जलवायु परिवर्तनको जोखिम र श्रमिक संगठनको भूमिका

Share this post :

Facebook
Twitter
WhatsApp

जलवायु परिवर्तन भन्नाले मानव गतिविधि वा प्राकृतिक उतार–चढावबाट पृथ्वीको जल र वायुमा हुने दीर्घकालीन परिवर्तनलाई जनाउँछ । यो दशकदेखि लाखौं वर्षसम्मको अवधिमा मौसममा देखिने साङकेतिक परिवर्तन हो । जुन वायुमण्डलमा हरितगृह ग्याँसको घातीय वृद्धिको कारणले हुन्छ ।

यो गम्भीर विश्वव्यापी समस्याको रुपमा देखिएको छ । जलवायु परिवर्तनले मानिसलाई उपभोगका लागि आवश्यक पर्ने पानीको कमी हुन सक्छ । खाध्य उत्पादनमासमेत समस्या आउँन सक्छ । जसले जनजीवन कष्टकर हुने जोखिम हुन्छ । आगामी दुई दशकसम्म पृथ्वीको तापक्रम प्रतिदशक करिब ०.२ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ । त्यस्तै, जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) अनुसार एक्काइसौं शताब्दीको अन्त्यसम्ममा तापक्रम २.४ डिग्री सेल्सियसदेखि ६.४ डिग्री सेल्सियससम्म बढ्ने अनुमान गरिएको छ ।

हिमालय क्षेत्रमा तापक्रम प्रतिदशक कम्तिमा ०.६ डिग्री सेल्सियसले बढिरहेको छ । जुन आगामी दशकहरूमा आईपीसीसीले अनुमान गरेको भन्दा तीन गुणा बढी हो । हिमालय क्षेत्रको तापक्रम विश्वव्यापी औसतभन्दा तीव्र गतिमा बढिरहेको बैज्ञानिक अनुसन्धानले बताएको छ । विश्वव्यापी जलवायु परिवर्तन तल्लो उचाइभन्दा माथिल्लो उचाई क्षेत्रमा (प्रत्येक १६० मिटरमा लगभग १ डिग्री) बढी छिटो हुने हुँदा ट्रान्स हिमालयन क्षेत्रमा उल्लेखनीय प्रभाव पार्दछ भन्ने बैज्ञानिकहरुको बुझाइ छ । त्यसकारण, आज जलवायु परिवर्तन बिश्वब्यापीरुपमा साझा एजेण्डाकोरुपमा छलफलमा आएको छ ।

अर्थतन्त्रको एउटा स्तम्भ भनेको श्रमिक वर्गको कार्यशैली र व्यवस्थापन हो । जुन राष्ट्रको आर्थिक विकाससंग प्रत्यक्ष जोडिएको हुन्छ । अहिले श्रमिक वर्गको व्यवस्थापन र कार्यमा जलवायु परिवर्तनले प्रत्यक्ष रुपमा प्रभावित पारेको छ । जसले आर्थिक विस्तार, रोजगारी, स्वास्थ्य र जीवन शैलीमा असर गरी दिगो विकासका लागि दिनप्रतिदिन ठूलो चुनौती पैदा गरेको छ । तसर्थ, श्रमिक वर्गको हित र अर्थतन्त्रमा सुधार गर्न श्रमिक संगठनले सरकारलाई हरित रोजगार नीति निर्माणमा जोड दिई कार्यन्वयन गर्न दबाब दिनुपर्छ ।

अधिकांश मानिसको जीवन तिनीहरूको श्रमसँग जोडिएको हुन्छ । विश्वव्यापीरूपमा बाँच्नको लागि पनि त्यसमा निर्भर बन्नुपर्ने भएकाले पनि श्रमिक वर्गको प्रभावकारीताले विश्व अर्थतन्त्रमा ठूलो असर पार्दछ । यद्यपि, कामदारको उत्पादन क्षमता र काम गर्ने शैलीमा जलवायु परिवर्तनले प्रत्यक्ष असर पारिरहेको छ । जसले गर्दा प्रभावकारी श्रम उत्पादनमा कमी आउँछ । उत्पादन क्षमता र श्रम शक्ति गुमाउने र असफल हुने जोखिम पनि बढेको हुन्छ ।

नेपाल श्रम शक्ति सर्वेक्षण–२०७४ का अनुसार नेपालमा करिव १ करोड ७ लाख श्रमिक छन् । नेपालकै कुरा गर्ने हो भने, श्रमिकलाई प्रायः कार्यस्थलमा सुरक्षा उपकरणको पहुँचबाट बन्चित गराइन्छ । जसका कारण उत्पादन क्षमता घटाउँछ । स्वास्थ्य समस्याको जोखिम बढाउँछ र केही परिस्थितिमा ज्यान गुमाउनसमेत बाध्य गराउँछ । कार्यस्थलमा वातावरण प्रभावले गम्भिर दीर्घकालीन रोग, शारीरिक र मानसिक पीडा हुनुका साथै मृत्युसमेत हुन सक्ने परिस्थिति सिर्जना गर्दछ । जसको प्रत्यक्ष असर राज्य व्यवस्थाको अर्थतन्त्रमा पर्दछ ।

मजदुर वर्गले बाँच्नको लागि दैनिक श्रम गर्नुपर्ने बाध्यता भएकाले जलवायु परिवर्तनले निम्त्याउने जोखिमबारे उनीहरूलाई सचेत गराउन जरुरी छ । श्रम मन्त्रालयले आफ्नो वार्षिक योजना र कार्यक्रममा श्रम र जलवायु परिवर्तन लगायतका हरित रोजगारी सिर्जना गर्ने नीतिलाई प्रवद्र्धन गर्नुपर्छ । श्रमिक संगठनले यस्ता गम्भीर विषयलाई प्राथमिकतामा राखी साझा मुद्दा बनाउनमा जोड दिनुपर्दछ ।

सुझावः
श्रमिक वर्गमा जलवायु परिवर्तनको असर र यसको न्युनिकरण गर्न श्रमिक संगठनले हरित रोजगारी र हरित अर्थतन्त्रको अन्तरसम्बन्धलाई बुझी निम्न कार्यमा आफ्नो भूमिका निभाउनु पर्दछ ।
जस्तैः

  • जलवायु परिवर्तनको प्रभावबारे श्रमिक वर्गलाई चेतनामूलक कार्यक्रममार्फत शिक्षित गराउने ।
  • श्रमिक संगठनको एजेन्डामा जलवायु परिवर्तनलाई प्राथमिकता दिने ।
  • जलवायु परिवर्तन र वातावरणीय क्षेत्रमा काम गर्ने संघ संस्थासंग सहकार्य र समन्वय गर्ने ।
  • सरकारसंग बैज्ञानिक हरित आर्थिक नीति निर्माण गरि लागु गर्न दबाब दिने र नीतिको व्यवहार्यता स्थापना गर्न आवश्यक जोड दिने ।
  • कार्यस्थललाई हरियाली र वातावरणमैत्री बनाउने ।
  • औद्योगिक क्षेत्र वरपर वातावरणमैत्री बनाउन सरकारलाई नीतिगत जोड दिने साथै स्थानिय तहसंग सहकार्य गर्ने ।
  • नवीकरणीय उर्जा उत्पादन र प्रयोगमा राज्यलाई दबाब दिने ।
  • जलवायु परिवर्तनको विषयलाई ध्यानमा राखी श्रम शक्तिको विकासलाई प्रोत्साहन गर्ने ।
  • प्रकृति संरक्षणकोबारेमा जनचेतना जगाउने ।
  • जलवायु परिवर्तन र रोजगारीबीचको सम्बन्ध स्थापित गर्न विश्वविद्यालय र प्राज्ञिक क्षेत्रसंग अनुसन्धानको लागि सहकार्य गर्ने ।
  • जलवायु परिवर्तन र वातावरणको एजेन्डामा काम गरि आफ्नो संगठनको आकर्षित र विविधता बढाउने ।
  • नेट जिरो अवधारणालाई आत्मसाथ गरि सबै श्रमिक संगठन मिलेर राजनीतिक सहकार्य गर्ने ।
  • ‘कार्बोन न्यूनीकरण गर्ने हो, रोजगार होइन’ भन्ने नारालाई आत्मसाथ गरि अगाढी बढ्ने ।
  • समानता, न्याय, सहकार्य र समन्वय जलवायु परिवर्तन न्युनिकरण गर्ने महत्वपूर्ण आधार हुन् । यिनलाई आत्मसाथ गर्दै अगाडि बढ्ने ।

अन्त्यमा :
रोजगारी र जलवायु परिवर्तनको अन्तरसम्बन्ध विश्वभरका मजदुरहरुका लागि एउटा महत्वपूर्ण विषय हो । श्रमिक संगठनहरूले बैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्ने दिशामा काम अघि बढाउन जरुरी छ । जसका कारण जलवायु वा अन्य प्राकृतिक तथा मानवीय प्रकोपको अवस्थामा श्रमिकमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सकियोस ।

एकता र संयुक्त कार्यलाई सुदृढ पार्नु नै यस युगमा पुनः प्राप्तिको लागि सही विकल्प हो । राष्ट्रियस्तरमा श्रमिक संगठनहरू सरकारसंग मिलेर नीति निर्माणमा सरिक हुन सक्नुपर्छ । सभ्य कामलाई बढवा दिन र जलवायु परिवर्तनको नकारात्मक सामाजिक प्रभावलाई कम गर्न संयुक्त राष्ट्र संघ लगायत अन्य संस्थासंग सहकार्य गर्न पनि सक्षम हुनुपर्दछ ।

लेखकः गण्डकी प्रदेश नीति तथा योजना आयोगमा दुई कार्यकाल सदस्य भएका डा .अधिकारी वातावरणविद् हुन् । चीनकाे चाइनिज एकेडेमी अफ साइन्सेसबाट विधावारिधी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *