स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम फरक रूपमा देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ ७ तीव्र रूपमा फैलिएको छ भने अर्को छिमेकी भारतमा पनि बीएफ ७ सङ्क्रमण पुष्टि भइसकेकाले नेपालमा पनि जोखिम रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाविरुद्ध खोप लगाएको ६ महिनापछि क्रमशः काम गर्ने क्षमतामा ह्रास आउने गर्छ । नेपालमा कुल जनसङ्ख्यामध्ये दुई करोड २३ लाख २४ हजार ९३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । त्यसमध्ये ठुलो सङ्ख्याले खोप लगाएको ६ महिना÷एक वर्ष नाघिसकेको छ । जसमध्ये बुस्टर डोज लगाउने कम छन् । हालसम्म ७९ लाख ७६ हजार ७७० जनाले बुस्टर डोज लगाएका छन् भने कतिपयले बुस्टर डोज लगाएको पनि एक वर्ष कटिसकेको छ । यसअघि ओमिक्रोन भेरियन्ट सङ्क्रामक हुँदा खोप नलगाउनेहरू प्रभावित भएकाले बुस्टर डोज अनिवार्य लगाउन सरुवा रोग विशेषज्ञको सुझाव छ ।
२०७८ मा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा दुवै मात्रा खोप लगाएकामध्ये ८२ प्रतिशत र एक मात्रा लगाएका ५५ प्रतिशत व्यक्तिमा एन्टिबडी पाइएको थियो । खोप लगाएकाहरूको ६ महिनापछि क्रमशः एन्टिबडी घट्दै गएको अध्ययनले देखाएको छ । सरकारले स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । स्थल र हवाई मार्गका नाकामा हेल्थ डेस्कलाई तयारी अवस्था रहन पनि सरकारले निर्देशन दिएको छ ।
खोप ल्याउँदै सरकार
सरकार गाभीमार्फत ओमिक्रोनको नयाँ भेरियन्टलाई काम गर्ने नयाँ खोप ल्याउने प्रक्रियामा छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले गाभीमार्फत १५ लाख मात्रा नयाँ फाइजर खोप ल्याउन लागिएको जानकारी दिए । आकस्मिक प्रयोगका लागि अनुमति पाए लगत्तै खोप आउने उनको भनाइ छ । यस्तै, सातै प्रदेशमा १० वटा भण्डारण केन्द्रमा भेरोसेल, फाइजर गरी ४९ लाख १४ हजार ९१७ मात्रा रहेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।
