गण्डकी प्रदेशमा प्रशासनिक पुनर्संरचना : ७ निर्देशनालय र २ कार्यालय खारेज, १ सय ८५ पद कटौती

Share this post :

Facebook
Twitter
WhatsApp

३२ कार्यालयलाई गाभेर १७ मा झारिएको छ भने वार्षिक ४०-५० करोड रुपैयाँ खर्च घट्ने अनुमान छ ।

गण्डकी प्रदेश सरकारले प्रशासनिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्दै, ७ वटा निर्देशनालय, ९ वटा कार्यालय खारेज गरेकाे छ । यस्तै, ३२ कार्यालयलाई गाभेर १७ मा सीमित र १ सय ८५ पद कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयबारे जानकारी दिदै प्रदेश सरकारको वार्षिक तलब भारमा ४० देखि ५० करोड रुपैयाँ बचत हुने बताए । ‘प्रदेश संरचना महँगो भयो र राज्यको खर्च बढायो भन्ने आम जनगुनासो सामना गर्दै प्रशासनिक खर्च कटौती गर्ने नै हाम्रो मूल उद्देश्य हो’ उनले भने ।

संघीय सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित ‘प्रदेश प्रशासनिक संरचना पुनरावलोकन, अध्ययन तथा सुझाव समिति’ को प्रतिवेदनका आधारमा पहिलो चरणको कार्यान्वयनमा गरिएकाे हो । समितिले जेठ २३ मा बुझाएको प्रतिवेदनलाई आधार मान्दै प्रदेशका प्रमुख सचिव खगेन्द्र सुवेदीको संयोजकत्वमा अर्को समिति गठन भएको थियो । समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

पर्यटन, उद्योग, कृषि, पूर्वाधार, शिक्षा र स्वास्थ्यसम्बन्धी ७ निर्देशनालय र दुई प्रादेशिक केन्द्र खारेज गरिएको छ । खारेज गरिएकामध्ये पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पर्छन् ।

निर्देशनालय र आपूर्ति केन्द्रकाे काम सम्बन्धित मन्त्रालयका शाखा वा महाशाखाले निर्वाह गर्नेछन् । मुख्यमन्त्री पाण्डेले संरचनामा सुधार गरे पनि सेवा प्रवाहमा कुनै असर नपर्ने बताए । प्रदेशभरका उद्योग–पर्यटन कार्यालय र सामाजिक विकास कार्यालयलाई गाभेर प्रत्येकलाई ११ बाट ६ मा घटाइएको छ । केही कार्यालयले दुई–दुई जिल्ला सम्हाल्ने मोडल लागू गरिएको छ ।

बाली संरक्षण प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला र प्रदेश बीउ विजन तथा गुणस्तर नियन्त्रण केन्द्रलाई एकीकृत प्रयोगशालामा परिणत गरिएको छ । मनाङ र मुस्ताङका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालहरूलाई पनि एकीकरण गरिएको छ ।

दुई-दुई जिल्लाका पर्यटन र उद्योग कार्यालय गाभिएको छ । म्याग्दी र मुस्ताङका पर्यटन तथा उद्योग कार्यालयलाई गाभेर म्याग्दीमा कार्यालय राख्ने निर्णय भएको छ । बागलुङ र पर्वतलाई गाभेर पर्वत, स्याङ्जा र कास्कीलाई गाभेर कास्की, तनहुँ र गोरखालाई गाभेर गोरखा र लमजुङ र मनाङलाई गाभेर लमजुङमा कार्यालय रहनेछन् । पूर्वी नवलपरासीको भने यथावत् राखिएको छ ।

सामाजिक विकास कार्यालयमा पनि यस्तै एकीकरण भएको छ । म्याग्दी र मुस्ताङको म्याग्दी, बागलुङ र पर्वतको बागलुङ, स्याङ्जा र कास्कीको स्याङ्जा, तनहुँ र गोरखाको तनहुँ, लमजुङ र मनाङको लमजुङमा कार्यालय राखिनेछन् । पूर्वी नवलपरासीको यथावत रहने छ ।

प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरालाई प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गाभेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा क्षयरोग नियन्त्रण केन्द्र, पोखरामा परिणत गर्ने निर्णय भएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय, पूर्वी नवलपरासीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासीमा गाभिएको छ ।

यसैगरी, १ सय ८५ पद कटौती गरिएको छ । श्रेणीगत रूपमा हेर्दा अधिकृत स्तरको ४१ पद, सहायक स्तरको ९६ पद र अन्य श्रेणीको ४८ पद कटौती गरिएको छ । सबैभन्दा बढी पद कटौती स्वास्थ्य मन्त्रालयको ५७ पद भएको छ । यसपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको २५ पद, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको २४ पद कटौती भएको छ ।

स्वास्थ्य मन्त्रालयमा उपसचिव १ पद, शाखा अधिकृत ३ पद, लेखा अधिकृत ३ पद, नर्सिङ अधिकृत ७ पद, कम्प्युटर अपरेटर २ पद, लेखा सहायक ८ पदलगायत विभिन्न श्रेणीका पद कटौती भएको छ । यसबाट वार्षिक तलब भार करिब ४०-५० करोड रुपैयाँ घट्ने अनुमान छ ।

वन तथा वातावरण मन्त्रालयमा २२ पद कटौती भएको छ । यसमा वन रक्षकका २१ पद र लेखा अधिकृत, अधिकृत, वाली विकास अधिकृतका पद समावेश छ । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा १४ पद, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा १४ पद कटौती भएको छ ।

गण्डकी प्रदेशसभा सचिवालयमा १४ पदमध्ये कम्प्युटर अपरेटर, अर्थशास्त्री, समाजशास्त्री, प्रशासन सहायकका पद कटौती भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १३ पद कटौती भएको छ ।

कार्यालय खारेजी र कर्मचारी कटौतीसँगै कर्मचारीको वृत्ति विकासमा असर पुग्ने चिन्ता व्यक्त गरिएको छ । मुख्यमन्त्री पाण्डेले यो निर्णयबाट कोही पनि स्थायी कर्मचारीको जागिरमा असर नपर्ने र उनीहरुको वृत्ति विकास रोकिने कुनै समस्या नआउने बताए । यससँगै कार्यालय सञ्चालन खर्च, पेन्सन, उपचार खर्च र बिदा भत्तामा पनि दीर्घकालीन बचत हुने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले ‘कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८२’ पनि ल्याएको छ । यो मापदण्डअनुसार कार्यालय र भूगोललाई चार वर्गमा विभाजन गरिएको छ र एउटै वर्गमा दोहोरिनुअघि अन्य वर्गमा काम गर्नुपर्ने व्यवस्था छ । यसको उद्देश्य राजनीतिक पहुँच वा पक्षपातका आधारमा हुने सरुवा रोक्ने र २ वर्ष एकै कार्यालयमा काम गरेपछि मात्र सरुवा हुने परम्परा कायम गर्नु रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । उनले भने, ‘यो मापदण्डले योग्यताअनुसार सरुवा सुनिश्चित गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्नेछ ।’

पुनर्संरचना तीन चरणमा लागू हुनेछ । पहिलो चरणमा तत्काल खारेज/गाभ्ने संरचना र १ सय ८५ पद कटौती, दोस्रो चरणमा संगठन संरचना पुनरावलोकनपछि थप सुधार र तेस्रो चरणमा सेवा प्रभाव मूल्यांकनपछि अन्तिम समायोजन गरिनेछ ।

यस निर्णयअघि प्रदेश सरकारले कर्मचारी संघ-संगठनसँग वार्ता गरेको थियो । प्रमुख सचिवको नेतृत्वमा बनेको समितिको सिफारिसका आधारमा यो निर्णय गरिएको मुख्यमन्त्रीले जनाए । ‘सात वर्ष पहिला हामीले जे संरचना निर्माण गर्‍यौं, प्रदेश बन्दै गर्दा त्यतिखेरको अवस्था संघीयता लागु भएको अवस्था थियो,’ उनले भने, ‘अहिले सात वर्षको अनुभवमा आइपुग्दा कतिपय संरचनाहरूको खासै औचित्यता प्रमाणित हुन नसकेको अवस्था छ ।’

कहाँ कति पद कटौती ?

  • गण्डकी प्रदेशसभा सचिवालय : १४ पद

– कम्प्युटर अपरेटर/इन्जिनियरः १ पद

गण्डकी प्रदेश नीति तथा याेजना आयाेग :

– अर्थशास्त्रीः १ पद

– समाजशास्त्रीः १ पद

– प्रशासन सहायकः १ पद

– अन्यः १० पद

  • उद्योग तथा पर्यटन मन्त्रालय : ९ पद

– अधिकृतः १ पद

– सहायक/अधिकृतः ४ पद

– इ.स.जा: १ पद

– का.स: २ पद

– अन्यः १ पद

  • ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयः १४ पद

– अधिकृतः १ पद

– कानुन अधिकृतः १ पद

– इन्जिनियरहरूः ५ पद

– सहायक/अधिकृतहरूः २ पद

– अन्यः ५ पद

  • भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयः १४ पद

– अधिकृतः १ पद

– वातावरण निरीक्षकः १ पद

– लेखा सहायक/अधिकृतः १ पद

– सहायक/अधिकृतः १ पद

– प्रशासन सहायकः १ पद

– लेखा सहायकः २ पद

– अन्यः ७ पद

  • वन तथा वातावरण मन्त्रालयः २२ पद

– लेखा अधिकृतः १ पद

– अधिकृतः १ पद

– वाली विकास अधिकृतः ३ पद

– सहायक/अधिकृतः २ पद

– लेखा सहायक/अधिकृतः १ पद

– अपरेटरः १ पद

– वन रक्षकः २१ पद

– फरेस्ट गार्डः १ पद

– हेल्परः १ पद

  • सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयः २४ पद

– उपसचिवः १ पद

– अधिकृतहरूः ३ पद

– सहायक/अधिकृतहरूः ३ पद

– कम्प्युटर अपरेटर/अधिकृतः १ पद

– सहायकहरूः १० पद

– का.स: २ पद

– ह.स.चा: ३ पद

  • स्वास्थ्य मन्त्रालयः ५७ पद

– उपसचिवः १ पद

– शाखा अधिकृतः ३ पद

– लेखा अधिकृतः ३ पद

– नर्सिङ अधिकृतः ७ पद

– कम्प्युटर अपरेटरः २ पद

– लेखा सहायकः ८ पद

– प्रशासन सहायकः ४ पद

– मेडिकल रेकर्ड सुपरभाइजरः २ पद

– हाउस किपिङ सुपरभाइजरः २ पद

– नर्सिङ सहायकः ३ पद

– डाक्टर रुम सहायकः ३ पद

– लेखा सहायकः ४ पद

– का.स: ११ पद

– प्रशासन सहायकः ४ पद

  • कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयः २५ पद

– कम्प्युटर इन्जिनियरः १ पद

– प्रशासकीय अधिकृतः २ पद

– सब–इन्जिनियरः १ पद

– सहायक/अधिकृतः २ पद

– कम्प्युटर सहायक/अधिकृतः २ पद

– सहायकः ६ पद

– लेखा सहायकः ५ पद

– ह.स.चा: २ पद

– अन्यः ४ पद

  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयः १३ पद

– सचिवः १ पद

– उपसचिवः १ पद

– प्रशासकीय अधिकृतः २ पद

– सहायक/अधिकृतः ३ पद

– ह.स.चा: ३ पद

– कार्यालय सहयोगीः ३ पद

कुल कटौतीः १८५ पद

Leave a Reply

Your email address will not be published. Required fields are marked *