पोखराको कोन सामुदायीक बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा पुरस्कृत भएको छ । मंगलबार आन्तरिक राजस्व कार्यालय पोखराले १० औँ कर सप्ताहको अवसर पारी सहकारीलाई पुरस्कृत गरेको हो ।
मंसीर १ देखी मनाइएको कर सप्ताह मंगलबार समापन गरिएको थियो । आर्थिक बर्ष २०७६÷७७ मा सो सहकारीले ६७ लाख २९ हजार आयकर दाखिला गरेको थियो ।
यो सवैभन्दा बढी हो । सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेतलाई गण्डकीका प्रमुख सचिव रविलाल पन्थले दोषल्ला ओडाएर सम्मान पत्र हस्तान्तरण गरे ।
२०५६ मा स्थापना भई साढे २ करोड कारोबार रहेको उक्त सहकारीमा ४ हजार शेयर सदस्य रहेका छन् । कार्यालयका प्रमुख कर अधिकृत रमेश शर्माका अनुसार उत्कृष्ट हुनको लागि आयकर बढी दाखिला गरेको हुनुपर्ने, आयकर, मुल्य अभिबृद्धि कर तथा अन्त शुल्यक तर्फ कुनै वक्यौक्ता बा“की नरहेको र गत आवको आय विवरण समयमै बुझाएको हुनुपर्नेछ ।
कार्यक्रममा कार्यालयका कम्प्यूटर अपरेटर दीपक पौडेललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो भने, कर सप्ताह अन्तर्गत भएको व्याटमिन्टन प्रतियोगितामा उत्कृष्टलाई पनि सम्मान गरिएको थियो ।
कास्कीमा मात्रै १ लाख ७५ हजार करदाता रहेको कार्यालय प्रमुख शर्माले बताए । उनका अनुसार करिव ६० हजार व्यवसायीक करदाता रहेका छन् । कार्यालयले चालु आवमा ५ अर्व १० करोड बार्षिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । प्रमथ चौमासिकका लागि १ अर्व १५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले मंसिर ७ सम्म १ अर्व ५५ करोड राजस्व संकलन भएको उनले बताए ।
‘लक्ष्यभन्दा ३४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएका छौ’ शर्माले भने । गत आव २०७७÷८८ मा कार्यालयले ४ अर्व ८२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि लक्ष्यको ९७ प्रतिशत अर्थात ४ अर्व ६८ करोड राजस्व संकलन गरेको थियो । ‘४० प्रतिशत व्यक्ति कर तिर्न योग्य भए पनि करको दायरमा आएका छैनन्’ उनले थपे, ‘कारोबार राम्रो छ । सरकारलाई कर तिर्न सक्छन तर, कर प्रणली बाहिर छन् यिनीहरुलाई करको दायरामा ल्याउन निकै चुनौति छ ।’
कोरोनाको बावजुद पनि कर संकलन उत्साहजनक रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले सवै किसिमका वस्तु तथा सामानको कारोबार अनिवार्य दर्ता गर्न सुझाएको छ । वास्तविक कारोबारमा आधारित विलविजक जारी गर्ने, सोही अनुसार विवरण तथा कर दाखिला गर्न पनि कार्यालयले जनाएको छ । कार्यक्रममा प्रमुख सचिव पन्थले पोखरामा करदाताको उत्साह देखिएको बताउदै कर प्रशासनमा सुधार आएको बताए । यस्तै, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पछिल्लोसमय कर कार्यालयमा आएको सुधारले नै कर संकलनमा मद्दत मिलेको बताए ।