काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि बुधबार विहान मतदान सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान भइरहेको छ । विहान ८ बजेदेखि सुरु हुने भने पनि बुथमा मोबाइल लैजान दिने र नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको बताइएको छ । मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान सुरु भएको हो ।
संसदीय दलको नेता बन्न पार्टी सभापति एवं प्रधानमन्त्री ७८ वर्षिय शेरबहादुर देउवा र इतर पक्षबाट ४६ वर्षिय गगनकुमार थापा प्रतिस्पर्धामा छन् । मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । लिस्टमा नाम हेरेरमात्र मतदातालाई कार्यालयभित्र छिराइएको छ भने मिडियालाई मतदानस्थल जान निषेध गरिएको छ । मंगलबार देउवा र थापाले सँगसँगै उम्मेदवारी दर्ता गराएका थिए । संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *