<span;><span;>आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दललाई यतिबेला चटाराे छ । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने भएकाले पनि दललाई भ्याईनभ्याई भएकाे हाे ।
<span;>जेन-जी आन्दोलनको रापतापका कारण यस पटक नयाँ–पुराना दलले युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने प्रयास गरेका छन् । निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । सिफारिस नाममा दलका उम्मेदवार छनोट समितिले अन्तिम सूची बनाउने तयारी गरिरहेका छन् । कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, जसपा नेपाललगायत दल प्रत्यक्षतर्फका १६५ क्षेत्रका उम्मेदवारको अन्तिम सूची बनाउने गृहकार्यमा जुटेका छन् । हालसम्म कुनै पनि प्रमुख दलहरूले निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका छैनन् ।
<span;>कांग्रेसमा संसदीय बोर्ड गठन गरी उम्मेदवार छनोट
<span;>कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले सभापति गगन थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन गरी प्रत्यक्षका उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ ।
<span;>कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी विवादका कारण निर्वाचन रोकिन नहुने भन्दै कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवार टुंग्याउने बताए ।
<span;>एमालेका १४० उम्मेदवारको टुंगो
<span;>एमाले केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १४० उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बैठकपछि अधिकांश उम्मेदवार टुंगो लागेको उपमहासचिव लेखराज भट्टले बताए । एमाले उम्मेदवारको नामावलीमा यसअघि ताप्लेजुङबाट जितेका उपमहासचिव योगेश भट्टराई, काठमाडौं–५ बाट उम्मेदवार भएका नेता ईश्वर पोखरेलको नाम परेको छैन । तीलगायत बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो अध्यक्ष केपी शर्मा ओलीले लगाउने भएका छन् । उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२ बाट पाल्पा–२ मा सरेका छन् । महासचिव शंकर पोखरेलले दाङ–२ मा आफ्नो उम्मेदवारी टुंग्याएका छैनन् । बैठकमा उपमहासचिव भट्टराईले उम्मेदवार छनोटमा फरक मत राखेका थिए ।
<span;>एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ नाम एकल सिफारिस भएकाले उनको त्यहींबाट उठ्ने पक्का भएको छ ।
<span;>नेकपामा ५० प्रतिशत युवा उम्मेदवार बन्ने दाबी
<span;>नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने भएको छ । नेकपा नेता वर्षमान पुनले सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष उम्मेदवार बनाइने बताए । नेकपाले यस पटक कम्तीमा ५० प्रतिशत युवा उम्मेदवार बनाउने उनले जानकारी दिए । ‘यस पटक ५० प्रतिशत युवा उम्मेदवार पुर्याइनेछ,’ उनले भने, ‘एकभन्दा बढी उम्मेदवार भएका क्षेत्रमा छलफलबाट सहमति निकालिनेछ ।’ नेकपाका अर्का नेता बेदुराम भुसालले एकल सिफारिस भएका र एकभन्दा बढी भएका क्षेत्रका उम्मेदवारलाई टिकट वितरण थालिएको बताए ।
<span;>नेकपा संयोजक पुष्पकमल दाहाल रुकुम पूर्व र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार हुने निश्चित भएको छ । गत आम निर्वाचनमा दाहाल गोरखा–२ बाट र नेपाल रौतहट–२ बाट विजयी भएका थिए । दाहाललाई नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, रुकुमपूर्व र कैलाली–३ बाट प्रतिनिधिसभाका लागि सिफारिस गरिएको थियो ।
<span;>रास्वपामा उम्मेदवार छनोट तीव्र
<span;>रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार छनोट तीव्र पारेको छ । रास्वपाले उम्मेदवारीका लागि पार्टीभित्रैबाट खुला दरखास्त मागेको थियो । २६ पुससम्मको समयसीमाभित्र १६५ क्षेत्रकै लागि करिब ७ सयले निवेदन दिएको रास्वपा सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।
<span;>रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार बन्नेछन् । उनी २०७९ को निर्वाचन र त्यसपछि भएको उपनिर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार बन्दै छन् । मेयरबाट राजीनामा दिएर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।
<span;>राप्रपा, जसपा नेपाल, जनमत र उज्यालो नेपाल आआफ्नो तयारीमा
<span;>राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झापा–३ बाट उठ्नेछन् । राप्रपाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने उनले बताए । जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्तिबीच मोर्चा बनाएर चुनावमा जाने सहमति भएको छ । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा उम्मेदवार छनोट भइरहेको नेता शरतसिंह भण्डारीले जानकारी दिए ।
<span;>कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी पनि उम्मेदवार छनोटमा लागेको छ । घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने निश्चित छ । जनमत पार्टी पनि प्रत्यक्ष उम्मेदवार छान्ने प्रक्रियामा लागेको छ । जनमत अध्यक्ष सीके राउत सप्तरी–२ बाट उम्मेदवार बन्नेछन् । प्रगतिशील लोकतान्त्रिक पार्टी पनि उम्मेदवार छनोटमा लागेको छ । प्रलोपाका जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवार बन्ने भएका छन् । जर्नादनले तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएर नयाँ पार्टी बनाएका थिए ।


