चुनावी रंगमा रङ्गिदै स्याङ्जा

Share this post :

Facebook
Twitter
WhatsApp

दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जा यतिबेला चुनावी रंगले रङ्गिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा स्याङ्जामा चुनावी सरगर्मी चुलिँदै गएको छ ।

चिया पसल, चौतारो, खेतबारी र सामाजिक सञ्जाल सबैतिर मतदाता उम्मेदवार र दलका एजेन्डामाथि खुलेर बहस हुन थालेका छन् । नयाँको खोजीमा रहेका स्याङ्जाबासी मत परिवर्तन गर्ने पक्षमा देखिन्छन् । नयाँ दलले नयाँ उम्मेदवार सार्वजानिक गर्दा पुराना भनिएका दलले पनि नयाँ अनुहार ल्याएका छन् । तर, जनता पहिलेजस्ता नरहेको बताउँछन् पुतलीबजार नगरपालिका–४ का कमल सुनार ।

अघिल्ला निर्वाचनमा यहाँको मतपरिणामले राष्ट्रिय राजनीतिमासमेत सन्देश दिएको इतिहास छ । यही कारण यसपटकको निर्वाचनलाई दलले विशेष महत्व दिएका छन् । प्रमुख राजनीतिक दल आ–आफ्ना संगठन सुदृढ गर्दै घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा विकास, रोजगारी, शिक्षा र स्वास्थ्य मुख्य चुनावी मुद्दाका रूपमा उठिरहेका छन् । वैदेशिक रोजगारीमा गएका युवाको समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, सडक र खानेपानी जस्ता आधारभूत आवश्यकतामा मतदाताको चासो देखिन्छ । ‘अब भाषणभन्दा काम चाहियो’ कमल सुनार भन्छन्, ‘हामीलाई आश्वासन धेरै दिइयो । हामी आशैआशले दासजस्ता भयौ । अव जानाजान दास हुन चाहान्नौ ।’ उनले २०६४ मा तत्कालीन माओवादी जस्तै नयाँ परिवर्तन चाहेको सुनाए ।

युवा मतदाताको भूमिका यसपटक निर्णायक हुने आँकलन गरिएको छ । सामाजिक सञ्जालमार्फत उम्मेदवारको गतिविधि नियाल्ने, विगतको कामको मूल्यांकन गर्ने र प्रश्न उठाउने प्रवृति बढ्दो छ । यसले उम्मेदवारहरुलाई अझ जिम्मेवार र पारदर्शी बन्न दबाब सिर्जना गरेको छ । जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ भने सुरक्षाका लागि पनि चासोका साथ व्यवस्था मिलाइँदैछ । प्रमुख जिल्ला अधिकारी इश्वरी अर्यालको नेतृत्वमा जिल्ला सुरक्षा प्रमुखहरु मतदानस्थल अनुगमन गरिरहेका छन् ।

स्याङ्जाका मतदाताले यतिबेला विकाससँगै युवा र वैदेशिक रोजगारीको मुद्दालाई प्राथमिकतामा राखेका छन् । स्याङ्जामा ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा छन् । रेमिट्यान्सले घरघरको अर्थतन्त्र चलाए पनि गाउँ रित्तिँदो छ । ‘गाउँमा बस्ने वातावरण बनेन भने भोटको अर्थ छैन’ पुतलीबजार नगरपालिका–५ का बोधराज रेग्मी भन्छन्, ‘रोजगारी सिर्जना, सीपमूलक तालिम र कृषि आधुनिकीकरणबारे उम्मेदवारहरू कति स्पष्ट छन् भन्ने प्रश्न मतदाताले गम्भीरतापूर्वक सोधिरहेका छन् ।’

यसो त, सामाजिक सञ्जालले स्याङ्जाको चुनावी राजनीतिलाई नयाँ आयाम दिएको छ । उम्मेदवारका पुराना अभिव्यक्ति, संसदमा उपस्थिति र विकास बजेटको प्रयोग सार्वजनिक बहसमा छन् । यसले भावनात्मकभन्दा तथ्यमा आधारित मतदानतर्फ मतदातालाई उन्मुख गराएको छ । बारम्बार दोहोरिएका आश्वासन र अपेक्षित परिणाम नआउँदा मतदातामा निराशा देखिएको बताउँछन् स्थानीयबासी । यसकारण पनि केही मतदातामा वैकल्पिक शक्ति र स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेको बताउँछन् सदरमुकाम निवासी अशोक श्रेष्ठ । लामोसमयसम्म वैदेशिक रोजगारीमा रहेका अशोकले परम्परागत दलका लागि यो विश्वास पुनःस्थापना गर्ने अन्तिम मौका जस्तै बनेको बताए । स्याङ्जाको मतपरिणामले केवल एक सांसद चयन गर्ने मात्र होइन, राजनीतिक दलहरूको कार्यशैली, नेतृत्व चयन र नीति निर्माणमा समेत प्रभाव पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *