दारे ढुँगा, खाल्डाखुल्डी, धुँलो र हिलोको सास्ती हटाउन ग्राभेल विच्छ्याइयो
पर्यटकीय दृष्टीकोणले पनि स्याङ्जाको भालुपहाड उत्कृष्ट गन्तव्यको रुपमा चिनिन्छ । सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्ड अन्तर्गत पर्ने भालुपहाड आन्तरिक तथा बाह्य पर्यटकको रोजाई हो । भालुपहाड पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको सीमानामा पर्दछ ।
राजमार्ग हुँदै ओहोरदोहोर गर्ने यात्रु यहाँ झरेर मनोरम आनन्दका साथ यात्रा तय गर्छन् । पर्यटकीय मात्र नभई व्यापारीक दृष्टिकोणले पनि गन्तव्यकोरुपमा रहेको यो राजमार्ग साँघुरो, अत्याधिक घुम्ती र खाल्डाखुल्डीकै कारण बढी जोखिम बनेको हो ।
जोखिमलाई मध्यनजर गर्दै सडक डिभिजन कार्यालय पोखराले केही वर्षअघि साँधुरो सडक केही मात्रामा चक्लाउन थाल्यो । तर, मर्मत नहुँदा यहाँ ओहोरदोहोर गर्ने यात्रुले दिनहुँ सास्ती भोग्नुपरेको छ । धारिला ढुँगा, ठूला खाल्डाखुल्डी, माथिबाट ढिस्को खस्ने र चिप्लिएर तल सेतीखोलामा पुग्ने डर, पानी पर्दा हिलो र घाम लाग्दाको धुँलो दैनिक यात्रुले भोग्नुपर्ने बाध्यता हो ।
आँधीखोला गाउँपालिका–३ विचारीचौताराका विष्णुप्रसाद पौडेल भन्छन, ‘जोखिम सडककै कारण भालुपहाडमा दुर्घटना हुने हो । यसतर्फ राज्यको ध्यान कहिल्यै पुगेन् । सडक जाम हुँदा खुल्नको लागि ४÷५ घण्टा कुर्नपर्ने हाम्रो बाध्यता छ । यात्रुको समस्या कसलाई गएर सुनाऔ ?’ उनले सिद्धार्थ राजमार्ग मर्मत तथा निर्माणको नाममा जहिलै राजनीतिक गर्ने नेताले पनि जनताको दुःख नदेखेकोप्रति गुनासो पोखे ।
जिल्ला प्रशासन कार्यालयले पनि जोखिमयुक्त सडक मर्मत तथा सम्भारको लागि सम्बन्धित निकायसंग सहकार्य र समन्वय नगरेकोप्रति स्थानीयको उस्तै आक्रोश छ । ‘जिल्लामा शान्ति सुरक्षा दिलाउने जिम्मा प्रशासनको होइन’ पौडेल भन्छन, ‘घटना भए विज्ञप्ती निकाल्नेबाहेक प्रशासनको केही भूमिका देखिएन् ।’
पाँच वर्षअघि सडक डिभिजन कार्यालय पोखराले ८८ लाख २७ हजार खर्च गरेर ३ सय ५६.१५ मिटर कालोपत्रे र ८५ वटा बार जडान गरेको थियो । निर्माण कार्यको जिम्मा जेएलसी बिल्डर्सले लिएको थियो । निर्माण कार्य ढिलासुस्ती त्यसैमाथि गुणस्तरहिन भएपछि बीचमा अधुरै छोडियो । प्रत्यक्ष निगरानी गर्दै आएका सडक डिभिजन कार्यालय पोखराका प्राविधिक धु्रव पोखरेल भन्छन, ‘ठेकेदार कम्पनीले अदालतमा मुद्दा हालेको छ । अदालतमा विचाराधीन मुद्दा रहेकाले हामीले बीचमै ठेक्का तान्न पनि मिलेन । अर्को ठेक्का लगाएर निर्माण कार्यलाई निरन्तरता दिन पनि सकेका छैनौ ।’
भौगोलिकरुपमा पनि यहाँ निर्माणका लागि केही अप्ठ्याराहरु रहेको कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत जोखिम रहेका अन्य स्थानमा विवाद नरहेकोले मर्मतको काम धमाधम भइरहेको उनले बताए । ‘एक वर्षमा एकपटक भए पनि मर्मत हुुनुपर्छ’ उनले थपे, ‘भालुपहाडस्थित लामोसमय मर्मत नभएकाले समस्या बढ्दै गएको हो ।’
इन्जिनियर पोखरेलले विहीवार र शुक्रबार ग्राभेल राखिएको बताए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानले राजमार्गको जोखिम बढेपछि सडक डिभिजनसंग सहकार्य गरेर आँधीखोलाबाट १० टिक ग्राभेल ल्याइएको बताए । खाल्डा पुर्ने वाहानामा रातो माटो विच्छाउदा झन् जोखिम बढेपछि ग्राभेल राख्न पहल गरिएको उनले बताए ।
रातो माटो प्रयोग : इन्जिनियरिङ मापदण्ड कि अस्थायी उपाय ?
भालुपहाड मात्र होइन, सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा सडकखण्डमा भएका खाल्डाखुल्डी मर्मत रातो माटोले गरिन्छ । सानादेखि ठूला खाल्डा पुर्ने रातो माटोले हो । जसका कारण पानी पर्दा हिलो र घाम लाग्दा अत्ति धुँलो हुन्छ । पैदलयात्रुलाई हिँडडुलको लागि उस्तै सास्ती ।
सडक मर्मतका लागि प्रयोग हुने रातो माटो इन्जिनियरिङ मापदण्डअनुसार छैन् । सडक डिभिजन कार्यालयले केही समय सहजताको लागि रातो माटो प्रयोग गरिएको बतायो । स्रोतका अनुसार स्थानीयको गुनासो आएपछि छिटोछरितोको लागि माटो राखेर उम्काइन्छ । जसले तत्काल समस्या समाधान गर्छ । प्राविधिक विज्ञका अनुसार रातो माटो सस्तो र अस्थायी उपाय मात्र हो, जसले दीर्घकालीन समाधान दिन सक्दैन् ।
‘बर्खायाममा भिजेपछि रातो माटो छरपस्ट भएर सडक झन् जोखिमपूर्ण बन्छ’ ती व्यक्तिले भने, ‘प्राविधिक मापदण्डअनुसार मर्मत गर्न ग्राभेल, क्रस्ड स्टोन र बिटुमिनस मिश्रण प्रयोग गर्नुपर्छ । तर, त्यो गरिदिैन् ।’ उनले सम्बन्धित निकायकै लापारबाही रहेको सुनाए । गुणस्तरीय सामग्रीको प्रयोग नगरी, यस्ता अस्थायी उपायले सडकको स्थायित्वमा असर पार्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाउने गरेको छ । त्यसैले सम्बन्धित निकायले मापदण्डअनुसार प्रभावकारी मर्मत नगर्दासम्म यात्रुको सुरक्षा सुनिश्चित गर्न गाह्रो हुने उनले बताए ।
भालुपहाडमा सडक दुर्घटना : २ को ज्यान गयो
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्यांक अनुसार भालुपहाडमा २०८० वैशाखदेखि अहिलेसम्म ९ वटा सडक दुर्घटना भएका छन् । यी घटनामा यात्रु तथा सवारी चालक घाइते भए । ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ । यसैगरी विगतका वर्षमा तीन वटा मोटरसाइकल भीरबाट तल खसेका छन् भने दुई जनाले ज्यान गुमाएका छन् । विगतका वर्षहरुमा भालुपहाडबाट जीप तथा मोटरसाइकल तल सेती नदीमाथि खस्दा केही यात्रु घाइते भएको तथ्यांक पनि प्रहरीसंग छ । प्रहरी भन्छ, ‘घटना धेरै भए तर एकिन पुरानो तथ्यांक अहिले भेटिदैन् ।’ #इकान्तिपुर…