गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भानु जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्रीकाे शुभकामना जस्ताकाेतस्तै:
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्म जयन्तीको अवसरमा सम्पूर्ण नेपाली भाषी दाजुभाइ दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिनुभएका भानुभक्तले भाषा, साहित्य र संस्कृतिको एकिकरण सुरुवात गर्नुभएको थियो ।
रामायण, बुधशिक्षा, भक्तमाला, रामगीता, लगायत कयौँ रचनाहरुले भाषिक क्षेत्रमा नयाँ युग निर्माणका साथै छरिएका भाषाहरूलाई एक सुत्रमा बाँध्न मद्धत पुगेको थियो भने जातीय एकता, राष्ट्रिय पहिचान, संस्कृतिक चेतना जगाउन र नेपाली संस्कृतिलाई बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान अहिलेपनि उत्तिकै अपरिहार्य छ ।
संसारभर छरिएर रहेका नेपालीहरुका लागि उहाँ सदासर्वदा प्रातःस्मरणीय हुनु हुन्छ । घाँसीको प्रेरणाबाट महत्वपूर्ण कृति जन्माउनु भएको घटनाले त झन उहाँको सरलता र महानता झल्कन्छ । रामायण जस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवद्धनमा उहाँले गर्नुभएको योगदान नेपाल र नेपालीको मानसपटलमा युग युगसम्म रहनेछ । युग पुरुष भानुभक्त जन्मेको स्थल हाम्रा लागि पुण्य भूमि हो । साहित्यकारहरुका लागि यो तीर्थस्थल हो ।
भानुभक्तले भाषा, साहित्यमा गरेको क्रान्ति र योगदानको भानु जयन्तीको अवसरमा स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु ।
अन्त्यमा, नेपाल र नेपालीको प्रेरणाका स्रोत नेपाली भाषाको श्रीवृद्धिका माध्यमबाट नेपालको राष्ट्रिय एकतामा अतुलनीय योगदान गर्ने युगपुरुष आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा सबै सबैलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।
सुरेन्द्रराज पाण्डे
मुख्यमन्त्री