आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन आयोगले आम निर्वाचनको तयारी पुरा भएको बताएको छ । एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति खटिएको आयोगले जनाएको छ ।
‘मतदान केन्द्रमा पुगेका मतदान अधिकृतले सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार निषेध र शान्ति भंग गर्न निषेधका सूचना प्रकाशनको तयारी गर्नेछन् । मादक पदार्थ निषेध तथा हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिनेलगायत विषयमा काम सुरु भइसक्यो र मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले दुई दिनभित्र मतदान केन्द्र निर्माण गर्ने आयोगले जनाएको छ । मतदान केन्द्र लैंगिक समावेशी, अपांगता, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन निर्देशन दिइसकेको आयोगले बताएको छ ।
आयोगका अनुसार जापानको विदेश राज्यमन्त्री तकेई शुनसुकेको ५ सदस्यीय टोली पनि निर्वाचन अवलोकन गर्न नेपाल आउने भएको छ । यसबाहेक नेपालस्थित १८ वटा कूटनीतिक नियोगले पनि मतदानको दिन अवलोकन गर्न लागेको प्रमुख आयुक्त दिनेश थपलियाले बताए । पर्यवेक्षकले प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको ३ सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
यस्तै, आयोगले बिहीबार मध्यरातदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने र गराउने कार्य रोक्न जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको जनाएको छ । निर्वाचनका लागि पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । उनीहरूले १० हजार ८ सय ९२ मतदानस्थलमा रहेका २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै, १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकमा मत हाल्नेछन् । निर्वाचनमा प्रतिनिधिसभाको २ हजार ४ सय १२ र प्रदेशसभाको ३ हजार २ सय २४ जना उम्मेदवार छन् ।
प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, वाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् । साढे २१ लाख मतदाता विदेशमा रहेको अनुमान छ । ०७४ मा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता रहेकामा १ करोड ५ लाख ९३ हजार ९ सय ७१ ले मतदान गरेका थिए ।
