गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन् ।
संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आयोजना गरेको संविधान दिवस मुल समारोह कार्यक्रममा उनले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
यो यात्रामा गण्डकी प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहबीच समन्वय गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनर्निर्माण र जनतासँग सीधा सम्बन्धित सेवाको विस्तारमा निरन्तर अघि बढ्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाएका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता हो । संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको उनले बताए । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक छ ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीको सम्बोधन जस्ताको तस्तै :-
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मुलुकको अग्रगामी परिर्वतनका लागि विभिन्न समयमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात महान शहीदहरुप्रति संविधान दिवसको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिहरु, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका व्यक्तिहरुप्रति उच्च सम्मानसहित स्मरण गर्दछु ।
संघर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला हो । जसले समान अधिकार, सामाजिक न्याय र समावेशी राज्यको परिकल्पना गरेको छ । नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको छ । वर्तमान संविधानले निरङ्कुश र केन्द्रिकृत राज्य व्यवस्थाद्धारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।
भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा भएका आन्दोलनले हाम्रो समाजमा नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई प्रष्ट पारेका छन् । यस क्रममा सहादत प्राप्त गर्नुभएका युवापुस्ता र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू लगायत राजनीतिक दलका नेता एवं अन्य घाइतेहरु सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । न्यायपूर्ण छानबिन, दोषीमाथि कारबाही र पीडितहरूको न्याय सुनिश्चित गर्ने दिशामा आवश्यक पहल गर्न प्रदेश सरकारको तर्फबाट संम्बन्धित सबैसँग अनुरोध गर्दछु ।
जेनजी पुस्ताले उठाएका विषयहरू सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति यी हाम्रो साझा लक्ष्य हुन् र सामुहिक जिम्मेवारी पनि हो ।
तथापी पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरि प्राप्त उपलब्धि माथि प्रहार गर्ने, पूर्वाधार बिकासलाई ध्वंश पार्ने र नकारात्मक सोचलाई स्थापित गर्ने गरि गलत भाष्य निर्माण गरिएको छ । यस तर्फ सचेत रहँदै सकारात्मक सोच राखेर थप उपलब्धि हाँसिल गर्ने दिशामा अघि बढ्न विषेशत युवा पुस्तालाई म अनुरोध गर्दछु ।
हामी सुशासन र पारदर्शितामा दृढ छौँ । गण्डकी प्रदेश सरकारले राईड शेयरिङ मार्फत युवाहरुलाई रोजगारी सिर्जना गर्ने, चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापन मार्फत शुसासन कायम गर्दै मितव्ययी शासन प्रणालीलाई अंगिकार गर्दै आएको सर्वविदितै छ । हामीले सुरु गरेका यी पहलहरू केवल प्रशासन सुधारको लागि मात्र होइन, युवा पुस्ताको आशा र विश्वास पूरा गर्न, प्रदेशको समुन्नतीकालागि पनि अत्यावश्यक छ ।
यस्ता सुधारका कामलाई अझै प्रभावकारी बनाउँदै जनताप्रति उत्तरदायी ढङ्गले अघि बढ्ने हाम्रो प्रतिबद्धता हिजो पनि थियो र आज पनि स्पष्ट छ । यसका लागि सबैभन्दा ठूलो शक्ति जनताको सहयोग र सहभागिता अपरिहार्य रहन्छ ।
लोकतन्त्रमा नागरिकको आवाज र अधिकारको सम्मान गर्नुपर्ने दायित्व सरकारको रहन्छ । सरकारलाई झकझक्याउने, दवाव दिने माग पुरा गराउन संवैधानीक उपायहरु अबलम्बन गर्ने कार्य स्वागतयोग्य नै छन् । तर सार्वजनीक तथा निजी सम्पत्ती माथिको तोडफोड, आगजनी, लुटपाटलाई नियन्त्रण गर्दै नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूती दिलाउनु पनि सरकारको कर्तव्य हो । यस कार्यमा नागरिक सहयोग पहिलो आवश्यकता हो ।
संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ । त्यसैले हामी सबैले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । यो यात्रामा गण्डकी प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहबीच समन्वय गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनर्निर्माण र जनतासँग सीधा सम्बन्धित सेवाको विस्तारमा निरन्तर अघि बढ्नेछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता छ । संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल छ । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक छ ।
नागरिकको तिब्र बिकासको चाहना पुरा गर्न प्रदेश सरकारको सिमित साधन स्रोत बाट मात्र संभव छैन । यस्तो विषम परिस्थितीमा समेत नीति कार्यक्रम र बजेटलाई ब्यवस्थित बनाउँदै योजनाको सफल कार्यन्वयन गर्न गराउनमा प्रदेश सरकार प्रत्यत्नशिल रहँदै आएको छ ।
पछिल्लो राजनीति घटनाक्रम र यसबाट उत्पन्न परिस्थतीपछि प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालयहरुबाट तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न गराउनमा प्रदेश सरकारले काम थालिसकेको छ । पुन निर्माणकालागि संघ सरकारले लिने नीति अनुसार समन्वय गर्दै हामी अघि बढ्नेछौँ ।
पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरि आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावरण धमिल्याएको छ । हजारौँ रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका करदाता ब्यवशायीमाथिको आक्रमणको छानबिन गरि दोषिलाई कानूनी दायरामा ल्याउनु जरुरी छ । निजी क्षेत्र सँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री बतावरण निर्माण गर्न गण्डकी प्रदेश सरकार शक्रिय रहनेछ । निजी लगानीमा भएको क्षति प्रति प्रदेश सरकार संवेदनशिल छ । यस विषम परिस्थितिमा निजी व्यवशायी साथीहरुले उच्च मनोवलका साथ अगाडी बढ्न म अनुरोध गर्दछु ।
संविधानले अधिकार दिएको मात्र छैन, कर्तव्यवोध पनि देखाएको छ । संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ भन्ने कुरा हामी सबैले आत्मसात् गर्नुपर्छ । संविधानको रक्षा र कार्यन्वयनकालागि म सबै राजनीतिक दल, राज्यका सबै निकाय, नागरिक समाज, युवापुस्ता सरोकारावाला सबैमा अनुरोध गर्दछु ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमका सन्र्दभमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको मर्म र भावना तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था माथि विचलन नआउने गरि निर्वाह गर्नुभएको अभिभावकत्वप्रति यस अवसरमा हार्दिक आभार प्रकट गर्दछु ।
अन्त्यमा, सबै प्रदेशवासी, दाजुभाई दिदिबहिनीहरु एकतावद्ध भई मन, वचन र कर्मले संविधानको मर्म भावनालाई व्यवहारमा रुपान्तरण गर्दै गण्डकी प्रदेश सरकारले लिएको आत्मनिर्भर र समुन्नत प्रदेश खुसी प्रदेशवासीको संकल्प पुरा गर्नमा सहकार्य गर्नुहुनेछ भन्ने विश्वाश सहित संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।