मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणम सार्वजानिक भइसक्दा पनि गण्डकी प्रदेशमा राजनीतिक दल सरकार गठनको तयारीमा जुटेका छैनन् । केन्द्रिय नेतृत्वले निर्णय नलिदाँ प्रदेशमा पनि दलले निर्णय लिन नसकेका हुन् । सरकार बनाउने चर्चा र अड्कलबाजी भइरहे पनि गण्डकीमा सरकार बनाउनेतर्फ कुनै दल अघि बढेका छैनन् ।
गण्डकी प्रदेश सदस्यमा सरकार बनाउने गरी कुनै पनि दलले बहुमत पाएका छैनन् ।
गण्डकी प्रदेशसभा निर्वाचन क्षेत्र ३६ वटा छन् । यहाँ सवैको चुनावी नतिजा आइसकेको छ । प्रदेशमा नेपाली काँग्रेसले १८ सिट जित्दा नेकपा एमालेले १२ र माओवादी केन्द्रले ५ सिट जितेको छ । यस्तै, दिपक मनाङेले स्वतन्त्र उम्मेवारी दिएका थिए । ६० सदस्यीय प्रदेशसभामा २४ सिट समानुपातिक निर्वाचन प्रणलीको हो । सत्ता (बाम–लोकतान्त्रिक) गठबन्धनबाट चुनावी मैदानमा होमिएका दलले केन्द्रमा सरकारको समीकरण नबनिसकेकाले प्रदेशमा अहिलेनै भन्न सकिने अवस्था नहेको बताएका छन् । यता, १ एमालेले पनि सरकार गठनमा कसरत गरेको छ । सत्ता गठबन्धन तोडेर आफू माओवादीसँग मिलेर सरकारमा जाने तयारी गरेको एमाले स्वंम बताउदै आएको छ ।
काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले चुनावी सत्ता गठबन्धन नै सरकार गठनमा कायम रहने दावी गरेका छन् । माओवादी केन्द्रका प्रदेश अध्यक्ष गायत्री गुरुङले पनि पार्टी केन्द्रको निर्णय नै मानिने हुदाँ हालैको गठबन्धन कायम रहने बताउछिन् । यता, एमालेका प्रदेश सचिव धनन्जय दवाडीले भने, एमाले सरकारमा जान तयारी रहेको बताउँछन् । उनले बामपन्थी सरकार बनाउने चाहाना एमालेसँग रहेको बताउदै भने, ‘माओवादीले निर्णय के लिन्छ पर्खिरहेका छौ । बामपन्थीको सरकार बने दीगो हुनेछ ।’ उनले एमालेभित्र दोस्रो तहका नेताको पनि इच्छा त्यही रहेको बताए । गण्डकीमा सरकार गठनमा माओवादी निर्णायक देखिएको छ । प्रदेशमा तेस्रो रहेको माओवादीको ५ सिट प्रत्यक्षमा जितेको छ । समानुपातिकबाट माओवादीले ३ देखि ४ सिट पाउने आशा गरेको छ । काँग्रेस र एमालेले भने आफूहरु समानुपातिकमा ९÷९ सिट पाउने दाबी गर्छन् । यद्यपि यहाँ समानुपातिकमा एमाले अगाडि छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्य चाहिन्छ । अहिलेसम्म ५ दलीय गठबन्धन कायमै रहेका बेला गण्डकी प्रदेशमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिन्छ ।
