गठबन्धनका शिर्ष नेताले भने, दायाँ-बायाँ नगरौं, गठबन्धनमा भोट हालौं

Share this post :

Facebook
Twitter
WhatsApp

सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् । यसअघि काठमाडौंको निर्वाचन क्षेत्र नं २, ललितपुरको क्षेत्र नं ३ मा संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता पोखरा पुगेका छन् ।
प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन् ।
देउवा बिहीबार नै पोखरा पुगिसकेका थिए भने प्रचण्ड र माधव नेपाल शुक्रबार मात्रै पोखरा पुगेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उनले भने, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’
देउवाले अगाडि भने ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भनेका छन्, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘हसियाँ हथौडालाई रूखमा, रूखलाई हसियाँ हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’
संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए । ‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *