पोखरा महानगरपालिका–१७ मुस्ताङचोकस्थित गण्डकी विश्वविद्यालयको कार्यकक्षमा कर्मचारीसँगै बसेका थिए कुलपति प्राडा इन्द्रप्रसाद तिवारी र रजिष्ट्रार । सोही क्रममा जेन्जीका प्रतिनिधि भन्दै युवाहरुको हुल कार्यकक्षमा प्रवेश गरे । कार्यकक्षमा छिर्ने वित्तिकै रजिष्ट्रार को हो भन्दै प्रश्न गरे ।
रजिष्ट्रारलाई चिनेपछि तपाई पो हो भने । अन्य कर्मचारीलाई बाहिर जान लगाएर उनलाई त्यही बस्न भने । विश्वविद्यालयमा आफूहरु आउँदा रेस्पोन्स नगरेको भन्दै युवाहरुले आक्रोश पोख्न थाले । विश्वविद्यालयमा भएको बेथिति र रजिष्ट्रारलगायतको मुद्दा अदालतमा विचाराधीन भएकाले एक मिनेटमा पनि पदमा बस्न नमिल्ने भन्दै राजीनामा मागे ।
जेन्जीको नामा प्रवेश गरेका सवै युवा विभिन्न विद्यार्थी संगठनका थिए । गण्डकी प्रदेश सरकारले हालसम्म एक अर्बभन्दा धेरै लगानी गरेको बताउँदै केही पदाधिकारीको मनोमानीले विश्वविद्यालयको औचित्य नदेखिएको र अनियमिततासमेत मौलाएको भन्दै कुलपति र रजिष्ट्रारलाई भौतिक आक्रमण गर्ने धम्की दिए । रजिष्ट्रार र युवाहरुबीच चर्काचर्की भयो । करिब २ घण्टासम्म चलेको चर्काचर्कीको छानविन गर्ने निस्कर्षमा टुंगियो । रजिष्ट्रारले मनोमानी गरेको आरोप उनीहरुको थियो ।
विश्वविद्यालयमा अनियमितता हुँदा के हेरेर बसेको भन्दै विद्यार्थीले कुलपति प्राडा तिवारीसंग प्रश्न गरे । सोही क्रममा तिवारीले राजीनामा दिने बताएका छन् । कुलपतिले न्यासिक परिषद र सरकार आफूभन्दा माथि रहेको बताउदै छानबिनका लागि समिति बनाउने प्रतिबद्धता जनाए । यता विद्यार्थी नेताहरुले सामाजिक विकास मन्त्रालयको समन्वयमा छानबिन समिति बनाउनुपर्ने भन्दै निस्किए ।
रजिस्ट्रार तिमिल्सिनाले विनाप्रतिस्पर्धा उपप्राध्यापकको जागिर खाएकाहरुले नै अनियमितताको आरोप लगाउँदैमा आफू नडराउने बताए । उनले पैसा खाएको प्रमाणित गर्न चुनौति दिएका छन् ।
जेनजीका नाममा विश्वविद्यालय पुगेर धम्क्याउनेमा राजावादीसँग नजिक राष्ट्रवादी विद्यार्थीको नेतृत्व गर्ने र आफूलाई अभियन्ता बताउने विजय पराजुली, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेल, डिफान भुजेल, एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका कास्की अध्यक्ष सन्तोष पोखरेल थिए । चर्काचर्की हुन थालेपछि पोखरेल भने बाहिरीएका थिए । सोही बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता प्रकाश बास्तोला पनि कार्यकक्षमा छिरे । उनले विश्वविद्यालयमा धेरै प्रश्न उठेकाले छानबिन गर्न र गल्ती सच्याउनुपर्ने बताए । जायज मागलाई विषयान्तर नगर्नसमेत उनले चेतावनी दिए ।
रजिष्ट्रारको नियुक्ति खान पेश गरेको ५ वर्षको अनुभव नै नक्कली भएको आरोप विद्यार्थीको छ । तत्कालीन थाइल्याण्ड भ्रमणमा भएको समयलाई अनुभवलाई जागिर खाने माध्यम बनाएको उनीहरुले बताए । गण्डकी विश्वविद्यालयका विषयमा अदालत, अख्तियार, सरकारसम्म उजुरी तथा मुद्धाहरु पुगेको छ । मुद्दा विचाराधीन हुँदाहुँदै करार सम्झौतामा रहेका शिक्षक, कर्मचारीलाई सरकारको जानकारी, राय सुझावबिनै सबैलाई स्थायी नियुक्त गर्ने प्रक्रिया बढाइएको थियो ।
गण्डकी विश्वविद्यालयका विभिन्न फ्याकेल्टी, त्यसको जिम्मेवारीदेखि पाठ्यक्रम र प्राध्यापकसम्म विवाद सतहमा आएको छ । २०७६ सालमा स्थापना भएको गण्डकी विश्वविद्यालयमा नेपालमै पहिलोपटक खेलकुद विषयमा पढाई संचालन हुँदै आएको छ । पाँच वटा फ्याकेल्टीमा पढाई संचालन हुँदै आएको यस विविमा गण्डकी प्रदेश सरकार आफैंले प्रदेशका संरचनाको पुनरावलोकन अध्ययन प्रतिवेदनले औचित्यमाथि प्रश्न उठाएको थियो । अहिलेकै अवस्थामा विश्वविद्यालय आवश्यक नरहेको र अन्य विश्वविद्यालय र संस्थामा नभएका कार्यक्रम चलाउन प्रतिवेदनले सुझाव दिइएको छ ।
जेनजी आन्दोलनको दोस्रो दिन गत भदौ २४ मा कास्कीका अधिकांश सरकारी संरचना, निजी घर, व्यवसायसँगै गण्डकी विश्वविद्यालयको भवनको केही भाग र गाडीमा आगजनी तथा तोडफोड भएको थियो ।