राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेकी छन् । पोखराको सभागृहमा आयोजित सम्मेलनको उनले डिजिटल प्रविधिबाट उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिति थियो। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित सम्मेलनमा देशका ७५३ वटै पालिकाका न्यायिक समितिका प्रमुख एवम् सदस्यको उपस्थिति छ ।
महानगर, उपमहानगर, नगर, गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ । संविधानको भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ । सम्मेलनमा न्यायिक समितिमार्फत न्याय सम्पादन गर्दा आइपरेका कठिनाइ, चुनौती एवं उपलब्धिलगायतका विषयमा छलफल हुनेछ । यस्तै, उद्घाटन सत्रमा पोखरा महानगरकी उपप्रमुख मञ्जुदेखवी गुरुङले कार्यपत्र प्रस्तुत गरेकी थिइन । सम्मेलन आजनै घोषणपत्र जारी गर्दै सकिनेछ ।
