प्रेस सेन्टर नेपालले आफ्नो १९ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । २०६१ साल माघ १५ गते स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउन लागेको संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपालले संघिय राजधानी काठमाडौंको माइतिघर मण्डलामा विहान प्रभातफेरी आयोजना गरेको छ भने गण्डकी प्रदेश समितिले पनि पोखरामा प्रभातफेरी आयोजना गरेको प्रदेश अध्यक्ष अर्जुन काफ्लेले जनाए । उनका अनुसार सिर्जनाचोकबाट सुरु भएको प्रभातफेरी याली शहीद चोकमा गएर कोणसभा गरिएको थियो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री सहभागी थिए ।
प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अबसरमा कर्णाली प्रदेशमा दिगो बिकासमा आमसन्चार माध्यमको भुमिका विषयक अन्तरकृया कार्यक्रम आयोजना गरिएको प्रदेश अध्यक्ष प्रतिक इच्छुकले जानकारी गराएका छन् । कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रीको उपस्थिति रहने उनले बताए । कार्यक्रम आइतबार बिहान ११ बजे नेपाल पत्रकार महासङ सुर्खेतको सभाहलमा हुने बताइएको छ ।
त्यसैगरी लुम्वीनी प्रदेशमा पनि विभिन्न कार्यक्रमहरुसहित स्थापना दिवस मनाउने प्रदेश अध्यक्ष मानसिंह विकले जनाएका छन् । त्यसैगरी मधेश प्रदेशमा पनि रक्तदानलगायतका विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन लागेको प्रदेश अध्यक्ष किरण कर्णले बताएका छन् । प्रेस सेन्टर नेपालको दाङ जिल्ला समितिले दाङका १० ओटै पालिकामा दीप प्रज्वलन गर्ने भएको छ ।
दाङका १० ओटै पालिकाले भोली माघ १५ गते दीप प्रज्वलन गरेर स्थापना दिवस मनाउने भएका हुन् । घोराहीमा सेन्टरका जिल्ला समन्वय समिति र घोराही उपमहानगरपालिका कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गर्ने जिल्ला अध्यक्ष पाण्डव शर्माले जानकारी दिए । उनका अनुसार भोली बेलुकी पाँच बजे घोराही उपमहानगरपालिका–१७ स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालमा रहेको महान सहिद कृष्णसेन इच्छुकको शालिकमा माल्यार्पण गर्नुका साथै सोही स्थानमा दीप प्रज्वलन गरिने छ ।
यसैबीच जिल्ला अध्यक्ष पाण्डव शर्मा र घोराही शाखा अध्यक्ष सन्तोष डाँगीले विज्ञप्ति निकालेर दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सबै पत्रकारलाई आग्रह गरेका छन् । प्रेस सेन्टर नेपालको स्थापनाकालमा यसको नाम अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ रहेको र त्यसपछि पहिलो राष्ट्रिय भेलाबाट क्रान्तिकारी पत्रकार संघ नामाकरण गरिएको थियो ।
२०७३ जेठ १९ गते क्रान्तिकारी
पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघसहित विभिन्न संगठन र व्यक्तिगत ढंगलेसमेत अलग अवस्थामा रहेका क्रान्तिकारी पत्रकारहरुको राष्ट्रिय एकता भेलाले एकीकृत संगठनको नाम प्रेस सेन्टर राख्ने निर्णय गरेको थियो । त्यसपछि एमालेसहितको एकता पछि प्रेस संगठन नेपाल नामाकरण भएको संगठन पुन एमाले र माओवादी अलग अलग भएपछि प्रेस सेन्टरको रुपमा पुनस्थापित भएको हो ।
संगठनको स्थापनामा महेश्वर दाहाल संस्थापक अध्यक्ष रहेका थिए भने हाल संगठनको अध्यक्ष विष्णु सापकोटा जुगल रहेका छन् ।
यस्तो छ प्रेस सेन्टरको इतिहास
सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर २०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरुको अलग्गै संगठन निर्माण गर्नुपर्ने आवश्यकता वोध गरायो ।
सो भेला लगत्तै माघ १५ गते रुकुमको लाबाङमा महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, नेपाल आयोजक समिति स्थापना भयो । स्थापनापछि संघले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्यो । जसमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धका मैदानमा लड्दै गरेका युद्ध संवाददाताहरुको सहभागिता थियो ।
दोस्रो जनआन्दोलनपश्चात् शान्ति प्रक्रियामार्फत् देशको राजनीति नयाँ बाटोमा अघि बढेपछि २०६३ फागुन २९ र ३० गते संघको काठमाडौंमा प्रथम राष्ट्रिय भेला सम्पन्न भयो । भेलाले संगठनको नाम अखिल नेपाल क्रान्तिकारी पत्रकार संघबाट परिमार्जित गरेर क्रान्तिकारी पत्रकार संघ बनायो । सो भेलाले संघको विधान र प्रतिवेदन पारित गर्नुका साथै क। महेश्वर दाहालको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय समिति चयन गर्यो ।
२०६७ फागुन १७ गते क्रान्तिकारी पत्रकार संघको केन्द्रीय एकता भेला सम्पन्न भयो । भेलाले संगठनको विधान संशोधन गर्नुका साथै १०१ सदस्यीय दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन ग¥यो ।
२०७३ जेठ १९ गते क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघसहित विभिन्न संगठन र व्यक्तिगत ढंगलेसमेत अलग अवस्थामा रहेका क्रान्तिकारी पत्रकारहरुको राष्ट्रिय एकता भेला बस्यो । भेलाले एकीकृत संगठनको नाम प्रेस सेन्टर राख्ने निर्णय गर्यो ।
अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ र महासंघको निरन्तरतामै प्रेस सेन्टर नेपाल बन्यो । उक्त भेलाले गोविन्द आचार्यको संयोजकत्वमा ४९९ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्यो ।
भेलाले विधानलाई संघीय संरचना बमोजिम संशोधन गर्यो । भेला पश्चात सातवटा भौगोलिक प्रदेशमा अधिवेशनमार्फत प्रेस सेन्टर नेपालको निर्वाचित कार्यसमिति गठन भए । सो संगठन संघीयता अनुसार प्रादेशिक संरचनामा जाने पत्रकारहरुको पहिलो संगठन बन्यो ।
सोही भेलाबाट पारित विधानले राज्यको पुनर्संरचनालाई बलियो बनाउने गरी संगठनको संरचनालाई स्थानीय तहसम्म लैजाने महत्वपूर्ण निर्णय गर्यो । यस निर्णयबाट स्थानीय तहमा पत्रकारको संगठन बनाउने प्रेस सेन्टर नेपाल पहिलो बन्यो ।
२०७३ असोज १३ र १४ गते काठमाडौंमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । संगठनका संयोजक गोविन्द आचार्यको अध्यक्षता र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवशन मानिएको छ ।
२०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रह्यो । प्रेस संगठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन गर्यो । संगठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत रहे ।
प्रेस संगठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट महेश्वर दाहाल संयोजकमा चुनिएकाले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रुपमा लिइएको छ ।
पुनर्गठन र पुनः प्रेस सेन्टर नेपाल
प्रेस संगठन नेपालको गठन भएको एकवर्षपछि तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरे । उक्त विघटनलाई प्रेस संगठन नेपालले असंवैधानिक र प्रतिगामी भएको ठहर ग¥यो । र, प्रेस संगठनले प्रतिगमनको विरुद्धमा सबै प्रकारको संघर्ष गर्यो ।
प्रेस संगठनभित्रको सानो समूहले प्रतिनिधिसभा विघटनलाई सही भन्यो । सोही एजेण्डामा संगठनका सहसंयोजक गणेश बस्नेतले आफ्नो संयोजकत्वमा सानो समूह लिएर प्रेस संगठनको घोषणा गरे । र, उनले प्रेस संगठनमा विभाजन ल्याए । संगठनबाट बस्नेतसहित केही बाहिरिएपछि २०७७ फागुन ११ गते प्रेस संगठन नेपालको केन्द्र, प्रदेश र जिल्लाका सबै समितिहरुको पुनर्गठन भयो ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई भंग गर्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले पुनस्थापित गरिदिएपछि प्रेस संगठन नेपालको पुनर्गठित समितिमा रहेका तात्कालीन प्रेस चौतारी नेपालबाट एकतामा जेडिएका साथीहरु प्रेस संगठन नेपालबाट अलग भए । दाहालको नेतृत्वमा रहेकाले नेकपा माओवादी केन्द्रको पुनस्थापना भएपछि पनि संगठनको नाम प्रेस संगठन नेपाल नै कायम गरेर संगठनात्मक गतिविधि अगाडि बढायो ।
संगठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस संगठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौंमा बस्यो । बैठकले संगठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै प्रेस संगठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी संगठनको अन्तरिम विधान पारित गर्यो । क। महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन भयो ।
संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो । त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोश्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गर्यो ।