श्रीमानबाट बलात्कार भएकी आफ्नै भतिजीको घटना लुकाउन मद्दत गरेको आरोपमा जवरजस्ती करणीको मुद्दा खेप्दै आएकी स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ की ५४ वर्षिया खुमा भन्ने खुमकुमारी दर्जी पक्राउ परेकी छन् ।
उच्च अदालत पोखराले जवरजस्ती करणी मुद्दामा २०८१ चैत १० गते तीन महिनाको कैद सजाय फैसला गरेपछि फरार रहेकी खुमकुमारीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट सादा पोषाकमा खट्टिएको प्रहरीको टोलीले विहीवार विहान पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।
दर्जीलाई कैद सजाय भुक्तानको लागि जिल्ला अदालत स्याङ्जामा हाजिर गराइएको प्रहरीले जनाएको छ । घटना २०७० साल फागुनको हो । एसपी न्यौपानेका अनुसार खुमाले भदैनी पर्ने बालिकालाई स्वास्थ्य चेकजाँचको लागि जिल्ला अस्पताल लैजादा आफ्नै श्रीमान रामेश्वर नेपालीबाट बलात्कृत भएको खुलेको थियो । घटना बाहिरीएपछि खुमाले उक्त घटना ढाकछेप गर्न खोजिन् । गाउँमा छलफल हुँदा औषधी उपचार गर्ने र पालनपोषण गर्ने बताउँदै उनले चेकजाँचको लागि अस्पताल लगेकी थिइन् ।
बलात्कारको घटना लुकाएर घरमा नै मिलाउन खोजेपछि प्रहरीले प्रतिवादी बनाई खुमालाई पनि मुद्दा दर्ता गरेको एसपी न्यौपाने बताउँछन् । जिल्ला अदालत स्याङ्जाले २०८१ वैशाख १६ गते खुमालाई ७ दिन र उनका श्रीमान् रामेश्वरलाई १८ वर्ष कैद सजाय तोकेको थियो । श्रीमान अहिले कैद सजाय भुक्तानको लागि जिल्ला कारागार छन् । श्रीमती खुमा भने ७ दिन कैद सजाय भुक्तान गरिन् । त्यसपछि २०८१ साउन २२ गते जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गराइन् । उच्च अदालतले ३ महिना कैद सजाय सुनायो । खुमाले ७ दिन यसअघि कैद सजाय भुक्तान गरेको हुँदा ७ दिन घटाएर अहिले २ महिना २३ दिन कैद सजाय भुक्तान गर्नुपर्ने एसपी न्यौपानले बताए ।
मुद्दा पुरानो भइसकेकाले यसबारे धेरै विवरण उल्लेख नभएको प्रहरीले जनाएको छ । अदालतबाट भएका विभिन्न मुद्दाका फैसला कार्यान्वयनलाई चुस्त, दूरुस्त र प्रभावकारी बनाउने र न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि जिल्ला प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ । सोही अभियानअन्तर्गत सादा पोषाकमा खटिएको विशेष अप्रेसन टोलीले दर्जीलाई पक्राउ गरेको थियो ।