ऊर्जामन्त्री भुसालद्वारा सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित

Share this post :

Facebook
Twitter
WhatsApp

ललितपुर महानगर–२५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्नुहुने स्थानीय एवं समाजसेवीलाई आज सम्मान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान गरेकी हुन् ।
खोकना डोबाटोस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा भूमाफीयाले व्यक्तिका नाममा लैजाने प्रयास गरेपछि मन्त्री भुसालको अगुवाईमा १०४ जनाको संरक्षण समिति बनाएर सामुहिक ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । संरक्षण समितिका सदस्यको सक्रिय पहलमा जिल्ला अदालत र पुनरावेदन अदालतले समुदायको नाममा समर्पित जग्गा व्यक्तिको हुन नसक्ने फैसला गरेपछि सो जग्गा छ्यासिकोट सामुदायिक स्वास्थ्य भवन संरक्षण समितिको नाममा अर्थात सार्वजनिक रुपमा कायम भएको छ ।
सो अवसरमा समितिका तर्फबाट मुद्दाको नेतृत्व गर्ने वरिष्ठ अभिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, अन्य वकिल तथा संरक्षण समितिका अध्यक्ष कृष्णहरि खड्कासहित सदस्यहरु एवं अन्य समाजसेवीलाई मन्त्री भुसालले खादा लगाएर सम्मान गरिन् । उक्त जग्गामा बनेको भवनमा स्थानीयले स्वास्थ्य शिविर एवं ध्यानयोग सञ्चालन गर्दै आएका छन् । समितिका सचिव रघुनाथ खड्काका अनुसार विसं २०५१ सालदेखि निरन्तर समुदायको पक्षमा सङ्घर्ष गर्दै आएर गत साउन १६ गते भएको उच्च अदालतको फैसलाले सार्वजनिक जग्गा व्यक्तिको हुनबाट जोगिएको छ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले एक पटक समुदायमा हस्तान्तरण गरिएको जग्गा पुनः व्यक्तिको हुन नसक्ने बताउँदै जग्गाधनी धनमाया महर्जनले विगत ३० वर्षअगाडि नै समुदायलाई हस्तारन्तर गरेको जग्गामा विभिन्न हकवालाको नाममा व्यक्तिको नाममा पार्ने प्रपञ्च भएको भन्दै त्यस्ता गविधि विरुद्ध एक भएर लाग्न सुझाव दिइन् ।
कार्यक्रममा मन्त्री भुसालले भुमाफियाको विरुद्ध एकताबद्ध भएर स्थानीय जनताले मुद्दा दायर गरेको र सबैको पहलले जनताको सम्पति जनताकै नाममा रहने स्थिति सिर्जना भएको बताइन् । उनले भनिन, ‘सार्वजनिक हितमा समर्पित भएर सार्वजनिक सम्पत्तिको संरक्षणमा लाग्नुहुने सबैलाई बधाई, आगामी दिनमा पनि सार्वजनिक हितका लागि एकताबद्ध हुन अपिल गर्दछु ।’
सामाजिक न्ययको पक्षमा आफू निरन्तर समर्पित हुने विश्वास दिलाउँदै मन्त्री भुसालले सामाजिक लडाइको प्रतिकका रुपमा प्राप्त भएको यो जग्गामा समुदायका लागि वतावरणमैत्री वहुउपयोगी भवन निर्माण गरेर प्रयोगमा ल्याउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सार्वजनिक सम्पत्ति र सम्पदाको संरक्षणमा सबै लाग्नुपर्ने उनको सुझाव छ । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र जीवनराम श्रेष्ठले सार्वजनिक सम्पतिको संरक्षणका लागि समुदाय नै लाग्नुपर्नेमा जोड दिँदै समुदाय एक हुँदा आफ्नो सम्पदाको संरक्षण गर्न सकिने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *