निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद दिए । नेपाल र भारतबीच लामोसमयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए । आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उनले भारत सरकारले विभिन्न समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि समेत धन्यवाद ज्ञापन गरे ।
समारोहमा नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले उक्त सहयोग प्रदान गरेको बताए । नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *