एक आर्थिक वर्ष (२०८१-८२) मा स्याङ्जामा एक सय १८ जना अर्थात् २२.७३ प्रतिशत फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ परेका ती व्यक्तिबाट ४२ वर्ष १ महिना २९ दिन कैद भुक्तान हुन्छ भने, १ करोड ८७ लाख ९९ हजार ८ सय ८५ रुपैयाँ ४६ पैसा राजश्व (जरिवाना) संकलन हुने जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका अभियुक्तमध्ये सवैभन्दा धेरै पुरुष ९१ जना रहेका छन् भने महिला २७ जना छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ अभियानलाई तिव्रता दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ अभियानलाई तिव्रता दिएकाे छ । जिल्ला प्रहरीकाे तथ्यांकअनुसार पक्राउ परेमध्ये सबैभन्दा धेरै मुद्दा चेक अनादरका २२ जना छन् । यसैगरी अभद्र व्यवहारमा २० जना रहेका छन् भने, सम्बन्ध विच्छेदका मुद्दामा १५ जना अभियुक्त पक्राउ परेकाे एसपी न्याैपानेले जानकारी दिए ।
यस्तै, बैंकिङ कसुर मुद्दाका ९ अभियुक्त पक्राउ परेका छन् भने, अंश मुद्दा र करकापमा १/१, कर्तव्य ज्यानमा ३, काठ ओसारपसार र कुटपिटमा १/१, गाैबध र केही सार्वजनिक अपराधमा १/१, गाली बेइज्जतीमा २, चाेरी ३, जवरजस्ती करणी उद्योगमा १, जवरजस्ती चाेरी, जवरजस्ती करणी, जारी, वुवा, ज्यान सम्बन्धि, दुनियाँवादी फाैजदारी, नाता कायम, बालबालिकाविरूद्व, मानाचामल, लेनदन र बालयाैन दुरुपयोग मुद्दामा १/१ जना पक्राउ परेका छन् ।
यसैगरी, जालसाजीमा ५ जना रहेका छन् भने, लागूऔषध २, सवारी ज्यान ४, सार्वजनिक अपराध ५ र हातहतियार खरखजना मुद्वामा २ गरि एक सय १८ जना पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
जिल्ला अदालत स्याङ्जाबाट विभिन्न शिर्षकमा विभिन्न मितिमा भएका मुद्दा फैसलापश्चात् फरार रहेका अभियुक्तलाई प्रहरीले सादा पाेषाकमा विशेष टाेली खटाएर धमाधम पक्राउ गरेकाे हाे ।
फैसला मुद्दा कार्यान्वयनलाई चुस्त, दूरुस्त र प्रभावकारी बनाउने, न्यायीक कारबाहीलाई पूर्णता दिने, सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने अभियानस्वरुप जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न सफल भएको छ । ‘उक्त अभियानलाई सफल बनाउने उदेश्यले जिल्ला प्रहरी र मातहतका कार्यालयबाट सादा पोषाकमा प्रहरीको विशेष टोली खट्टाइएको छ’ एसपी न्याैपाने भन्छन्, ‘अपराधी जाेसुकै हाेस कानुनी दायरामा ल्याउनुपर्छ भनेर हामीले अभियान चलाएका हाै ।’ अदालतबाट मुद्दा फैसला भएपछि पनि पीडितलाई झन् पीडा दिने गरि समाजमा खुल्मखुल्ला हिडेका अभियुक्तलाई सजाय दिनेगरी प्रहरीले विशेष अभियान चलाउनुपरेकाे उनले बताए ।