गण्डकी प्रदेशसभा माटेपानीमा सारियो

Share this post :

Facebook
Twitter
WhatsApp
Site Logo

गण्डकी प्रदेश सभाको बैठक भदौ २५ गते दिउँसो २ बजेका लागि डाकिएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीसमेत तय गरिसकेको थियो ।

भदौ २३ गते प्रदेश सभा सचिवमा नियुक्त भएका गोविन्द पौडेल नयाँ उत्साहका साथ काम थाल्ने सोचमा थिए  ।  प्रदेश सभा सचिवालयमा पौडेलको सपथ चलिरहँदा काठमाडौं र पोखरामा जेन्जी आन्दोलनको राप चढिसकेको थियो । संघीय संसदमा नै आक्रमण, तोडफोड र आगजनीको प्रयास भएपछि प्रहरीले चलाएको गोलीले युवाहरु ढले । 

जसको परिणाम भोलिपल्ट आन्दोलनले उग्ररुप लियो ।  सरकारी र निजी व्यावसायिक भवनहरु धुवाँमय भयो ।  
गण्डकी प्रदेशसभा भवन र सचिवालय भदौ २४ गतेको आगजनी र तोडफोडपछि पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुग्यो । २५ गते बस्ने भनिएको प्रदेश सभाको बैठक अनिश्चित भयो । त्यसको १ महिनापछि प्रदेश सभाको बेैठक डाकिए पनि सुरक्षा चुनौतीका कारण स्थगित गरियो । त्यो बैठक कात्तिक २४ गते मात्र बस्न सक्यो । त्यो पनि कृषि विकास निर्देशनालयको हल मालेपाटनमा । ३ दिन बैठक चलेर बर्खे अधिवेशन अन्त्य गरियो । 

भवन, कागजात र अन्य सामग्री केही नरहने गरी आगजनी भएका कारण प्रदेश सभा सचिवालय चलाउन सुरुमा निकै सकस भयो । तत्कालका लागि कृषि विकास निर्देशनालयको हलमा बैठक राखे पनि त्यसपछि के गर्ने भन्ने अन्योल थियो । सरकारसँगको समन्वयमा प्रदेश सभा र सचिवालय सञ्चालनका लागि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय रहेको माटेपानीस्थित भवन मिल्यो ।

प्रशासनिक पुनरसंरचनाका क्रममा उक्त निर्देशनालय खारेज भएपछि प्रदेश सभाका लागि सहज भएको हो । फर्निचर लगायत अन्य बन्दोबस्ती मिलाएपछि मंसिर २४ गतेबाट माटेपानीको उक्त भवनबाटै प्रदेश सभा सचिवालयको काम थालिएको छ ।

टेबल, कुर्सी र एसी मात्र होइन कतिपय कोठाका बिजुलीका बल्ब र तारसमेत पुरानो कार्यालयले लगेका कारण व्यवस्थापन त्यति सहज थिएन । तै पनि अफ्ठेरो फुकाएर कार्यालय सञ्चालनमा ल्याइएको प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए ।

कर्मचारी, सभामुख, उपसभामुखका लागि कार्यकक्षको व्यवस्थापन भइसकेको छ । समितिको बैठक आलोपालो बस्न मिल्ने गरी एउटा हल समेत व्यवस्थापन गरिएको छ । सचिव पौडेलले भने, ‘मैले समिति सभापतिज्यूहरुलाई फोन गरेर आलोपालो बैठक बस्न सकिने बारेमा जानकारी गराइसकेको छु ।’

प्रदेश सभामा दर्ता भएर टेबल भएका ४ मध्ये २ वटा अर्थ तथा विकास र २ वटा सामाजिक तथा कृषि विकास समितिमा छन् । सार्वजनिक लेखा समितिले महालेखाको प्रतिवेदनमाथि यो वर्ष छलफल थालेकै छैन् ।

प्रदेश सभाको बैठक बस्नका लागि भने हल तयार भइसकेको छैन । एउटा हल भए पनि त्यहाँ सभामुख प्रवेश गर्ने ढोका र अन्य व्यवस्थापन गर्न बाँकी नै छ । समिति र दलका कार्यालयहरुका लागि के गर्ने भन्ने बारेमा सल्लाह भइरहेको सचिव पौडेलले बताए ।

तत्कालीन मर्मत सम्भार र सामान खरिदका लागि ४६ लाख रुपैयाँ आवश्यक पर्ने देखिएकाले त्यसै अनुसार अर्थ मन्त्रालयसँग माग गरिएको उनले जनाए । 

प्रदेश सभा सदस्यहरुले हाजिर गर्ने र पानी परेमा ओत लाग्ने ठाउँ समेत नभएकाले कार्यालय परिसरमै प्रिफ्याब कोठाहरु बनाउने सोचमा सचिवालय छ । यसका लागि सचिवालयले अर्थकै निर्णय कुरेर बसेको छ । केही कम्प्युटर, प्रिन्टर र फर्निचरहरु उधारोमा ल्याएर काम चलाइएको जिन्सी शाखाका अधिकृत झनकराज अधिकारीले बताए । नष्ट भएका अभिलेखहरु वेबसाइट र अन्य माध्यमबाट संकलनको काम सचिवालयले थालेको छ ।

३३ वर्ष पूरानो भवन पूर्ण क्षति
प्रदर्शनकारीको समूहले तोडफोड र आगजनीका कारण ३३ वर्ष पुरानो भवनका आन्तरिक संरचना, फर्निचर र महत्वपूर्ण अभिलेखहरू खरानी भएका हुन् । 

भवनमा काठको प्रयोग बढी भएकाले आगो छिट्टै फैलिएर ठूलो क्षति पुगेको छ । 

आक्रमणबाट प्रदेशसभाको मुख्य बैठक हल, सचिवालय, संसदीय दलका कार्यालयहरू, तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका नयाँ र पुराना भवनहरू ध्वस्त भएका छन् ।  आगजनीका क्रममा भवनभित्र रहेका आधुनिक ध्वनि प्रणाली (साउन्ड सिस्टम), कम्प्युटर, फर्निचर, महत्वपूर्ण कागजात र ऐतिहासिक अभिलेखहरू पूर्ण रूपमा नष्ट भएका छन् । 

प्रदर्शनकारीले बैठक हल मात्र नभई परिसरभित्र रहेका आवास, क्यान्टिन र सवारी साधनहरूमा समेत पालैपालो आगो लगाएका थिए । 

भवन कब्जामा लिएको करिब १५ मिनेटभित्रै परिसरका सबै संरचनामा आगजनी गरिएको थियो । आगजनीसँगै सिसिटिभी क्यामेराहरूको तोडफोड र कार्यालयका कतिपय सामानहरूको लुटपाट समेत भएको पाइएको छ । काठ, फलाम र सिसाको बढी प्रयोग भएको भवनमा भीषण आगलागी हुँदा भौतिक संरचनामा गम्भीर क्षति पुगेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *