वर्तमान् सरकार अहिले भ्रष्टाचारविरुद्धको अभियानमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व लिएसँगै भ्रष्टाचार न्यूनीकरणका लागि अभियान चलाएका छन् । ललिता निवास, सुन काण्ड, अमेरिका (शरणार्थी) लगायतका काण्डका फाइल खोले । अहिले कारबाहीको प्रक्रियामा छन् । तीनको अन्तिम अनुसन्धान कहाँ पुग्ला भन्ने अझै हेर्न बाँकी छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एउटा भनाई थियो, ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् ।’ तर, नेपालको परिवेशमा यो कुरा वाक्यमा मात्र सीमित छ । लामोसमयदेखि भ्रष्टाचारको एजेन्डा नेपाली राजनीतिको केन्द्रमा छ । हरेक पार्टीले नेतृत्व गरेको सरकारले यसलाई प्राथमिकताका साथ आत्मसाथ गरेको पनि देखिन्छ । तर, बिडम्बना तिनै सरकारको सञ्चालक नै भ्रष्टाचारको दलदलमा गढेका छन् ।
अहिलेको बर्तमान परिवेशमा भ्रष्टाचार नेपालका लागि क्यान्सर नै भएको छ । निकै चुनौतीको विषय पनि बन्दै गएको छ । यो विकास र समृद्ध नेपालको प्रमुख बाधक हो । यो आफैमा शुष्मजीव जस्तो छ । जुन नांगो आँखाले देख्न सकिन्न् । असर र नतिजा भने नाङ्गो नै हुन्छ । जुन जसले पनि देख्न अनि महसुस गर्न सक्ने ।
नेपालको परिवेशमा सरकारी मात्र होइन, निजी संस्था अनि व्यक्तिमा पनि भ्रष्टाचार हाबी छ । यो एउटा फोहरी खेल पनि हो, जसको सञ्जाल माकुरोको जालो जस्तो हुन्छ, यसमा ठूलादेखि साना माछा सबैको भूमिका हुन्छ । त्यसैले कहिलकाहीँ सुनिन्छ, अब छिट्टै ठूला माछा पनि समातिन्छन्। किनकि, कुनै एउटा व्यक्तिले चाहेर मात्र पनि भ्रष्टाचार सम्भव छैन । भ्रष्टाचारको रुप र अवतार धेरैथरिका हुन्छन्। घुस, ठगी, जालसाजी, धोका, जबर्जस्ती चन्दा, पक्षपात, नातावाद, दलाली, चाकरी यसका केही रुपहरु हुन्। समाजले एउटा व्यक्तिको इमान्दारिताभन्दा पनि उसको भ्रष्टाचारबाट आर्जन भएको सम्पत्तिलाई नै प्राथमिकता दिएको धेरै नै देख्न सकिन्छ ।
एउटा अनुसन्धानमा तल्लिन भएर लागेको व्यक्तिलाई, मान्छेहरु उसको कृति र प्रकाशनभन्दा पनि कमाइ र बाहिरी हाउभाउसँग जोडेर सामाजिक चर्चा गर्छन् । त्यस्तो झुन्डले बिहान एक कप चिया र बेलुका एक गिलास रक्सी लिएर होटलमा उसको जीवनीलाई पैसासँग तौलिएर कुरा गर्न व्यस्त हुन्छन् । अनि भन्छन्– कहिले कमाउँछ खै यसले ? निजको भ्रष्टाचारी चिन्तनले यो सोच्दैन कि उसको प्रगतिले हजारौंको भविष्य सुनिश्चित गरेको कुरा । एकथरि भन्छन्– बुढो एउटा कार पनि चढ्न सक्दैन । मासिक ४०–४५ हजार तलब खान्छ, अनि रातदिन अनुसन्धानमा लाग्नेले एउटा साइन बाइक चढ्न त गाह्रो हुन्छ, निजी कार त उसका लागि सपना मात्र हुन्छ । यो भ्रष्टाचारी सोचले सोधपत्र र प्रकाशनको महत्त्व बुझ्ने हैसियत पनि राख्दैन् ।
एउटा भन्सारमा काम गर्ने सुब्बाको श्रीमती दशैंमा गाउँ आउछे र एकथरी उसको रहनसहन, गहना र सम्पत्तिको व्याख्या गर्न सुरु गर्छन् । कति महिलाहरु उसको छड्के तिलहरी र रानीहारको तोलामा अल्झिन्छन् । एकआपसमा त्यसकै चर्चामा व्यस्त हुन्छन । तिनै महिलाका श्रीमानहरु त्यही सुब्बाको एक कप चिया र सुकुटीसहितको एक गिलास रक्सीमा मख्ख हुन्छन्। अनि चर्चा गर्छन् । कति कमाएछ है, साह्रै ठूलो मन भाको, अनि त्यसैमा अर्कोले थप्छ । उहाँ त ५० रुपैंयाँ पोइन्ट मेरिज खेल्नुहुन्छ्र त्यो हुलमा एक जनाले पनि उसको मासिक तलब र बिलासी जीवनको तुलना गर्दैन ।
मानिसहरु एउटा बिमा, कर, भन्सार र अन्यको हाकिमको सम्पत्तिको ब्याख्या गरेर थाक्दैनन्। भन्छन् । ‘कमाउन नि कति कमाएछ है । २०–३० करोडको सम्पत्ति जोडेछ, गाडी पनि नयाँ फेरेछ ।’ त्यो भ्रष्टाचारी चिन्तन र सोचले कहिल्यै सोच्दैन कि उसको मासिक तलब, खर्च र परिवार पालेर अकुत सम्पत्ति कसरी सम्भव भयो ? यस्तो हेक्का यो समाजले राख्दैन र यस्तो कुरा समाजमा धेरै देख्न र्पाइन्छ । त्यस्ता भ्रष्टाचारीले एउटा इमान्दार र स्वाभिमानी व्यक्तिले गरेको २०–३० हजारको कारोबारमा पनि शंका गर्छ, हिसाब नै नहेरी कसरी त्यत्रो भयोसमेत भन्न पछि पर्दैन् ।
उसको दिमागमा मात्र कमिसन कताबाट आउँछ भन्ने हुन्छ । यिनीहरुले पैसा आउने ठाउँ गिद्धले सिनो थाहा पाएझै थाहा पाउँछन्, कुनै प्रहरीको एसपी घर बनाउन नसकेर भाडामा बस्छ । तर, उसकै नातापाताले भन्छ– मेरो साथी सई भएर त घर बनाइसक्यो, बुढा खानै जान्दैनन् । आफू सँगैको साथीले कति कमाई सके । त्यहाँ अलिकति पनि एसपी साप इमान्दार हुनुहुन्छ र घुस खानुहुन्न्न र प्रहरीमा यस्तो मान्छेको खाँचो छ भन्ने कुरो हुँदैन । त्यहाँ पनि हाम्रो सोचको कारणले गर्दा इमान्दारितालाई पैसाले नै निलिदिन्छ ।
भ्रष्टाचारीहरु सरकारी र निजी संस्था दुवैमा भेटिन्छ । तर त्यही भीडमा असल, इमान्दार र कर्तव्यनिष्ठ मानिसहरु पनि हुन्छन् । तर उनीहरु छायाँमा पर्छन् । उनीहरु आफ्नो इमान्दरिता र स्वाभिमानलाई जहिले पनि प्राथमिकतामा राख्दछन् । तर, बिडम्बना, भ्रष्टाचारीले गर्दा तिनीहरुको इमान्दरिता पनि शंकाको घेरामा पर्छन् । इमान्दरिताको सरल र संघर्षरत जीवनभन्दा भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्तिसहितको बिलासी जीवनलाई ठूलो ठान्ने र त्यसमा नै लठ्ठ हुने हाम्रो भ्रष्टाचारी सोचले पनि भ्रष्टाचारलाई बल पुगेको छ, यी सबै कुरा गर्ने हो भने २–४ वटा ठेली नै बन्छ ।
भ्रष्टाचारलाई सार्वजनिक मुद्दा र बहस बनाउन जरुरी छ । आर्थिक र राजनीतिक पारदर्शी प्रजातान्त्रिक व्यवस्थाबाट यसको रोकथाम र सन्तुलनको खाँचो छ । नागरिक समाजले नै भ्रष्टाचारीलाई सामाजिक रुपमा हेर्ने दृष्टिकोण् फरक गर्नुपर्दछ । पैसाभन्दा मानवता र इमान्दारितालाई प्राथमिकता दिनुपर्दछ । समाजमा भ्रष्टाचार कमी गर्न र निर्मुल पार्न मानसिक रुपमा हाम्रो पैसामुखी सोच हटाउन जरुरी छ । सम्पत्तिको कुनै सीमा हुँदैन र यो त आफ्नो आत्मसन्तुष्टिमा भर पर्ने विषय पनि हो । त्यसैले भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौं । यिनीहरु समाज र राष्ट्रका लागि अहिलेको कोरोना भाइरस जत्तिकै घातक छन् ।
