यतिबेला देशभर बङ्गालको खाडीबाट आएको जलवाश्पयुक्त वायुको प्रभाव छ । यसकाे प्रभावले देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा वर्षा जारी रहने भएकोले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध छ ।
वर्षासँगै विभिन्न सडक खण्डमा पहिरो खस्न थालेको छ । मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला र मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलामा पहिरो खस्ने क्रम जारी रहेको छ । यद्यपि हाल पहिरो पन्छाएर यी सडक सञ्चालनमा ल्याइएको छ ।
आज दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले यी प्रदेशमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।