राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

Share this post :

Facebook
Twitter
WhatsApp

 प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

संविधान संशोधन आगामी संसद्ले गर्ने बताउदै उनले विदेशमा रहेका नेपालीले मतदान गर्नको लागि निर्वाचन आयोगसंग परामर्श गरेको जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताएकी हुन् ।

कार्कीले विगतमा भएको भ्रष्टाचारको छानबिन गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले वर्तमान सरकारले  छोटो समयमा नै विगतमा भएको भ्रष्टाचारको प्रस्ट जानकारी पाइसकेको बताइन् ।  उनले यसको आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताइन् । उनले आन्दोलनमा भएको लुटपाट, तोडफोड गर्दा व्यक्तिको घरमा देखिएको नगद र सम्पत्तिमा सरकारको निकायले छानबिन गर्न थालिसकेको बताइन् ।

उनले सेवाप्रवाहका क्रममा सरकारी कर्मचारीले गरेका व्यवहारप्रति गुनासोका लागि तीनै तहका निकायमा हटलाइनको व्यवस्था गर्ने बताइन् ।  ‘विना झन्झट सेवा प्रवाह हुने हुने सुनिश्चितता दिलाउन चाहन्छु । भ्रष्टाचार न्यूनीकरण विधिको शासन, सामाजिक न्यायको प्रत्याभूति लगायत क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्नेछ,’ उनले भनिन् । 

सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाई, काम पन्छाउने, घुस माग्ने, अनावश्यक दु:ख दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्नेजस्ता कार्य भएमा उजुरी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरु र प्रदेश तथा स्थानीय तहका निकायमा हटलाइनको व्यवस्था गरिएको प्रधानमन्त्री कार्कीले बताइन् । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई सख्त कारबाही गर्ने बताएका छिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *