राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्याङ्जाबाटै आगामी निर्वाचनका लागि मतदातालाई तयार रहन आग्रह गरेका छन् । पोखराबाट बुटवलतर्फ जाँदै गर्दा स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित सहिद चोकमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अबको चुनाव केवल प्रतिनिधि छान्ने मात्र नभई सोच परिवर्तन गर्ने अवसर रहेकाे बताए ।
कार्यक्रममा उपस्थित भीडलाई सम्बोधन गर्दै लामिछानेले प्रश्न गरे, “चुनावका लागि तयार हुनुहुन्छ ? केवल मतदान गर्न होइन, देश बदल्न तयार हुनुहुन्छ ?” उनका अनुसार पुराना दल र पुरानै कार्यशैलीबाट देशले अपेक्षित परिणाम नपाएको भन्दै अब नयाँ शक्ति र नयाँ विचारलाई बहुमत दिएर जिम्मेवारी सुम्पनुपर्ने समय आएको बताए ।
उनले भने, “हामी सत्ताका लागि होइन, प्रणाली सुधारका लागि राजनीतिमा आएका हौं । एकपटक परिवर्तनका लागि बहुमतको सरकार बनाउनुस्, परिणाम देखाउने जिम्मा हाम्रो ।” लामिछानेले विगतका सरकारलाई संकेत गर्दै जनताले पटक–पटक विश्वास गरे पनि उपलब्धि अपेक्षाअनुसार नआएको दाबी गरे । “पुराना पार्टी, पुरानै सोच र पुरानै शैलीबाट देश अघि बढ्दैन् । अब जनताले सोच परिवर्तन गर्नुपर्छ,” उनले भने ।
सभापति लामिछानेले युवाहरू विदेश पलायन हुनुको कारण रोजगारी अभाव र राजनीतिक अस्थिरता रहेको उल्लेख गरे । “हामीले यतिबेला युवालाई आशा दिन सकेनौं भने भोलि देश खाली हुनेछ,” उनले भने, “स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो ।”
उनले भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याए । राजनीति व्यवसाय नभई सेवा रहेकाे उनकाे तर्क थियाे । जनताको करबाट चल्ने सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने उनले बताए ।
लामिछानेलाई स्थानीय कार्यकर्ताले स्वागत गर्दै जिल्लामा रास्वपाप्रति बढ्दो समर्थन रहेको दाबी गरेका थिए । त्यसक्रममा लामिछानेले स्याङ्जाबासीलाई लक्षित गर्दै भने, “स्याङ्जा सचेत मतदाताको जिल्ला हो । यहाँबाट परिवर्तनको सन्देश देशभर जान सक्छ । देश विदेशमा नाम बनाएका पर्यटन विज्ञलाई उम्मेदवार बनाएका छाै । पार्टी हाेइन एकपटक मत बदल्नुहाेस । हामीलाई एकपटक पूर्ण जिम्मेवारी दिनुस् । गठबन्धनको भरमा होइन, स्पष्ट बहुमतको आधारमा काम गर्ने अवसर दिनुस् । यलि काम गर्न सकेनाै भने तपाईंको विचार र आस्थाकै पार्टीमा रहनुहाेला ।” उनले पुराना संरचना र अभ्यासलाई चुनौती दिनुपर्ने समय आएको उल्लेख गरे ।
पोखराबाट बुटवलतर्फको यात्राका क्रममा स्याङ्जामा छोटो विश्राम गर्दै उनले कार्यकर्ता भेटघाट गरेका हुन् ।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै देशव्यापी संगठन सुदृढीकरण र जनसंवाद अभियान तीव्र बनाएको छ ।



