पोखरा महानगरपालिकाले अटो मोबाइल सम्बन्धी व्यवसायलाई एक ठाउँमा व्यवस्थित गर्ने योजना ल्याएकाे थियाे । तर, उक्त याेजना कार्यान्वयन हुन सकेको छैन ।
महानगरका पूर्वमेयर मानबहादुर जिसीको कार्यकालको अन्तिम महिनामा अटोभिलेजको योजनाको काम केही अघि बढेको थियो । अटोभिलेज बनाउने योजना महानगरले वैशाख अघि नै ल्याएको हाे ।
ठूलादेखि साना गाडीको पार्टपुर्जा, मर्मत, धुने काम सबै एकै ठाउँमा हुने गरी अटोभिलेजको योजना थालिएको महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाले बताए ।
यश कार्यक्रमबारे अहिले महानगरकै कर्मचारी बेखबर छन् । जिसीको कार्यकालमा एक समिति गठन गरेर अटोभिलेजका लागि जग्गा खोज्ने काम गरिएको थियो ।
पोखरा-५ का पूर्ववडाध्यक्ष धनबहादुर नेपालीको संयोजकत्वमा गठित समितिले ३ ठाउँमा अटोभिलेज बनाउन सकिने प्रतिवेदन दिएको थियो ।
प्रतिवेदनमा पोखरा–२५ हेम्जा, वडा १७ को पावरहाउस र वडा ३२ को लामेआहालमा अटोभिलेज बनाउन सकिने सुझाव दिएको थियो ।
समितिका संयोजक रहेका नेपालीले आफूहरूले काम सकाए पनि अहिले के भइरहेको छ थाहा नभएको बताए ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसियसनका अध्यक्ष कृष्ण श्रेष्ठ पोखरामा अटोभिलेज बनाउन महानगरले चासो नलिएको बताए ।
पोखरामा अहिले २ सय ५० बढी व्यवसाय पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसियसनमा दर्ता छन् । वर्कसप कति छन् भन्ने महानगरसँगै तथ्यांक छैन ।
महानगर दर्ता नभएकै व्यवसायलाई कानुनअन्तर्गत दर्ता गराउन पनि अटोभिलेज आवश्यक रहेको महानगरले जनाएकाे छ ।