालको ६५ मिटर क्षेत्रभित्रका कित्ताको वर्गीकरणको काम सुरु गरिने बताए ।
दोस्रो चरणमा जगाको कित्ता वर्गीकरण गरेर कुन मुआब्जा पाउने र कुन कित्ता बदर हुने निक्योल गर्ने उनले बताए ।
प्राविधिक टोलीले रेखांकन गरेका स्थानमध्ये सम्भव भएका ठाउँमा पोल गाडिएको तथा भिरालो भू–भागमा आवश्यक चिह्न दिइएको छ ।
पछिल्लो अध्ययनअनुसार फेवातालको क्षेत्रफल छ दशमलव ३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी तीन पैसा तीन दाम) कायम भएको छ । यसअघि फेवा तालको सीमांकनका लागि अत्याधुनिक डिजिपिएस प्रविधि र ड्रोन सर्भेको प्रयोग गरिएको थियो ।
सर्वोच्च अदालतले २०८० असार ४ गते फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना हटाउन नेपाल सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकाका नाममा उत्प्रेषण परमादेश जारी गरेको थियो । बर्खायामको उच्चतम पानीको विन्दुदेखि ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन आदेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *